२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गाउँसभाविरुद्ध उत्रिए नेकपाका तीन वडाध्यक्ष

खोटाङ– वडामा बजेट सिलिङ नदिइ गाउँसभा गरिएको भन्दै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका तीन वडाध्यक्ष विरोधमा उत्रिएका छन्। वडामा बजेट दिएर गाउँसभा गर्न माग राखेपनि गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बेवास्ता गर्दै एकलौटी गाउँसभा गरेको भन्दै दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका वडाध्यक्ष लोकेन्द्र राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी र दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडाध्यक्ष भीम खत्रीले बुधबार पत्रकार सम्मेलन गरेर बिरोध जनाएका हुन्। 

सबै वडामा सिलिङ दिएर वडालाई शक्तिशाली बनाउनुपर्नेमा वडालाई कमजोर बनाइएको भन्दै बिरोधमा उत्रिएका तीन वडाध्यक्षले दिक्तेल पुगेर पत्रकार सम्मेलन गरेका छन्। असहमतिका बाबजुद मंगलबार पाँचौं गाउँसभामार्फत दिप्रुङ चुईचुम्मा गाउँपालिकाको आर्थिक वर्ष २०७६÷०७७ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको असन्तुष्ट वडाध्यक्षहरुको भनाई छ। बजेट सिलिङका बिषयमा असन्तुष्ट वडाध्यक्ष नेकपाकाबाट निर्वाचित हुन्। गाउँसभा अगाडि बजेट सिलिङ नदिइएको र कांग्रेस बनाएर उपभोक्ता समितिमा राख्ने गतिविधि बढेकाले आवाज उठाउनु परेको बतासेका वडाध्यक्ष लोकेन्द्र राईले बताए।

गाउँपालिकाको नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत भइरहँदा प्रांगणमा नेकपा खोटाङका सचिव रामप्रसाद दंगाल, नेकपा नेता दिपक पाण्डे, चर्चबहादुर विक, समाजवादी पार्टीका केशव कार्कीलगायतले विरोध कार्यक्रम गरेका थिए। कांग्रेसको बहुमत रहेको कार्यपालिकामा नेकपाका जनप्रतिनिधिले वडागत बजेट सिलिङ दिएर मात्र गाउँसभा सुरु गर्न माग राखेका थिए। तर, आवाज उठाउँदा आफुहरुविरुद्ध प्रहरी र तरुण दल प्रयोग गरिएको वडाध्यक्ष राईले बताए। विरोध कार्यक्रममा नेकपाका दिपक पौडेलमाथि तरुण दलका कार्यकर्ताले आक्रमण गरेको पत्रकार सम्मेलनमा बताइएको छ।

गाउँपालिका अध्यक्ष राईले भने असार ५ गतेको बसेको गाउँ कार्यपालिका बैठकको निर्णय अनुसार वडामा बजेट सिलिङ नपठाइएको बताए।

प्रकाशित: ११ असार २०७६ १४:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App