१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पचास लाखको लोभमा अपहरणपछि बाबुद्वारा छोरीको हत्या

रौतहट - पचास लाख रुपैयाको लोभमा रौतहटमा एक पिताले आफ्नै छोरीको अपहरण गरी हत्या गरेको घटना सार्वजनिक भएको छ । छिटै धनी हुने लोभमा रौतहटको मौलापुर नगरपालिका ६  पथराबुधराम गाउँका ३९ वर्षीय राम किशोर राय यादवले आफ्नै अबोध छोरीको आफ्नै घरबाट अपहरण गरेर निर्दयता पूर्वक कुटीकुटी मारेर पोखरीमा फालेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

बिमा गरेपछि विमकको मृत्यु हुँदा दोब्बर रकम पाउने लोभमा यादवले ४ वर्षकी छोरी लक्ष्मी कुमारीको हत्या गरेका हुन् । यादवले गत जेठ १९ मा एउटा विमा कम्पनीमा छोरीको २५ लाखको जीवन विमा गरेका थिए । पहिले त ३० लाख रुपैयाको बिमा गर्न खोजेका यादवलाई विमा गर्नेले ४ वर्षको बालबालिकाको अधिकतम विमा राशि २५ लाख भएको बताएपछि पहिलो किस्तावापत पौने दुई लाख तिरेको उनले स्वीकार गरेका छन् ।

३ छोरी र २ छोरामध्ये कान्छी लक्ष्मीको यति ठूलो विमा किन गरेको हो भनेर कसैले बुझ्दै बुझेका थिएनन् । अरु सन्तानको विमा नगरी कान्छी छोरीको बिमा गर्ने नियतमै छोरीको हत्या गर्नेजस्तो देखिएको छ । २५ लाखको बिमा गरेपछि विमकलाई केही भइहाल्छ भने ५० लाख रुपैया आउने र आफू धनी हुने देखेपछि विमा गर्ने योजना बनाएका यादवले छोरीको आफैँले अपहरण गरी हत्या गर्ने जस्तो जघन्य अपराध गरेका छन् ।

आफ्नै घरमा आमासित सुतेकी छोरीलाई यादवले असार १६ गते राती कसैलाई केही नबताई निद्रामै उठाएर घरबाहिर लैजाँदा पनि कसैले केही थाहा पाएनन् । गाउँबाहिर लगेर यादवले अबोध छोरीलाई कुटीकुटी मरणासन्न अवस्थामा पोखरीमा फाले । पोखरीको पानीमा चलमल नगरी छोरी मरेको निश्चित भएपछि घर आएर सुतेका यादव आफैँले १७ असारमा प्रहरीलाई छोरी घरबाटै वेपत्ता भएको जानकारी गराएका थिए । सोही दिन प्रहरीले पोखरीबाट लास बरामद गर्दा बालिकाको जीउमा नीलडाम देखिएपछि पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा पठाएका थिए । जिल्ला अस्पतालको रिपोर्टमा पनि बालिकाको हत्या भएको देखिएपछि जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपि नवीन कार्कीले गहिरो अनुसन्धान सुरु गर्छन् । अनुसन्धानको क्रममा घरका सबैको बयानले पिता नै छोरीको अपहरण र हत्याको आरोपी भएको साबित हुन्छ ।

१८ असारमा पक्राउ प्रहरीले पितालाई नै पक्राउ गरेर सोधपुछ गर्दा सबै घटना यादवले स्वीकार गर्दछन् । २० असारमा बिहान जिल्ला प्रहरी कार्यालय रौतहटको पत्रकार सम्मेलनमा यादवले छिटै धनी हुन बढी पैसाको लोभमा छोरीको हत्या गर्नेजस्तो अपराध गरेको र आफूलाई भगवानले सजाय दिने बताएका छन् ।
हत्याको जिम्मा लिएपछि प्रहरीले कानुनअनुसार कारबाही अगाडि बढाएको डिएसपि कार्कीले बताएका छन् ।

छोरीको हत्या गर्ने यादव पूर्व माओवादी कार्यकर्ता हुन् । माओवादी सशस्त्र आन्दोलन चलिरहेको समयमा यादव हातहतियार मुदामा तीन वर्षको जेल सजाय काटिसकेका छन् । २०५८ देखि २०६१ सम्म जेल जीवन बिताएका यादवको भूमिगत अवस्थाको उपनाम ढकाल रहेको पत्रकार सम्मेलनमा बताएका छन् । बालिकाकी आमा लीलादेवी यादवले आफैँसँग सुतेकी छोरीलाई कतिखेर राति उठाएर लगे, आफूलाई थाहा नभएको र आफैँले पुलिसलाई जानकारी गराउँदासम्म पनि कुनै संकेत नपाएको बताएकी छन् ।
 

प्रकाशित: २० असार २०७६ ०६:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App