१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

चोटिला कविता

प्रकाश आचार्य

कवि जीवन खत्रीको नवीनतम कविता संग्रह ‘आगोको वर्णमाला’ प्रकाशित भएको छ। युरिका पब्लिकेशनद्वारा प्रकाशित संग्रहभित्र ४९ कविता छन्। जीवनका विविध आयाम समेटिएका कविता चोटिला छन्।

आमा, कुनै बेला पटुकालाई कम्मरमा बाँधेर घाँस–दाउरा एवं मेला–पातमा अभ्यस्त भएकी छन् त कुनै बेला चिसो सिरेटोले सन्तान काँपिरहँदा पटुकालाई नै सिरक बनाएर न्यानोपन ओढाइरहेकी छन्। तसर्थ, दिनचर्यालाई सार्थक विन्दुमा पु-याउन होस् वा सन्तानलाई खुसी राख्न, आमाले पटुकाको दरिलो साथ लिएको कुरालाई कविले ‘आमाको पटुका’ शीर्षक कवितामार्फत् उजागर गरेका छन्।

‘आग्रह’ कविताले मानिस जहाँ रहे पनि आफू जन्मेको जन्मभूमिलाई बिर्सनु हुँदैन भन्ने देशभक्ति भाव बोकेको छ। उनले ‘सम्बोधन रातको’ कवितामा प्रभात र दिवाकालीन समयको तुलनामा रातलाई अपहेलना गरेको प्रति खेद प्रकट गर्र्दै रातबिना पूर्णकालीन जीवन व्यतित गरेर देखाउन चुनौती दिएका छन्।

मानव आफू असल वा खराब बन्ने भनेको उसले अपनाएका गतिविधिमार्फत् नै हो भन्ने यथार्थ विचारलाई ‘कोपारा कि पूजाको थाली’ शीर्षक कवितामार्फत् कविले दर्शाएका छन्। जीवन र मृत्युको दूरी छोटिएको समयमा जन्मदिन मनाउनु र त्यसैमा हर्षविभोर हुनु आफैमा विपरीत भएकाले सच्चिएर अघि बढ्न ‘जन्मदिन’ कवितामार्फत्  आम–पाठकलाई सुझाएका छन्।

कवि जीवन खत्रीले ‘जन्मदिन’ शीर्षक कवितामा जीवन र मृत्युको दूरी छोटिएको समयमा जन्मदिन मनाउनु विरोधाभाष भएको उल्लेख गरेका छन् ।

‘आगोको वर्णमाला’ कवितामा आगोको अनुचित प्रयोग धेरै मात्रामा गरिएको र फलस्वरूप समाजमा विकृतिको पुञ्ज अभिवृद्धि भएको सत्यतालाई वर्णन गरेका छन्। ‘नानीबाबुहरू, पात र प्रेम’ कवितामा कविले साना केटाकेटीले पातप्रति दर्शाएको अगाध स्नेह र पातकै सहायताले जीविकोपार्जन गरेको कुरालाई प्रेमिल तवरले चित्रण गरेका छन्।

‘ठमेल–दुई दृश्य’ कवितामा ठमेलमा देखा परेका सामाजिक विसंगतिप्रति चिन्ताबोध दर्शाएका छन् भने सयमअनुसार गाउँ र सहरबीचको बढ्दो र घट्दो दूरी अनि दूरीअनुरूप मानिसमा पैदा भएको गाउँ र सहरप्रतिको रुचि र अरुचिलाई ‘समय–तीनचक्र’ कवितामार्फत् प्रस्फुटन गरेका छन्।

‘चेतनाको बिरुवा’ कवितामा मालिक आफ्ना कामदारलाई सधैँ दास बनाउन खोज्छन् भन्ने मूलभाव अघि सारेका छन्। सीमित परिधिमा रहँदा संकुचित जीवन व्यतित हुने भएकाले फराकिलो मार्गमा कर्मरूपी पाइलाहरू डो-याउन सकेमा जीवनको आयतन पनि फराकिलो हुने र जिन्दगी सुमधुर तवरमा चल्ने कुरालाई ‘उज्यालोको खोजी’ कवितामार्फत् स्पष्ट पारेका छन्।

सिरानको विचार भुँइमा पोखिएर छताछुल्ल भएता पनिपछि एक–एक गरेर सियोले उन्दै माला बनाउँदाको क्षण महान् विचारमा परिवर्तन भइसक्नेछ र त्यो महान् विचारले धेरै नै माथिको उचाइ प्राप्त गर्नेछ भन्ने जीवनोपयोगी भाव ‘भत्किनुको सौन्दर्य’ कवितामा प्रष्ट पारेका छन्।

‘के सेवा गरौँ ?’ कवितामा अरुलाई भरिपूर्ण बनाइरहँदा आफूचाहिँ सदैव रित्तो रहने यथार्थ वर्णन गरेका छन्। कुकर्ममा रमाएकाहरूलाई आजको दिन खुला मैदानका लागि रहँदा अकस्मात् भोलि पिँजडा लाग्न सक्छ, जसकारण पश्चातापको रापले ऊ जलिरहन सक्छ भने ‘बदला’ कवितामा उल्लेख गरेका छन्।

बाध्यताको गरुङ्गो भारी बोकेर परदेशीएको एक परदेशी केही वर्षपश्चात् स्वदेश फर्कँदा रगत चुहाइरहेको घरको शिरका निम्ति मल्हमपट्टी, धाँजा फाटेझैं फाटेको बाआमा हृदय सिउनका लागि सियो र चिन्तित माटोका निमित्त हर्षका यथेष्ट विरुवा बोकेर सकुशल घर फर्कन चाहन्छ भन्ने भावलाई ‘मरुभूमिबाट’ शीर्षक कवितामार्फत्  कविले यसरी दर्शाएका छन् :
यत्ति जान्दछु ;
यो बाकसमा मरिनुअघि
म सकुशल पुग्नुछ देश।
आफ्नै माटोको क्यानभासमा
पोत्नुछ पसिनाको रङ
र बनाउनुछ,
बा–आमाको अनुहारमा हाँसोको चित्र।
प्रेम, प्रकृति, समाज, राजनीति, जीवनदर्शन–जीवनसँग जोडिएका महतवपूर्ण तत्व हुन्। यिनै तत्व वरिपरि लेखिएका छन्, खत्रीका कविताहरू। पढ्दा सरल लाग्ने कविताहरूले जीवनका जटिल पक्ष उठान गरेका छन्।  

विधा : कविता
कवि : जीवन खत्री
प्रकाशक : युरिका पब्लिकेशन
मूल्य : रू २२५।–

प्रकाशित: २१ असार २०७६ ०३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App