१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खानेपानी पाएपछि काम्राङवासी हर्षित

काम्राङमा निर्माण गरिएको खानेपानी आयोजना । तस्बिर : सरिता/नागरिक

धादिङ - भूकम्पपछि सिद्धलेक गाउँपालिका–५ काम्राङमा खानेपानीको चरम अभाव भएको थियो । तर खानेपानीको मुहान सुकेकाले बसाइँ सर्ने स्थितिमा पुगेका काम्राङवासीमा एकाएक खुसी छाएको छ । गाउँमा डिप बोरिङमार्फत घरघरमा खानेपानी पु¥याएकाले गाउँलेमा खुसी छाएको स्थानीय बिन्दा घलेले बताइन् । ‘पानीको मुहान सुकेपछि भीरभीरै पानी खोज्न हिँड्नुपथ्र्यो,’ उनले भनिन्, ‘अहिले घरघरै खानेपानीको धारा जडान भएको छ, हामी गाउँले खुसी छौँ ।’

काम्राङको सुक्खा डाँडामा एक सय ४२ मिटर गहिराइबाट बोरिङ गरी खानेपानी निकालिएको छ । खानेपानीबाट एक सय २२ घरधुरीका ६ सय ६५ जना नागरिक लाभान्वित भएका छन् । डिप बोरिङमार्फत खनिएको पानी ५० घनमिटर र आठ घनमिटरको ट्यांकी निर्माण गरी संकलन गरिएको छ । यसरी संकलित पानी प्रत्येक घरमा र एक विद्यालयमा पाइपमार्फत पु¥याइएको छ । घरघरमा मिटरसमेत राखिएको छ ।

पानीको समस्या भएपछि सिद्धलेक गाउँपालिका र अक्सफामसँगको सहकार्यमा फोकस नेपालले खानेपानी आयोजना निर्माण गरेको हो । सो आयोजना सिद्धलेक गाउँपालिकाको ३० लाख १० हजार, अक्सफाम र फोकस नेपालको ३९ लाख ७७ हजार सात सय ३६ र स्थानीय जनश्रमदान १७ लााख ८२ हजार आठ सय आठ गरी जम्मा ८७ लाख ७० हजार पाँच सय ५५ रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको हो ।

घरघरैमा खानेपानी आउने भएपछि गाउँले आफैं काममा खटिएका थिए । फलस्वरूप त्यसको प्रतिफल पाएको उपभोक्ता समितिका अध्यक्ष मानबहादुर घलेले बताए । घरपरिवारको दैनिक कामका साथै तरकारी तथा अन्य खाद्यान्न बालीमा समेत सो योजनाको पानीले गाउँलेलाई सहयोग गरेको छ । पानी अभावले पछिल्लो समय बसाइँ सर्ने क्रम बढ्दै गएको र बस्ती नै खाली हुने अवस्था आएपछि गाउँपालिकाले सात ठाउँमा डिप बोरिङमार्फत खानेपानी उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताए ।

प्रकाशित: १० असार २०७६ ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App