१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चालू खर्च घटाउन सांसदको माग

सुर्खेत– कर्णाली प्रदेशका सांसदहरुले सरकारले ल्याएको आर्थिक वर्ष २०७६/७७ को बजेटमा चालू खर्च घटाउन माग गरेका छन्। उनीहरुले सरकारले विकास बजेटलाई कटाएर चालू खर्च बढाएको भन्दै आपत्ति जनाएका छन्।

प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले चालु खर्च धेरै हुनु दुखद् भएको टिप्पणी गरेका छन्। ‘आउँदो आर्थिक वर्षको बजेट अनुसार केही मन्त्रालयमा बजेट पुँजीगत भन्दा चालु धेरै छ, यो चालू खर्च धेरै राखिनुका कारण कतै मन्त्रीहरुलाई हेलिकोप्टर चढ्न सजिलो हुन्छ भनेर त होईन?’ बुधबारको संसद बैठकमा बोल्दै शाहीले भने, ‘चालु खर्चलाई पुर्नविचार गरिनु आवश्यक छ।’

प्रदेशसभा सदस्य विन्दमान विष्टले सरकारले ल्याएको बजेटमा चालु खर्च धेरै भएकाले यसलाई कटौती गरेर पुँजीगत खर्च बढाउनुपर्ने बताए। उनले चालु खर्च आवश्यकता भन्दा धेरै भएकोले विकासका लागि त्यो खर्च कटौती गर्नुपर्नेमा जोड दिए।

अर्का सांसद् अमरबहादुर थापाले पनि चालु खर्चप्रति आपत्ती जनाएका छन्। राजश्वको रकमले चालुतर्फ खर्च गर्नु र अरु बजेट विकासमा लगाउनु सरकारको सिद्धान्त भएको भन्दै उनले यसमा पुर्नविचार गर्न सरकारलाई आग्रह गरे। ‘अहिले विकास बजेट भन्दा पनि मन्त्रालयहरुमा चालु बजेट बढी छ,’ उनले भने, ‘चालु बजेट बढाउनुको कारण के हो, यसको जवाफ सरकारले दिनुपर्छ।’

सांसद गोपाल शर्माले बजेट गत वर्षभन्दा अंकमा वृद्धि भएको बताए। उनले चालु खर्च गत वर्षको भन्दा दोब्बरले वृद्धि भएपनि पुँजीगत यथावत भएकोले अस्वभाविक रुपमा भएको चालु खर्च वृद्धिलाई पारदर्शी बनाउन आग्रह गरे।

सांसद् ठम्मर विष्टले बजेट मन्त्री, प्रतिपक्षी दलको नेता, मुख्यमन्त्री केन्द्रीत भएर आएको टिप्पणी गरे। बजेट सन्तुलित नभएको भन्दै सन्तुलित बनाएर मात्र अघि बढ्न उनले सुझाव दिए। पर्यटनका क्षेत्रमा छुट्याइएको बजेटमा पनि उनले आपत्ति जनाए। ‘सरकारले पर्यटकीय क्षेत्र पहिचान गर्दा मेरो क्षेत्र परेकै छैन, जहाँ महत्वपूर्ण पर्यटकीय क्षेत्र छन्,’ उनले भने, ‘तपाईहरुको मन्त्रीहरुको ठाउँमा ढुंगा भएपनि पर्यटकीय क्षेत्र हुने, अनि हाम्रो हाम्रो निर्वाचन क्षेत्रमा सिलाजित भएपनि त्यसलाई मूल्यहिन बनाउने?’

प्रकाशित: ११ असार २०७६ १४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App