१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

पापको घडा

दिला शाह
उकालैउकालो बाटोबाट तलतिर झरेपछि टम्म मिलेको उज्यालो गाउँ दिव्याको गाउँ हो। आज १० वर्षपछि दिव्याले फेरि आफ्नो गाउँलाई देख्न पाएकी छे। पहिले गाउँमा गाडी थिएन। जता जाँदा पनि पैदल हिँड्नु पथ्र्यो। आज उसलाई लागिरहेको छ, मेरो गाउँ धेरै परिवर्तन भएछ। तर, त्यो अपराधी मान्छे फेरिएको छ होला कि, नाइँ ? गाडीको झ्यालबाट बाहिर नियालेर हेर्दाहेर्दै उसलाई अतीतका यादहरूले नरमाइलो गरेर पोल्न थाल्छन्। मनमा बदलाको आगो सल्किन्छ।
१० वर्ष जेलमा बसेर बाहिरी संसारमा निक्लेको यो समयमा पनि उसलाई कक्ति पनि खुसी लागेन। बरु आफूसँगै जेलमा गएकी आमाको सम्झनाले ब्याकुल बनायो। दिव्या १६ वर्षकी थिई। आफ्ना एकथान बाख्रा र दुईवटा कोरली गाईलाई लिएर जंगलमा चराउन गएकी दिव्या घरमा आउँदा घरको आँगनभरि मान्छेहरूको घुइँचो थियो। के भएछ भनेर हतारहतार नजिक पुग्दा उसको एकमात्र भाई जमिनमा लखतरान परेर लडेको थियो। आमा छेउमा बसेर बिलौना गर्दै थिइन्। ‘उठिजा बाबु उठिजा, म ताँ बिना बाँच्न सक्दिन्। क्याभैना बोल्दैनस् बाबु उठ्। हेर यो संसारमा म आजसम्म तेरो मुख हेरेर मात्र बाँच्याइ हुँ। नत्र त उहिल्यै मरिजान्थ्याँ।’ आमाको बिलौना सुनेझैँ गरेर उसको भाई चलमलायो। अब कहिल्यै उठ्दैन क्यारेजस्तो गरेर लडेको मान्छे एक्कासि चलमलायो। यस्तो अवस्था देखेर सबैजना दंग परे।

भाइलाई हस्पिटल लगियो। गाउँको डाक्टरले उसलाई तुरुन्तै सहर लिनुपर्ने सल्लाह दिए। उसको मुटुको भल्भमा केही समस्या भएकोले उसलाई राम्रो अस्पतालमा छिटोभन्दा छिटो पुर्‍याउनुपर्ने भयो। दिव्याको आमासँग अस्पताल लिएर जानको लागि पनि पैसा थिएन। उपचारको लागि झन्डै पाँच सात लाख रूपैयाँ लाग्ने भयो। यस्तो खबरले अपमन्जसमा परेर आक्तिएका दिव्याको आमा छोरीलाई के गर्ने भनेर चिन्ताले व्याकुल बनाएको थियो। भनिन्छ नि, गरिब दुखीको लागि यो संसारमा कोही हुँदैन। तर त्यहाँ त्यस्तो भएन्। गाउँको मुखिया बा नै दिव्याको घरमा आएर भने, ‘तिमीलाई पैसाको आवश्यकता छ। मलाई थाहा भयो। म तिमीलाई सहयोग गर्छु।’ ढुङ्गाजस्तो कठोर मन भका मुखिया बा आफू नै स्वयम् आएर यस्तो सहयोगको कुरा गरेको सुनेर दिव्याकी आमा हर्षले रुन थालिन्। ‘हजुर त भगवान हुनुहुन्छ मुखिया बा,’ भन्दै खुट्टामा घोप्टो परिन्।

मुखिया बाले अलिक छिटोछिटो भने, ‘सुनदेवी एउटा कुरा, हिजो गाउँमा एउटा घटना भएको छ। माथि घरे विकासको छोराको मृत्यु भएको छ। त्यसमा पुलिसले छानबिन गर्दैछ। पुलिसले हिजोको घटना तिमीले गरेको हो भनेर सोध्दा हो मैले गरेको हो। उसको र मेरो लेनदेनको कारोबार थियो। मेरो छोराको उपचारको लागि पैसा जरूरी थियो तर उसले कहिल्यै सुनेन उल्टै म माथि हातपात ग¥यो अनि आवेशमा आएर यो घटना भएको हो भन्दिनू।’ मुखिया बाले यतिभन्दा दिव्याकी आमाले आत्तिएर भनी, ‘अनि पुलिसले फेरि हामीलाई थुन्ने हो कि, मुखिया बा ?’ अलि शंकालु आवाजमा डराएर सोधेकी थिइन्। देवीले यति सोधिनसक्दै मुखिया बाले भने, ‘यस्तो कुरामा चिन्ता नगर म छु त। तेरो छोराको उपचार गराउनु छ भनेर मैले उद्धार गर्न खोजेको हुँ नत्र के भन्नु ? तलाइँ के म अप्ठ्यारो पार्न दिन्छु र ? पुलिसले सोधपुछका लागि तलाई पुलिसथाना लगे पनि के म छैन र ?  मन्त्रीलाई भनेर पनि निकाल्छु।’

मुटुको भल्भमा समस्या भएर छट्पटिरहेको छोरालाई उपचार गराउने आशाले देवीले केही सोचिन। एउटी आमाको लागि आफ्नो सन्तानभन्दा प्रिय कुरा अरु के नै हुन सक्छ र ? दिव्या त्यो बेला १६ वर्षकी थिई। आफ्नी आमाले गरेको निर्णय सही हो कि ? गलत हो ? ऊ केही सोच्नै सकिरहेकी थिइन। मुखिया बाले पाँच लाख रुपैयाँ खनखनी गनेर देवीको हातमा दिए। दिव्याले भाइका लत्ताकपडा तयार गरी। मुखिया बाले नै गाडी बोलाए ड्राइभरलाई आफैँले भने, ‘तुरून्तै नेपालगन्ज अस्पतालमा लिएर उपचार गराउन सहयोग गर्नु। आफ्नो भाइलाई उपचार गराउनका लागि मुखिया बाले गरेको सहयोग र माया देखेर दिव्यालाई असाध्यै खुसी लाग्यो। दिव्याले आफैँ भनी, ‘मुखिया बा म आफैँले कमाएर हजुरको पैसा फिर्ता गरुँला।’ मनले धेरै कृतज्ञता महसुस गर्दै दिव्या पनि आमा र भाइसँगै गाडीमा चढेर गएकी थिई।

दिव्याको भाईले मुस्किलले श्वास फेरिरहेको थियो। गाडी रफ्तारमा थियो। मुखियाले दिएको पाँच लाख रूपैयाँ झोलामा सम्हालेर राखेकी देवीको मनले मुखिया बालाई हजारबार प्रणाम गरिन्। उपचारक्रममा जति खर्च लागे पनि आफूलाई भन्नु भनेर दिएको आश्वासनले मन बलियो भएको थियो। नेपालगन्ज पुगेर छोरालाई इमर्जेन्सीमा भर्ना गरेपछि देवीलाई ढुक्क भयो। मुटुसम्बन्धीको विदेशी डाक्टर पनि आएको अवसर परेकाले छोरा छिट्टै सञ्चो हुने कुरामा ढुक्क भए देवी र दिव्या।

देवी आफ्नो छोराको उपचारको लागि चाहिने सामानहरू किन्दै थिइन्। अचानक पछाडिबाट केही पुलिसहरू आएर भन्नथाले, ‘चिहान गाउँको घटना केहो ? थाहा छ ? घटनामा कोको थियौँ ?

देवी आत्तिएर भनी, ‘हो सर थाहा छ। मेरो छोरी दिव्या र म थियौँ।’ ‘के थियो उसँग तपाईंको ? केही कारोबार थियो हो ?’

‘हो सर हो।’

‘अनि के मान्छेको ज्यानै लिन्छन् त ? यस्तो अपराध गरेर अझ ढुक्कसँग नेपालगन्जमा घुमिराखेको ?’

पुलिसको आवाज एक्दमै कडा थियो। अर्को पुलिसले सोध्यो, ‘छोरी खै ? आमाछोरीले यस्तो ठूलो अपराध गरेर पैसा पनि लुटेर सहरतिर झरेछन्।’ अर्को पुलिसले अझै कड्केर बोल्यो, ‘डाक्टरले छिटो औषधि लिएर आउँ भनेपछि आमालाई बोलाउन भनेर आएकी दिव्याका हातखुट्टा लुला भए। ‘म यो के सुन्दै छु ?’ उसले आफूलाई आफैँसँग प्रश्न गर्दै थिई। एकजना पुलिस अगाडि बढ्यो र दिव्याको हात च्याप्प समात्यो र भन्यो, ‘यी यो अपराधी। यही होली।’ बलजफ्ती तान्यो र आमाको नजिकै उभ्यायो। ‘यो के भन्दै हुनुहुन्छ तपाईंहरू ?’ हामीले कसैको हत्या गरेका छैनौँ। हामी निर्दाेष छौँ। हामीलाई यो घटनाको बारेमा केही पनि थाहा छैन।’  दिव्याले भनेकी थिई। ‘अझ बर्ता बोल्छेस् यति बेलादेखि नै अपराधी हुन थालेको ? अब जेलको झेल बुझेपछि थाहा हुन्छ। अपराध गर्नेको जीवन के रहेछ ?’

देवी र दिव्या परिबन्धनमा परिसकेका थिए। उनीहरूले मुखिया बालाई सम्झिएर फोनमा कुरा गर्न खोजे तर, मुखियाले उल्टै पुलिसलाई भन्दै थिए, ‘अपराधीलाई नछाड्नुहोस्। आफ्नो पैसा असुल्नलाई कसैको ज्यान लिन मिल्छ ?’ स्पिकर अन गरेको मोबाइलबाट मुखियाको कडा आवाज आइरहेको थियो। देवीले मुखियाले आफूलाई धोका दिएको कुरा बल्ल स्पष्ट बुझी।  पुलिसको सैसापले जवानलाई आदेश दिए दुवै आमा छोरीलाई हत्कडी लाउन भनेर।  देवी र दिव्याले भन्दै थिए, ‘हामी अपराधी होइनाँै। हामीले कसैको हत्या गरेका छैनाैं। हामीलाई मुखिया बाले फसाएका हुन्।’

‘चुप एक शब्द होइन नत्र चाटा लगाउँछु।’ पुलिसको जवान कुर्लियो।

आफूलाई मन्त्रीको ज्याक लगाएर भए पनि छुटाउँछु भन्ने मुखिया बा आउलान् र जेलको पन्जाबाट निकालेर लैजालानजस्तो पनि लाग्यो होला। तर, त्यो कसरी सम्भव हुनु र ? मुखिया बा कहिल्यै आएनन्। बरु दुई दिनपछि बिरामी छोराले संसार छोडेर गयो भन्ने खबर सुनियो। जुन छोराको लागि मुखिया बाको त्यति ठूलो प्रपञ्चमा परेकी देवीलाई अब आफू बाँचिरहनुको केही अर्थ रहेन सोचेर खानापानी सब छोडेपछि दिव्याले आमालाई सम्झाउँथी।

‘आमा यस्तो नगर्नुहोस् हामी बाँच्नु पर्नेछ। अनि न त्यो मुखियाको अपराधलाई बाहिर ल्याउन सक्छौँ। त्योसँग बदला नलिएर हामी मर्ने छैनौँ।’

छोरीका यस्ता कुराहरूले पनि देवीलाई संयम बनाउन सकेन। छोराको मृत्यु र मुखियाको धोकाको खेलमा बिक्षिप्त भएको देवीको मन कहिलै उज्यालो हुन सकेन। सेती भासिएझैँ भित्रभित्रै भाँसिदै गएकी देवीले संसार त्यागी। अब भने दिव्या एक्लैले जेल जीवनको सजाय पार गर्नुपर्‍यो।

२० वर्ष तोकिएको सजाय रातदिन गरेर १० वर्षमा पूरा भयो। जेलभित्र बिताएका एकएक पल र छट्पटीको बदला लिने तीव्रता मनमा लिएर निस्केकी २६ वर्षीया युवतीलाई मुखिया बाले आफ्नो अगाडि देखेर झस्किएर हड्बडाउँदै बोले, ‘ति...मी को हौ ?’ आफ्नो अनुहार छोपेर ज्वाजल्यमान आँखाले आफूलाई हेरिरहेको देखेर आत्तिएका मुखिया बाको अगाडि आफ्नो सम्पूर्ण अनुहार जब दिव्याले खोलेर भनी, ‘ए पापी मुखिया म को हुँ अहिले चिन्छस् ? म तेरो पापको ऋण ब्याजसहित तिर्न आको छु। म त्यो सोझी आमा देवीको छोरी हुँ।’ मुखिया बाको होस् हरायो उल्टो भाग्दै थियो र भन्दै थियो, ‘मलाई माफ गरिदेउ।’ घाइते बघिनी जस्तो लखेट्दै भन्दै थिई दिव्या, ‘तँ जस्तो नरपिसाचले गरेको पापको एकएक पल चुकाउनु पर्छ।’ गाउँका मान्छेहरू तमासा हेरिरहेका थिए। मुखियाको पापको घडालाई घोप्टाउन सक्ने कालीस्वरुपकी, दिव्याको साथमा सयौँ युवती किशोरी र आमाहरू थिए। भन्दै थिए, ‘यो पापीलाई जिउँदै जलाउनु पर्छ।’ हो हो हो सही हो।
 

प्रकाशित: १३ असार २०७६ ११:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App