१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

राजस्व अपचलन दैनिक बढ्दो

काठमाडौं –सरकारले राजस्व अपचलन गर्नेमाथि कडाइ गरेको बताउँदै आए पनि दैनिकजसो राजस्व छलीका घटना सार्वजनिक भइरहेका छन्। राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेपछि राजस्व छलीका घटना दैनिकजसो सार्वजनिक भइरहेका हुन्। विभागले यही असारमा मात्र अदालतमा अर्बौं रुपैयाँ राजस्व छलीका मुद्दा दायर गरेको छ।

विभागले बुधबार मात्र पानकिङ ब्रान्डको सुर्तिजन्य गुट्खा कारोबारमा अन्तःशुल्क छली गरेको आरोपमा लुम्बिनी पान मसला तथा सुर्ती गुट्खा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ।

विभागले गरेको अनुसन्धानले कपिलवस्तुको कृष्णनगरमा रहेको यो उद्योगले आफ्ना उत्पादनमा अन्तःशुल्क ऐन विपरीत स्टिकर नलगाई र नक्कली स्टिकर प्रयोग गरी वितरक तथा थोक बिक्रेता समेतको मिलेमतोमा २९ करोड १८ लाख ५८ हजार रुपैयाँ राजस्व छलेको फेला पारेको हो।

विभागले २९ करोड १८ लाख ५८ हजार रुपैयाँ बिगो र यसको दोब्बरसम्म जरिवाना ५८ करोड ३७ लाख १६ हजार गरी जम्मा ८७ करोड ५५ लाख ७४ हजार रुपैयाँ असुल गरी तीन वर्षसम्म कैद माग दाबी गरेर बारा जिल्ला अदालतमा असार ११ मा मुद्दा दायर गरेको हो।

लुम्बिनी गुट्खा उद्योगका प्रोपाइटर अब्दुल्लाह मुसलमानलाई १६ करोड ५३ लाख रुपैयाँ बिगो र यसको दोब्बरसम्म ३३ करोड ६ लाख जरिवाना तथा कैद सजायको माग राखी अदालतमा मुद्दा दायर गरिएको छ।

विभागका अनुसार यो उद्योगसँग मिलेर पानकिङ गुट्खा बिक्री वितरणमा सहयोग गर्ने अन्य कम्पनी र तिनका सञ्चालकविरुद्ध पनि विभागले मुद्दा दायर गरेको छ। लुम्बिनीसँग मिलेर राजस्व छल्ने अन्य कम्पनीमा साइन ट्रेडर्स, बालाजी मार्केटिङ, न्यू पश्चिमाञ्चल ट्रेडर्स लगायत छन्।

विभागले न्यू पश्चिमाञ्चल ट्रेडर्सका मोहम्मद रेहानलाई राजस्व छलेको आरोपमा ११ करोड ४७ लाख रुपैयाँ बिगो कायम गरी यसको दोब्बरसम्म २२ करोड ९४ लाख रुपैयाँ असुल र हदैसम्मको जरिवाना तथा कैद सजाय माग राखी मुद्दा दायर गरिएको छ।

अन्तः शुल्क, विदेशी विनिमय अपचलन र भन्सार महसुल छल्नेविरुद्ध मुद्धा

यस्तै, राजस्व छलीमा साइन ट्रेडर्सका भरत अधिकारीको संलग्नता देखिएकाले अधिकारीलाई एक करोड १८ लाख रुपैयाँ बिगो असुल र यसको दोब्बरसम्म दुई करोड ३६ लाख रुपैयाँ जरिवाना तथा कैद सजायको माग दाबी लिई बारा जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

विभागले भारतीय नागरिक वन्दना सानी पोटफोडेले विदेशी विनिमय अपचलन गरेको फेला पारेको छ। विभागका अनुसार पोटफोडेलाई बिगो र जरिवाना गरी १० करोड ७६ लाख रुपैयाँ असुल गरी तीन वर्षसम्म कैद माग गरिएको छ। विभागले उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

भारतीय नागरिक पोटफोडे काठमाडौंबाट मुम्बई जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाख अमेरिकी डलरसहित पक्राउ परेकी थिइन्। विभागका अनुसार पोटफोडेलाई डलर सटहीमा बन्दना घनश्याम सोनी, राजेन्द्रकुमार श्रेष्ठ, राजन श्रेष्ठ, पुष्पराज सापकोटा, हरिप्रसाद सापकोटा, कुमारप्रसाद पन्त, राजेन्द्र श्रेष्ठ, कुमार थापा, आत्मप्रसाद खनाल समेतले सहयोग गरेको फेला परेको छ।

यस्तै, विरेन्द्रबहादुर कुर्मी क्षेत्री प्रोप्राइटर रहेको एचएन्डबी ट्रेड कन्सर्नले पनि  नक्कली समानान्तर रुपमा कर बिजक जारी गर्ने, भन्सार चोरी पैठारी गर्ने गरेको फेला परेको छ। विभागले यो कम्पनीले भन्सार छलेर ल्याएका सामान बिक्री गरी ना ६ ख ५८ नम्बरको कन्टेनरबाट सिन्थेटिक इम्रोइडरी साडी, सुटिङ कपडा, लेडिज कुर्ता सुरुवाल समेतका कपडा बरामद गरेको थियो। क्षेत्रीलाई बिगो एक करोड ३२ लाख रुपैयाँ बिगो असुल गरी हदैसम्मको जरिवाना तथा कैद सजाय माग राखी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

प्रकाशित: १३ असार २०७६ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App