१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

मास्कमाडौँका मानिस

‘यतिका दिनपछि आज बालाजी देख्याँ
पृथिवी भरीको स्वर्ग हो जानी लेख्याँ
चपला अवलाहरू एक सुरमा
गुनकेसरीको फूल ली शिरमा’

हाम्रा आदिकवि भानुभक्त आचार्यले देखेको काठमाडौँ अब यस्तो रहेन। चपला अवलाहरूले गुनकेसरीको फूल शिरमा राखेर हिँडेको अहिले देखिँदैन। बरु सुन्दर अनुहार लुकाउन मास्क भने अवश्य लगाएको देखिन्छ। आदिकवि भानु अहिलेको काठमाडौंँ घुम्न आउने हो भने उनले अहिलेको धुवाँधुलोको यो बेथितिलाई अवश्यै उल्लेख गरेर कविता लेख्नुपर्ने हुन्छ। राजधानी काठमाडौँमा सर्वसाधारणको स्वास्थ्य अवस्था बिगार्ने धुवाँधुलोका नाममा पछिल्लो समय अनेकन सामग्री प्रकाशित भएका छन्। ‘मास्कमाडौँ’ भन्ने शब्द गुगलमा खोजी गर्दा अनेकन सामग्री भेटिन्छन्। सर्वसाधारणका विरोधलाई समेत यसमा समेटिएको छ। अनेकन बान्की र भाकामा ‘मास्कमाडौँ’ चर्चित बनेको छ। काठमाडौंँका पर्यायवाची शब्दमा ‘धुलेमाडौँ’, ‘हिलेमाडौँ’जस्ता शब्द पनि समेटिएका छन्। पानी पर्दा हिलाम्य, घाम लाग्दा धुलाम्य ठाउँको नाउँ हो– काठमाडौँ उपत्यका। वरिपरि हरिया डाँडाले घेरिएको कचौरा आकारको यो सुन्दर नगरी मानव अतिक्रमण र अविकासको कुरूप नमुना हो भन्दा अन्यथा हुने छैन। प्रकृतिले दिएको यति सुन्दर ठाउँलाई मानव सिर्जनाले थप सुन्दर बनाएको भए स्थिति फरक हुने थियो। त्यही सौन्दर्यपानका निम्ति आन्तरिक र बाह्य अभ्यागतको यहाँ भिड लाग्ने थियो। सुन्दर काठमाडौंँ उपत्यका कंक्रिटको जंगलमा छट्पटाइरहेको छ। र, यहाँका नागरिक यही धुवाँ, धुलो र प्रदूषणले आक्रान्त भई अनेकन कष्टसाध्य रोगले छट्पटाउनुपरेको छ।

यो विषम परिस्थितिको मारमा परिरहेका नागरिक प्रधानमन्त्री केपी शर्मा ओलीका ठट्टाबाट उत्तिकै आक्रान्त छन्। उनी दाबी गर्छन्– प्रधानमन्त्री हुँदा आधाभन्दा बढी मानिस मास्क लगाएर हिँड्थे अहिले कसैले पनि मास्क लगाउँदैनन्। योभन्दा निर्मम ठट्टा के हुन सक्छ ? निश्चय नै एसीवाला ठूला गाडीमा हिँड्ने मानिसले काठमाडौँमा मास्क लगाउँदैनन्। तर यहाँका मेहनतकस सर्वसाधारण नागरिकले धुवाँधुलोका ज्यानमारा कणबाट बच्न मास्क नलगाइ सुख छैन। सडकमा हिँडिरहेका कामकाजी मानिसका निम्ति मास्क एक अनिवार्य आवश्यकता बन्न पुगेको छ। तिनले गाँस कटाएर पनि मास्क किन्नैपर्छ। यहाँको विकासको काम कहिल्यै सकिँदैन। त्यसमा पनि दुई वर्षअघि दसैंमै आउने भनेको मेलम्ची खानेपानी आयोजनाले यहाँको जनजीवनलाई कष्टसाध्य बनाइदिएको छ। पानी पिउन पाउने आशामा यहाँ अविराम धुवाँधुलो खाएका सर्वसाधारणको भाग्यमा अझै मेलम्ची लेखिएको छैन। यहाँ उड्ने अविराम धुलोले घरभित्र पनि सर्वसाधारण उत्तिकै आक्रान्त छन्। तिनका सामग्री धुलोले ध्वस्त पारेका छन्। सडकछेउमा पसल थापेर जीविका गर्ने सर्वसाधारणको जीवन पनि उत्तिकै कष्टप्रद् भएको छ। तिनका सामान धुलोले छोपिएका हुन्छन्। तिनका रोजीरोटी खोसिँदैछ। विकासको प्रतीक्षा गर्दागर्दै तिनीहरू थला परिसकेका छन्। काम हुनका निम्ति कि बौद्धमा जस्तो सडक बन्द गरेरै सर्वसाधारण उठ्नुपर्ने हुन्छ होइन भने हत्पति कामै हुँदैन।

वास्तवमा प्रधानमन्त्री ओलीलाई यथार्थ के भइरहेको छ भन्ने सूचना राम्ररी पुग्दैन जस्तो लाग्छ। त्यसका निम्ति ‘फिल्टर’ नगरी जस्ताको तस्तै जानकारी दिन सक्ने मानिस उनले आफ्नो वरिपरि राख्नु उचित हुन्छ। सक्ने भए उनले आफँैं भेष बदलेर जनताको जीवन यहाँको धुवाँधुलोले कति कष्टकर छ, हेर्नु उचित हुन्छ। बरु पहिले राजाहरूले जनताको वास्तविक स्थिति थाहा पाउन हिँडडुल गरेका सुनिन्थ्यो। आफ्नै सूचना संयन्त्रबाट पनि धेरै कुरा थाहा हुन्थ्यो। अहिलेको लोकतान्त्रिक समयमा यस्ता सूचनाका निम्ति जासुस खटाउनै पर्दैन। पत्रपत्रिका राम्ररी हेर्ने हो भने पनि सर्वसाधारणका पीडादायी अवस्था आकलन हुन सक्छ। प्रधानमन्त्री ओलीले मदन भण्डारीको ६८ औँ जन्मजयन्तीका अवसरमा दिएको ‘कसैले मास्क लगाउनु नपर्ने’ भन्ने अभिव्यक्तिमाथि सर्वसाधारणले प्रश्न गरिरहेका छन्। यथार्थभन्दा बाहिर गएर बोलेको सर्वसाधारणले प्रष्टैसँग बताइरहेका छन्। वास्तवमा सडक निर्माण कार्य तीव्र पार्ने हो भने धुवाँधुलोको समस्या धेरै हदसम्म कम हुने थियो। त्यसले सरकारप्रतिको धारणा पनि सकारात्मक बनाउन मद्दत गर्ने थियो। सरकारका प्राथमिकता बेलाबेलामा लरबराएको देखिन्छ। काठमाडौँंका खाल्डा पुर्न नसक्ने सरकारलाई बलिउड सिनेकर्मीको आइफा अवार्ड आयोजनाको बढ्ता चिन्ता देखिन्छ। विकास निर्माणभन्दा आफ्ना आलोचकलाई कसरी थला पार्ने भन्ने चिन्तनले बढ्ता थकित तुल्याउँछ। मुलुकको लोकतान्त्रिक भविष्य सुनिश्चित गर्न संस्था निर्माणमा ध्यानभन्दा बढी धेरै बोल्ने प्रेसको मुख थुन्न ध्यान बढ्ता छ। वास्तवमा सरकारले नागरिकले सडकमा लगाएर हिँडेको मास्क हटाउन पहल गर्नुपर्छ। आफूप्रतिको आलोचनामा मुखर हुन प्रोत्साहित गर्नुपर्छ। अनिमात्र यहाँ सुधार हुन्छ। सरकारले ढाँटेको भन्ने गुनासो पनि रहँदैन।

प्रकाशित: १९ असार २०७६ ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App