१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

फोक्सुण्डो तालमा लेखकहरुको जमघट

डोल्पा – साहित्यिक पर्यटन मार्फत् डोल्पाको प्रवद्र्धन गर्न निस्किएका लेखकहरुले फोक्सुण्डो ताल क्षेत्रको पदयात्रा गरेका छन्। पर्यटनकर्मी युवाहरुको संस्था कन्सेप्ट नेपालले आयोजना गरेको ‘फोक्सुुण्डो काव्य–यात्रा २०७६’ मा १५ जना सहभागी छन्।

उनीहरु सुलिगाडबाट तीन दिन पदयात्रा गरेर असार १२ मा ताल पुगेका थिए। उनीहरुले फोक्सुण्डो झरना, गुम्बा, रिंग्मो गाउँ, पुग्मो गाउँ र ताल अध्ययन गरे। लोकसंस्कृति विकासमा योगदान पुर्याउँदै आएका चार जना स्थानीय कलाकारलाई ताल किनारमा कन्सेप्ट नेपालले सम्मान गरेको थियो।

सम्मानित हुनेहरुमा टुङ्नाबादक एवं गायक निमा लातार बैजी, लोकगायिकाहरु नाम्दाक लामा, होइसेर डोल्मा बैजी र सेम्दुक आङक्याल रोकाया छन्। उनीहरुलाई जनही १० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको थियो। कार्यक्रममा पदयात्री कविहरुले आ–आफ्ना कविता सुनाएका थिए। ३६३९ मिटर उचाईको ताल किनारमा कलाकार कृष्णबहादुर नेपालीले बनाएको तालको चित्रकला समेत प्रदर्शन गरिएको थियो। 

फर्कनेक्रममा पदयात्रा मार्गको तापिरिचा माविमा पुगेर कविहरूले कविता सुनाएर बालबालिकालाई साहित्य सृजनामा लाग्न हौस्याए। यात्रामा अभय श्रेष्ठ, भूपिन, सागर उदास, गनेस पौडेल, हेमन यात्री, दिपेन्द्रसिंह थापा, हेमन्त विवश, देवेन्द्र बस्न्यात, चन्द्र काफ्ले, सुरेन्द्र राना, कृष्णबहादुर नेपाली, कमल खत्री, बिष्णु प्रसाद देवकोटा, सेम्दुक लामा र अमृत भादगाउँले सहभागि  भएका थिए। 

यात्राको प्रवद्र्धक नेपाल पर्यटन बोर्डले गरेको थिए। पदयात्रामा रुचि राख्ने लेखकलाई घुमाएर फोक्सुण्डो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न पदयात्रा गरिएको कार्यक्रम संयोजक अमृत भादगाउँलेले जानकारी दिए। ‘हाम्रो यात्रा फोक्सुण्डोको पर्यटन प्रवद्र्धन गर्न कोशेढुँगा बन्ने छ’, उनले भने, ‘हामी फोक्सुण्डोको वृतचित्र, बुकलेट र पुस्तक पनि प्रकाशन गर्नेछौं।‘

साथै पदयात्रामा कलाकार नेपालीले बनाएका चित्रहरुको चाँडै काठमाडौंमा प्रदर्शनी गरिने छ। कन्सेप्ट नेपालले गत वर्ष सुदूरपश्चिम प्रदेशको खप्तड क्षेत्रमा २७ जना लेखकलाई घुमाएको थियो।

प्रकाशित: १७ असार २०७६ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App