१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘वार्ता भए पनि अमेरिकाले शत्रुतापूर्ण व्यवहार छोडेन’

दुई कोरियालाई छुट्याउने असैनिकीकृत क्षेत्र (डिएमजेड)मा गत साता भेट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (दायाँ) र उत्तर कोरियाली नेता किम जोङ–उन।

प्योङयाङ – अमेरिकाले शत्रुतापूर्ण व्यवहार नछोडेको उत्तर कोरियाले आरोप लगाएको छ। परमाणु वार्तालाई सुचारु गर्नेबारे भर्खरै दुइै देशबीच सहमति भएको भएपनि अमेरिका ‘शत्रुतापूर्ण व्यवहारबाट डगमग नभएको’ आरोप उत्तर कोरियाको छ।

संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली प्रतिनिधिमण्डलले बुधबार अमेरिकाले ‘प्रतिबन्धप्रति आशक्ति देखाएको’ बताएको थियो। उसले वासिङ्टनलाई कोरियाली प्रायःद्वीपको शान्तिपूर्ण अवस्थालाई अवमूल्यन गर्ने प्रयास गरेको आरोप पनि लगाएको बिबिसीले उल्लेख गरेको छ।  अमेरिकामाथि आरोप लगाइएको वक्तव्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले ऐतिहासिक भेटघाट गरेको केही दिनपछि आएको छ।

प्रतिबन्धलाई ‘सबै समस्याको अचूक औषधी’ भनेर हेर्ने अमेरिकी दृष्टिकोण ‘निकै हाँस्यास्पद’ भएको प्योङयाङले बताएको छ

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग आइतबार कडा सैन्य तैनाथी हुने दुई कोरियालाई छुट्याउने असैनिकीकृत क्षेत्र (डिएमजेड)मा भेटेका थिए।
ट्रम्प उत्तर कोरियाली भूमिमा पाइला टेक्ने पहिलो सत्तासीन अमेरिकी राष्ट्रपति समेत बनेका थिए। त्यसबेला ट्रम्प र किमबीच भएको झण्डै एक घण्टा लामो वार्तामा कोरियाली प्रायःद्वीपलाई निःशस्त्रीकरण गर्ने बारेको अवरूद्ध वार्तालाई पुनः सुचारु गर्ने विषयमापनि कुराकानी भएको थियो। तर बुधबारको उत्तर कोरियाली वक्तव्यले भने उसले आफ्नो शैलीमा परिवर्तन नल्याएको देखाएको छ भने दुई देशबीच पछिल्लो समय देखा परेको क्रुद्ध व्यवहार पुनरावृत्ति भएको देखिएको छ।
वासिङ्टनले कोरियाली प्रायःद्वीपको शान्तिपूर्ण वातावरणलाई वेवास्ता गरिरहेको आरोप पनि उत्तर कोरियाले लगाउने गरेको छ।

उत्तर कोरियाले के भन्यो ?
‘प्रशोधित पेट्रोलियम निर्यात गर्ने पाउने सन् २०१७ को सम्झौता उत्तर कोरियाले तोडेको भन्ने अमेरिकी आरोपको वक्तव्यमार्फत जवाफ दिइएको संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली प्रतिनिधि मण्डलले जनाएको छ।

उसले वक्तव्य अमेरिका, फ्रान्स, जर्मनी र बेलायत सबै राष्ट्रसंघ सदस्यलाई उत्तर कोरियामा थप प्रतिबन्ध लगाउन आग्रह गर्दै पठाइएको एउटा संयुक्त पत्रको समेत जवाफ भएको बताएको छ। उक्त पत्रमा ती देशहरुले संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रलाई उत्तर कोरियाली श्रमिकलाई समेत स्वदेश फिर्ता पठाउन भनिएको छ।
‘के तथ्यलाई बिर्सन सकिन्न भने संयुक्त पत्रको खेल’ राष्ट्रपति ट्रम्पले भेटवार्ताको प्रस्ताव गरेकै दिन सुरुवात गरिएको हो,’ उत्तर कोरियाली प्रतिनिधिमण्डलले जारी गरेको वक्तव्यमा भनिएको छ। ‘यसले यथार्थमा के भन्छ भने अमेरिका उत्तर कोरियासँग झन् बढी शत्रुतापूर्ण व्यवहारमा अडिग छ,’ उसको भनाइ छ।

प्रतिबन्धलाई ‘सबै समस्याको अचूक औषधी’ भनेर हेर्ने अमेरिकी दृष्टिकोण ‘निकै हाँस्यास्पद’ भएको प्योङयाङले बताएको छ। उत्तर कोरियाली वक्तव्यप्रति अमेरिकाले भने अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको बिबिसीले उल्लेख गरेको छ।

परम्परागत दुई शत्रु राष्ट्र अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच पहिलो पटक सन् २०१८ को जुन १२ का दिन सिंगापुरमा ऐतिहासिक शिखर बैठक भएको थियो। सो बैठकमा कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्नका लागि अमेरिकासँग मिलेर काम गर्नेबारे उत्तर कोरियाले सहमति गरेको थियो र त्यहीअनुरुप केही कदम पनि चालेको थियो। तर गत फेब्रुअरी महिनाको २७ र २८ तारिखमा भियतनामको हनोईमा भएको ट्रम्प र किमबीचको बैठक भने बिनानिष्कर्ष टुंगिएको थियो।

उत्तर कोरियाले आफूमाथि लाग्दै आएको प्रतिबन्ध हट्नुपर्ने माग गरेपछि अमेरिकाले त्यसलाई इन्कार गरेको थियो। यही कारण दुई देशबीचको बैठक बिनानिष्कर्ष टुंगिएको थियो। त्यसयता दुई देशबीचको औपचारिक बैठक नभएपनि बेलाबेला पत्रहरु भने आदानप्रदान भइरहेका छन्

प्रकाशित: २० असार २०७६ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App