पुस्तक

सामाजिक यथार्थका कथा

शनिबार, १४ असार २०७६, १० : ५७ रत्न प्रजापति

राजेन्द्र थापा नेपाली साहित्यको फाँटमा चिनाइराख्नुपर्ने नाम होइन। आफ्नो सशक्त लेखनीबाट पाठक, स्रोता र दर्शकमाझ पनि निकै लोकप्रिय भइसकेका राजेन्द्र थापाले आफूलाई सबैभन्दा पहिले गीतकार, त्यसपछि उपन्यासकार र मुक्तक तथा गजलकार अनि नाटककार र अभिनेता हुँदै पछिल्लो पटक कथाकारको रूपमा पाठकमाझ दरो र खरोरूपमा उभ्याएका छन्।

फुटकररूपमा लेखिएका र विभिन्न समयमा फरक–फरक पत्रपत्रिकामा प्रकाशित र अप्रकाशित कथाहरूलाई सँगालेर ‘फिर्ता चाहियो’ कथासंग्रह तयार पारी पाठकमाझ प्रस्तुत गरेका छन्। प्रस्तुत कथासंग्रहमा विभिन्न विषयवस्तु समेटेर लेखिएका सत्ताइस कथा संग्रहित छन्।

यौनलाई केन्द्रविन्दु बनाएर ‘खेलौना’ र ‘द्रौपदी’ उपन्यास लेखेर पाठकमाझ निकै चर्चित भएका र यौनलाई छाडारूपमा प्रस्तुत गरेको आरोपसमेत खेपेका उपन्यासकार राजेन्द्र थापाले केही हदसम्म कथामा पनि यौनलाई नै कथाको मूलविषय बनाएको पाइन्छ। ‘मेरो मालिकसाप’, ‘काली’, ‘त्यो केटी यो केटा’, ‘सपेराकी छोरीको धामन सर्प’ आदि कथालाई यस कोटिमा राखेर हेर्न सकिन्छ। अमेरिकी मनोविद् अब्राहम मस्लोले मानवीय आवश्यकताको तह विभाजनका क्रममा भोजन र निद्रासँगसँगै मैथुन अर्थात् यौनलाई पनि महत्वपूर्ण आवश्यकताको रूपमा व्याख्या गरेका छन्। त्यसैले यौनलाई खुलेर लेख्नु राजेन्द्र थापाको मात्रै होइन, अरू कसैको पनि गल्ती होइन। यौनका मामिलामा दुर्नियत राख्नुचाहिँ गल्ती हुनसक्छ।

कथाकार राजेन्द्र थापाले आफ्नो कथामा देशको समसामयिक समाज र सामाजिक थिति तथा बेथितिहरूलाई समेटेका छन्। राजनीतिलाई भने उनका कथाले त्यति छोएको पाइँदैन। उनका कथाभित्र प्रेम र यौन, दशा र मनोदशा, विवाह र विछोड, छुवाछुत, धाक र धोका, सपना र विपना अनि आशा र निराशाका कथानक भेटिन्छन्। त्यसैले कथाकारको कथाको मूल विशेषता के हो भनेर निक्र्यौल गर्न कठिन लाग्छ। यद्यपि सामाजिक यथार्थवाद नै धेरै हदसम्म उनको कथाको विशेषता हो भन्न सकिन्छ। उनका प्रायः सबै कथाले समाजको यथार्थलाई चित्रण गरेका छन्।

थापाका केही कथालाई आञ्चलिक कथा पनि भन्न सकिन्छ। संग्रहमा मधेस र पश्चिम पहाडको परिवेशमा आधारित कथाको बाहुल्यता छ। उनले मधेस, पश्चिम पहाड र हिमालको कथा लेखे। तर, लामो समयदेखि काठमाडौंमै रहे÷बसेका र यहाँको स्थानीय नेवारी संस्कृतिसँग निकै घुलमिल भएका कथाकारले काठमाडौंको स्थानीय नेवारी परिवेशमा आधारित एउटै कथा किन लेखेनन् ?

‘बदला’ कथामा प्रेम अस्वीकार गर्दा बदलाको भावना जाग्ने र प्रेम र आधुनिकताको नाउँमा बिग्रेका युवापुस्ताको वर्णन गरिएको छ। यसैगरी ‘अनुदान’ कथामा अनुदानको लोभमा सामाजिक संघसंस्थाहरूले गर्ने हर्कतको भण्डाफोर गरिएको छ।

संग्रहमा अधिकांश कथामा मधेस र पश्चिम पहाडको स्थानीय लवजको स्वाद र मीठास पाइन्छ। यस्तो स्वाद र मीठासले कथालाई थप रोचक बनाएका छन्। संग्रहको पहिलो कथा ‘फिर्ता चाहियो’ निकै रोचक र मार्मिक कथा हो। डिभोर्स यो आफैंमा दुःखद् छ। यस्तो दुःखद् घटना हुँदै गर्दा डिभोर्स पेपरमा साइन गर्नुअघि विगतमा आफूले दान गरेको किड्नी फिर्ता माग्दा कथाले रोचक मोड लिन्छ र कथाको अन्त्य हुन्छ। डिभोर्ससम्म कथा अघि बढ्दैन। यसकारण यो कथा मार्मिकसँगसँगै रोचक पनि छ।

‘छोइएको छडी’ मा मधेसमा व्याप्त जातीय छुत–अछुतको प्रसंग छ। ठूला जातका पुरुषको कुविचार र कुकर्मको पर्दाफास भएको छ यस कथामा। छिटपुट यौनका भावहरू पनि छन्। पाठकले रुचाउने कथामा यो पनि पर्नेछ। ‘मेरो मालिकसाप’ यौनकेन्द्रित कथा हो। मालिकसँगको रसबसमा एकोहोरिएकी काली अर्थात् उर्मिलाको मनोदशा केलाइएको छ यो कथामा।

‘लिभिङ टुगेदर’ निकै चल्तीको अवधारणा बनेको छ पछिल्लो समय। यही शीर्षकको कथामा पश्चिमी समाजमा चलेको ट्रेन्डलाई नेपाली समाजले पनि पछ्याएको वर्णन छ। पछिल्लो समय नेपाली युवापुस्ता, विशेषगरी शिक्षित युवापुस्तामाझ झांगिँदै गएको लिभिङ टुगेदरले निम्त्याएको सामाजिक समस्यालाई यो कथाले उजागर गरेको छ। बेरोजगारी, न्यून आय र दिनप्रतिदिन बढ्दो महँगीका कारण लिभिङ टुगेदरको अवधारणाले युवापुस्तामाझ लोकप्रिय विकल्पको रूप लिएको छ। यद्यपि विवाहेत्तर यौनसम्बन्धबाट उब्जने परिणामले चाहिँ कानुनी जटिलतासमेत आउने गरेको संकेत यो कथाले गरेको छ।

‘टीका फुकाउने’ कथामा व्यंग्यको मिश्रण पाइन्छ। सत्य घटनामा आधारित यो कथामा जातीय संस्कारजन्य वाध्यताको वर्णन छ। ‘गिट्टी र फिट्टी’ कथामा रक्सी खाएर फिट्टु हुने र तास फिट्टी खेल्ने अनि ढुंगे बजारमा गिट्टी कुट्ने महिलाहरूको पीडा र बाध्यताको चित्रण छ। स्थानीय भाषा र शब्दको प्रयोगले अरू क्षेत्रका पाठकहरूलाई पढ्न र बुझ्न गाह्रो भए तापनि स्थानीय पाठकलाई भाषागत आनन्द र मीठास प्रदान गर्नेछ। कथामा महिला जातिको शारीरिक र मानसिक शोषण भएको देखाइएको छ। कथाको अन्त्यमा यो शोषणविरुद्ध उठेको महिलाको आक्रोश पनि देखाइएको छ।

‘बदला’ कथामा प्रेम अस्वीकार गर्दा बदलाको भावना जाग्ने र प्रेम र आधुनिकताको नाउँमा बिग्रेका युवापुस्ताको वर्णन गरिएको छ। यसैगरी, ‘अनुदान’ कथामा अनुदानको लोभमा सामाजिक संघसंस्थाहरूले गर्ने हर्कतको भण्डाफोर गरिएको छ।

चार नामुद जुवाडेको कथा हो ‘बाजीमाथ’। जुवाकै कारण करोडपतिबाट रोडपति बन्न पुगेका चार जुवाडेको अवस्था महलबाट डेरामा, प्राडोबाट नेपाल यातायातमा पुगेको कथानकले हाम्रो समाजमा रहेको जुवा खेल्ने प्रवृत्तिको सटिक चित्रण गरेको छ। कथाका मुख्य पात्र लालबहादुरले बाजीमाथ गर्दैै गर्दा उसकी श्रीमतीले प्राण त्याग्दै गरेको वर्णन निकै मार्मिक लाग्छ। मरेकी श्रीमतीलाई एकमुठी पानी समेत खुवाउन नगई एकपछि अर्को बहाना गर्दै जुवामा अलमलिने लालबहादुरको बानी उदेकलाग्दो छ। कथा मार्मिक छ र प्रस्तुति रोचक छ।

विज्ञानकथाको झल्को दिन्छ ‘मान्छेभन्दा बुद्धिमान पुन्टु’ शीर्षकको कथाले। कुकुरलाई मान्छे बनाउने चाहमा न मान्छे बन्नसक्यो, न सक्कली कुकुर रह्यो। न हाँसको चाल न कुखुराको चाल मात्रै भयो। नेपालको गणतन्त्रमाथि पनि व्यंग्य गरिएको छ यो कथामा। ‘डर’मा मान्छे कतैबाट सुरक्षित छैन भन्ने देखाइएको छ। ‘सपेराकी छोरीको धामन सर्प’ यौनले लेपन गरिएको सामाजिक कथा हो। ‘जात कि हात’मा हजारौं वर्षअघिको नेपाल खाल्टोसँग वर्तमान नेपाल खाल्टोको तुलना गरिएको छ। ‘पख न छोरी तरुनी हुन दे’मा नेपालका राजमार्गहरूमा हुने यौन–व्यापारको यथार्थ चित्रण गरिएको छ। ‘हाँस्दै भागेँ सर म त’ कैलालीको उत्तरबेहडीमा यौनशोषण गरी हत्या गरिएको सत्य घटनामा आधारित कथा हो। ‘त्यो केटी त्यो केटा’, ‘हाउ हाउ हाउ’, ‘काली’, ‘ग्रिन कार्ड’, चुट्कीको फुलेको पेट’, हसिना बानोमाथि चार बलात्कार’ आदि कथामा यौन मनोदशा, अर्थ समस्या, अमेरिका मोहजस्ता सामाजिक प्रवृत्तिहरूको सुरुचिपूर्ण चित्रण गरिएको पाइन्छ।

‘म किन मर्ने ?’, ‘दुम्जा बेसीको पिपल’, ‘त्यो बेगनबेलीको लहरा’, ‘काम गर्ने आइमाईको इज्जत’ शीर्षकका कथाहरू औसतखालका छन्।

समग्रमा भन्नुपर्दा विभिन्न रूप, रंग र मनोदशाका पात्रहरूको सुरुचिपूर्ण चित्रणले कथाहरू पठनीय र रोचक बनेका छन्। खरो स्वभावका कथाकारको कथा–लेखन पनि खरै छन्। त्यसैले कथामा कोमलता र हार्दिकताको अभाव महसुस हुन्छ। भाषा र व्याकरणगत त्रुटिहरूले भने दाँतमा ढुंगा लागेको महसुस हुन्छ।








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad