१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनले ‘साउथ चाइना सी’मा क्षेप्यास्त्र प्रहार गरेको भन्दै अमेरिकाको निन्दा

‘साउथ चाइना सी’ मा चीनले बनाएको भनिएको मानवनिर्मित संरचना । फाइल तस्बिर ः एजेन्सी

वासिङ्टन – चीनले ‘साउथ चाइना सी’मा क्षेप्यास्त्र प्रहार गरिरहेको आरोप लगाउँदै अमेरिकाले उसको निन्दा गरेको छ । चिनियाँ गतिविधि ‘डर देखाउने उद्देश्यले गरिएको’ पनि वासिङ्टनले आरोप लगाएको बिबिसीले उल्लेख गरेको छ ।

चीनले ‘साउथ चाइना सी’मा क्षेप्यास्त्र प्रहार गरिरहेको भन्ने विवरण अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको अधिकारीहरुलाई उद्धृत गर्दै सर्वप्रथम अमेरिकी सञ्चारमाध्यमले जारी गरेका थिए । बेइजिङले ‘साउथ चाइना सी’मा सैन्य अभ्यासको घोषणा गरेको भए पनि विवादित समुद्रमा क्षेप्यास्त्रहरु प्रहार गरिएको भन्ने आरोपको कुनै पुष्टि गरेको छैन ।

बेइजिङले गर्न लागेको भनिएको सैन्य अभ्यासको मिति नजिकिँदै गर्दा उसले इस्प्राट्ली र पारासेल टापुबीचको निर्दिष्ट गरिएको क्षेत्रमा पाँच दिनसम्म कुनै पनि जहाजलाई प्रवेश नगर्न चेतावनी जारी गरेको छ ।

‘साउथ चाइना सी’का विभिन्न भूभागमाथि ताइवान, फिलिपिन्स, मलेसिया र भियतनामको आ–आफ्नै दाबी रहँदै आएको छ । यद्यपि चीन आफैंले भने ‘साउथ चाइना सी’को ठूलो हिस्सामा आफ्नो दाबी पेश गर्ने गरेको छ । उसले ‘नाइन–ड्यास लाइन’लाई आफ्नो भूभाग भएको दाबी गर्दै सो क्षेत्रमा बनाएको मानवनिर्मित टापुमा सैन्य संरचना निर्माण गरिरहेको छ ।

बेइजिङले गर्न लागेको भनिएको सैन्य अभ्यासको मिति नजिकिँदै गर्दा उसले इस्प्राट्ली र पारासेल टापुबीचको निर्दिष्ट गरिएको क्षेत्रमा पाँच दिनसम्म कुनै पनि जहाजलाई प्रवेश नगर्न चेतावनी जारी गरेको बिबिसीले उल्लेख गरेको छ ।

‘इस्प्राट्ली टापुहरु नजिकै रहेको साउथ चाइना सीमा रहेका मानवनिर्मित संरचनाहरुबाट चीनले क्षेप्यास्त्रहरु प्रहार गरिरहेको विषयबारे वासिङ्टन सचेत छ,’ पेन्टागनका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल डेभ इस्टबर्नले मंगलबार बताएका थिए । चीनले प्रदर्शन गरिरहेको पछिल्लो व्यवहारले उसले व्यक्त गरेको प्रतिबद्धताको विपरित रहेको उनको भनाइ छ । ‘सो क्षेत्रमा शान्ति कायम गर्न चाहेको भन्ने चीनको भनाइ क्षेप्यास्त्र प्रक्षेपणजस्ता गतिविधिले गलत सावित गरिरहेको छ र चीनले यस्तो कदम चाल्नु भनेको निश्चय पनि अरुलाई उत्तेजित बनाउनु हो,’ प्रवक्ता इस्टबर्नलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

प्रमुख सिपिङ लेनका लागि महŒवपूर्ण ‘साउथ चाइना सी’लाई लिएर पछिल्लो समय चीन र अन्य क्षेत्रीय राष्ट्रबीच तनावको अवस्था रहेको छ । ‘साउथ चाइना सी’ र यससँग सम्बन्धित क्षेत्रलाई लिएर चीन र अन्य राष्ट्रहरुले आ–आफ्नै दाबी गर्ने गरेका छन् । चीनले भने क्षेत्रीय मुद्दामा अमेरिकाले अनावश्यक हस्तक्षेप गरिरहेको र अमेरिकी जलसेनाले उत्तेजना फैलाउने कार्य गरिरहेको आरोप लगाउँदै आएको छ । अमेरिकाले भने लामो समयदेखि चीनले सो क्षेत्रलाई सैनिकिकरण गरिरहेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित: १९ असार २०७६ ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App