१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तीन अन्तरीक्ष यात्री सकुशल फिर्ता

पृथ्वीमा अवतरण गरेपछि अन्तरीक्षयानबाट बाहिर निस्कदै नासाकी आन म्क्याकक्लेन। तस्बिर: एजेन्सी

नुरु सुल्तान – अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रबाट तीन जना अन्तरीक्षयात्री मंगलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन्। यसअघि अन्तरीक्षयान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरीक्ष कार्यक्रमको भविष्यकै बारेमा आशंका उत्पन्न भइरहेका समयमा रुसी वैज्ञानिकहरुलाई सफलता प्राप्त भएको हो।

कजाखिस्तानको झेखाजगान सहर नजिकै अन्तरीक्षयात्रीहरु सकुशल अवतरण गरेका थिए। पहिलो चरणमा पृथ्वीमा आइपुगेका अन्तरीक्षयात्रीहरुमा नासाकी आन म्क्याकक्लेन, वरिष्ठ रुसी अन्तरीक्षयात्री ओलेग कोनोनेन्को र क्यानाडेली अन्तरीक्ष केन्द्रका डेभिड सेन्ट–ज्याक्स रहेका छन्।

नासा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको अवतरणको दृश्यमा तीनै जना यात्रु पृथ्वीमा अवतरण गरेपछि साथीहरुसँग मुस्कुराइरहेका थिए। क्यानाडेली र अमेरिकी अन्तरीक्षयात्री कजाखस्तानबाट मस्को हुँदै स्वदेश फर्किने छन्। तीनै जना अन्तरीक्षयात्री गत डिसेम्बर ३ मा रुसी अन्तरीक्षयान सोयुजबाट अन्तरीक्षतर्फ लागेका थिए। तर गत वर्षकै अक्टोबरमा रुसी अन्तरीक्षयात्री एलेक्सी ओभ्चिनीन र अमेरिकी अन्तरीक्षयात्री निक हेग चढेको यान भने दुर्घटनाग्रस्त भएको थियो। उड्नासाथ दुर्घटना भए पनि सो यानबाट दुवै यात्रीले आपतकालीन अवतरण गरेका थिए।

रुसी अन्तरीक्ष विज्ञानमा सन् १९९० यता यो पहिलो दुर्घटना थियो। ४० वर्षीया अन्तरीक्षयात्री म्याकक्लेनले गरेको ट्विटमा पृथ्वीमा अवतरण गर्नुअघि आफूले अन्तिम पटक अफ्रिकी आकाशमाथिबाट गुज्रेको बताएकी छन्। सन् २०११ देखि रुसले मात्र अन्तरीक्ष केन्द्रमा मानिस पठाएको छ। अमेरिकासमेतका मुलुकले अन्तरीक्ष यात्रा खर्चिलो भएको भन्दै हाल स्थगित गरेका छन्। रुसले हालसम्म सात जना पर्यटकलाई अन्तरीक्ष केन्द्रमा पठाएको छ र सन् २०२१ देखि यसमा वृद्धि गर्ने जनाएको छ।

प्रकाशित: ११ असार २०७६ ०४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App