२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारले आफ्ना गल्ती ढाक्न प्रेसमाथि प्रहार गर्योः नेता सिंह

बुटवल– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पत्रकारहरुलाई लेख्न बोल्नै नदिने सरकारले जनताको हित गर्नै नसक्ने बताएका छन्। आफ्ना गल्ती कमजोरी लुकाउन सहज होस भनेर दुई तिहाइको सरकारले प्रेसमाथि नै प्रहार गर्न खोजेको उनले बताए। गणेशमान सिंह स्मृति पुस्तकालय सैनामैनाले मुर्गीयामा गरेको लोकतन्त्र, नैतिकता, भ्रष्टाचार र सुशासनकालागि अध्ययन बिषयक बिचार गोष्ठीलाई शनिबार सम्बोधन गर्दै नेता सिंहले सरकारले पत्रकारहरुलाई लेख्न बोल्न र रुनबाट समेत बञ्चित गर्न लागेको आरोप लगाए। 

कम्युनिस्टको सरकार आए रुन पनि पाइँदैन भन्ने काँग्रेसको भनाइलाई निर्वाचनका बेला पत्रकारहरुले नै हाँसोमा उडाएको उल्लेख गर्दै नेता सिहंले ओली सरकार आएपछि समाचार लेख्दा पनि पत्रकारलाई पक्राउ र धरपकड गरेर रुनसम्म नदिएको बताए। प्रेसमाथि नै अंकुश लगाउन खोज्ने सरकारबाट देशमा विकास र समृद्धि आउन नसक्ने टिप्पणी नेता सिंहले गरेका छन्। अहिलेसम्म एउटा पनि राम्रो काम गर्न नसकेको ओली सरकार भ्रष्ट बन्दै गएको नेता सिंहको आरोप छ। भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न नसकेकाले नै ओली सरकार सबैतिरबाट आलोचित हुँदै गएको भन्दै उनले विकास, सुशासन र शान्ति सुरक्षाको बिषयमा ओली सरकार असफल भइसकेको दावी गरे। 

‘३५ किलो सुन काण्ड र ४ अर्बको वाइडबडी छानविन कता पुग्यो ?’ ११ महिना बित्न लाग्दा पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्ने सरकारले कसरी आम नागरिकलाई सुशासनको प्रत्याभूति दिन्छ?’ नेता सिंहले प्रश्न गरे। मेलम्चीको पानी काठमाडौं ल्याउन नसक्ने सरकारले पानीजहाजको सपना देखाएर जनताको अपमान गरेको उनको भनाई छ।

नेता सिंहले नेपाली काँग्रेसमा अब पार्टीको सिद्धान्त र बिधान अनुसार नै जिल्लादेखि गाउँ तहसम्मको पुनर्संरचना गर्नु जरुरी रहेको भन्दै सिद्धान्तबाट बाहिर गए पार्टी चल्न नसक्ने पनि बताए।

प्रकाशित: १४ असार २०७६ १५:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App