१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

'चोक–चोकमा सिसि क्यामेरा, चम्पादेवीसम्म केवलकार'

ललितपुर– कीर्तिपुर नगरपालिकाले २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। पाचौं नगरसभाको बैठकद्धारा पारित नीति तथा कार्यक्रम आज पत्रकार भेटघाट गरी नगरपालिकाले सार्वजनिक गरेको हो।

नेपालको संविधानको अनुसूची ८ र ९ ले निर्दिष्ट गरेका स्थायी तहको एकल तथा साझा अधिकार, मौलिक हकहरु, राज्यको निर्देशन सिद्धान्त र नीतिहरु, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का विभिन्न प्रावधानहरु, तथा दिगो विकासका लक्ष्यहरु, लेखा परिक्षण प्रतिवेदन, कीर्तिपुरका मौलिक पहिचान तथा विशेषताहरु आदिलगात पन्ध्र वटा आधारहरुमा वार्षिक नीति तथा कार्यक्रम तय गरेको नगरपालिकाले जनाएको छ। तय गरिएका नीति तथा कार्यक्रमले कीर्तिपुर नगरलाई ‘समृद्ध, व्यवस्थित तथा सुन्दर सहर’ बनाउनमा योगदान दिने अपेक्षा नगरपालिकाले राखेको छ।

नगरपालिकाका उप–मेयर तथा प्रवक्ता सरस्वती खड्काद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास कार्यक्रम, वन वातावरण तथा विपद पुनःनिर्माण कार्यक्रम, जग्गा एकीकरण कार्यक्रम, संस्कृति तथा सम्पदा भाषा लिपी संरक्षण कार्यक्रम, सार्वजनिक जग्गा, भवन, सत्तल, पाटीपौवा, दह, पोखरीको सञ्चालन र व्यवस्थापन, भूमि नीति र अनुगमन तथा नियमन जस्ता दश वटा विषयवस्तुहरु समेटिएको छ। नगरपालिकाले वडा, नगर र प्रदेश स्तरीय बाटोको वर्गिकरण गरी नगरका मूख्य क्षेत्रहरु समेटेर नगर चक्रपथको पनि विकास गर्ने उप–मेयर खड्काको भनाई छ।

यस्तै, नगरभित्रका सबै सडकहरु खल्डाखुल्डी मुक्त बनाउने योजना प्रस्तुत नीति तथा कार्यक्रममा समावेश भएको उनी बताउँछिन्। २०४६ को जनआन्दोलनमा ज्यान गुमाएका तथा कीर्तिपुरका चार जना सहिदहरुको सम्झनामा वडा नं २ र ३ मा रहेको समल दिखु पार्कलाई ‘सहिद राराहिल पार्क‘ को रुपमा निर्माण गरिने नगरपालिकाको योजना रहेको छ।

सामाजिक विकास विषय अन्तर्गत रहेर लैंगिक समानता तथा सामाजिक समावेशीकरण, शिक्षा, स्वास्थ्य तथा सरसफाई, खेलकुदलाई प्रमुखताका साथ राखिएको छ। नगरपालिकाले अपांग लक्षित कार्यक्रमलाई मध्येनजर गर्दै पक्षघात रोगबाट पीडित ‘क’वर्गको परिचय पत्र (रातो कार्ड) प्राप्त विरामीलाई मासिक स्याहार भत्ता दिदै आएको कार्यक्रमलाई निरन्तरता दिने नगरका मेयर रमेश मर्हजनले बताए। साथै नगरभित्र अपांग मैत्री संरचनाहरुको विकास गर्दै जानेमा पनि यस कार्यक्रमले जोड दिने उनले भने।

नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि पुष्पलाल पार्कदेखि चम्पादेवीसम्म केवलकारको सम्भाव्यताको अध्ययन सम्पन्न गरी विस्तृत परियोजना प्रतिवेदन गर्न पहलसमेत भइरहेको उप–मेयर खड्काले बताइन्। नगरपालिका क्षेत्रभित्र बसोवास गर्ने प्रत्येक जातजाति, एवं समुदायहरुको प्राचिनकालदेखि चल्दै आएको मौलिक संस्कृतिलाई संरक्षण एवं प्रवद्र्धन गर्दै लैजाने नीति नगरपालिकाले लिएको छ।

यस्तै कीर्तिपुर नगरका मुख्य–मुख्य क्षेत्र, बजार, चोकलगायतका स्थानमा सिसि क्यामेरा जडान गरिने र मूख्य सडकहरुमा सडकबत्ती लगाइने मुख्य नीति रहेको नगरपालिकाले जनाएको छ।

प्रकाशित: ११ असार २०७६ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App