१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

एक्लिँदै वृद्धवृद्धा

सिन्धुलीको सुनकोसी गाउँपालिका–२ ओट्रेकोटमा रुखको छहारीमा देखिएका वृद्धवृद्धा। तस्बिरःअनिल भण्डारी/नागरिक

ओट्रेकोट (सिन्धुली) –‘बाह्र छोरा, तेह्र नाति बूढाको धोक्रो काँधैमाथि’ भन्ने उखान यसबेला पाका नागरिकहरूमा ठ्याक्कै चरितार्थ हुँदै गएको छ। गरिखाने उमेरका छोराछोरी भविष्य बनाउन जसै लाखापाखा लाग्दै जान्छन्, घरगाउँमा पाकाहरू एक्लिँदै जाँदैछन्। पाको उमेरमा एक्लिँदा पनि उनीहरू दुःखी भने छैनन्। बरु आफ्ना सन्तानको सुखद् भविष्यको आशा र कामनामा बूढ्यौली काटिरहेका छन्।

सिन्धुली सुनकोसी गाउँपलिका–२ ओट्रेकोटका नरबहादुर पुलामीका २ छोरी र ४ छोरा थिए। चार छोरामध्ये कान्छो छोराको करिब पाँच वर्षअगाडि नै मृत्यु भयो। बाँकी रहेका छोरा पनि उनको साथमा छैनन्। कोही वैदेशिक रोजगारमा गएका छन् भने कोही सहरमा गएर बसेका छन्। घरमा दुई बूढाबूढी मात्रै छन्। ‘छोरा यस्तो विकट ठाउँमा के बस्थे जमानै यस्तै आयो’, नरबहादुरले भने, ‘बाठाटाठा जति सहरतिर लागेका छन्, म र श्रीमती यही घरमा छौं’, उनले घर देखाउँदै भने।

२००६ सालमा जन्मिएका नरबहादुर वृद्ध छन्। तर उनलाई छोराले अवहेलना गरेको भन्ने लाग्दैन। समयको चक्रसँगै आफूहरू एक्लिएको भन्दै उनी चित्त बुझाउँछन्। ‘हातगोडा लागुन्जेल काम गरेर सहर बस्ने गर्छन्, यहाँ आउँदैनन्’, उनले भने, ‘चाडपर्वमा आउँछन्, यस्तै छ।’ उनी समयसँगै छोराहरूमा गाउँबस्ने जाँगर नभएको बताउँछन्। ‘सबैका छोरा सुकिलो मुकिलो नै भएर चाडपर्वमा निस्कन्छन्, खासै धेरै प्रगति नगरे पनि छोरा घरमा बस्दैनन्’, उनले भने, ‘छोरीको बिहे गरेर अर्कैको घरमा दिइन्छ, अनि बूढाबूढी मात्रै बस्नुको अर्को विकल्प के छ र?’

पछिल्लो समय दुर्गम गाउँमा वृद्धवृद्धा एक्लिँदै गएका छन्। पछिल्लो पुस्तामा सहरोन्मुख भएसँगै गाउँ नबस्दा तिनका पाका अभिभावक एक्लिँदै गएका हुन्। उसो त सोही गाउँका ७३ वर्षे केशवकुमार सुनुवार पनि पाँच सन्तानका बाबु हुन्। सबै बालबच्चाका साथ रहँदा सँगै खाना खाँदा रमाइलो हुने उनी सम्झन्छन्। ‘एउटा छोरा बाहिर छ, अरु काठमाडौंमा बस्छन्’, उनले भने, ‘यहाँ त हामी दुई बूढाबूढी मात्र बस्छाैं। सधै सबै बच्चा घरमै हुँदा जे पकाए पनि खाइन्थ्यो, अहिले दुई जना मात्रै छाैं, खाना पनि राम्रोसँग रुच्दैन’, उनले थपे।

खेतबारीमा छोराछोरीले काम गर्न नरुचाएको उनी बताउँछन्। ‘यहाँ खेतबारीमा दुःख गर्न मान्दैनन्, सहरमै बस्छन्’, उनले भने, ‘यहाँ घर खालि हुन्छ, तर छोराहरू कोठा लिएर सहरमा बस्न रुचाउँछन्।’ उनलाई आफ्नो छोराहरू घर नबसेको कुनै चिन्ता देखिँदैन। जमाना नै आधुनिक आयो, उनीहरू त दशैं–तिहारमा यसो दुई दिन घर बस्नेगरी आउँछन्, अनि गइहाल्छन्’, उनले भने, ‘समयको चक्रसँगै मानिस परिवर्तन भए। आफ्नो पालामा काठमाडौंलगायत देशका विभिन्न सहरमा घरायसी दैनिक सामान लिन पुग्नुपर्ने समस्या रहेको सम्झँदै उनी हाल गाउँमै सुविधा थपिएको बताउँछन्। ‘घरै अगाडि जे चाहिए पनि छ, दैनिक काठमाडाैंबाट एउटा बस ओहोर–दोहोर पनि गर्छ’, उनले भने, ‘हामी युवावस्था हुँदाको भन्दा अहिले धेरै सुविधा गाउँमै छ।’ गाउँमा सुविधा बढे पनि छोराहरूलाई सहर बस्ने मोह बढेकाले गाउँमा वृद्धवृद्धा एक्लिँदै गएको बताउँछन्। ‘हामी मात्रै होइन बाबु !, गाउँमा धेरै घर वृद्धवृद्धाको मात्रै भएको छ’, उनले भने, ‘यही अवस्था बढ्दै गए मर्दापर्दा समस्या आउन सक्छ।’

सोही गाउँकी चन्द्रमाया पुलामी आफ्नै भाषामा बूढेसकालमा एक्लो हुँदै गएको सुनाउँदै थिइन्। स्थानीय केही वृद्धवृद्धाकै साथमा रुखको छहारीमुनि भेटिएकी चन्द्रमाया जति सन्तान भए पनि आफ्नो दुःख बाँचुञ्जेल रहने बताउँदै थिइन्। ‘बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधैमाथि’ भन्ने उखान चरितार्थ हुँदै गएको उनले सुनाइन्। ‘छोरा पनि जन्माएँ, छोरी पनि जन्मिएका छन्, तर अहिले हामी एक्लो बन्दै गयौं’,उनले भनिन्।

पाँच सन्तानकी आमा चन्द्रमायासँग हाल एउटी छोरी मात्रै रहेको बताउँछिन्। यसो सारो गाह्रो पर्दा त्यही छोरीले सघाएकी छे, छोरी पनि आफ्नै घरमा गएपछि हामी एक्लै हुन्छाैं, उनले भनिन्। ६२ वर्षीय दलबहादुर जर्गाको व्यथा पनि उस्तै छ। चार छोराको बाबु रहेका दलबहादुरसँग श्रीमतीबाहेक हाल कोही छैनन्। ‘छोराहरू विदेश र काठमाडाैंमा छन्, हामी यहाँ एक्लै छौं’, उनले भने, ‘खेतीपातीमा छोराहरूको मन जाँदैन, सहरतिरै बस्छन्।’

एक्लै भेटिएका वृद्धवृद्धा सहरमा बस्नुभन्दा गाउँमै बस्दा स्वास्थ्यवद्र्धक हावापानी हुने बताउँछन्। ‘सहरको धूलो धुवाँमा बिहान–बेलुका छाक टारेर मात्रै बस्नुभन्दा खेतीपाती गरी मिठोमसिनो खानु धेरै बेश हुन्छ’, दलबहादुरले भने, ‘तर छोराहरू त्यो मान्न तयार छैनन्, सुविधाभोगी हुन्छन्।’ दलबहादुर छोराले आफूलाई हेला गरेको भन्ने पक्षमा छैनन्, बरु छोरा सुविधाको खोजीमा भौतारिएको बताउँछन्। काम र सुविधा दुवै खोज्नेहरू सहर पुगेका हुन्, उनले भने।

प्रकाशित: १४ असार २०७६ ०६:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App