१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मनसुन सुरु भएसँगै रासायनिक मल अभाव

भक्तपुर – मनसुन सुरु भएसँगै भक्तपुरका खेतमा पानी भरिएर धान रोप्न ठिक्क भएको छ। तर प्रत्येक वर्षझैं यो वर्ष पनि धान रोप्नका लागि आवश्यक पर्ने रासायनिक मल अभाव यहाँ भएको छ। धान रोप्न सुरु हुने समयसँगै भएको मल अभावले किसान चिन्तित छन्।

किसानको जिल्ला भनेर चिनिने भक्तपुरभरि रासायनिक मल अभाव हुँदा किसान वाक्कदिक्क भएका छन्। प्रत्येक वर्ष धान रोप्ने, गहुँ छर्ने सिजनमा हुने मल अभावले किसानलाई दिक्दारी बनाएको छ। धान रोप्नका लागि युरिया मलको आवश्यकता पर्छ।

भक्तपुरका किसान सुनमाया कवाँ प्रत्येक वर्ष हुने मल अभावले आफूहरु हैरान भएको बताउँछिन्। उनका अनुसार जेठदेखि नै यहाँका किसानले धान रोप्नका लागि आवश्यक रासायनिक मल खोजिरहेका छन्। तर उनले अहिलेसम्म पाउन सकेका छैनन्।

धान रोप्ने पानी भएर रोपाइँ गर्न ठिक्क भएका बेलासम्म पनि मल नपाउँदाको पीडा उनीहरु व्यक्तै गर्न सक्दैनन्। आकासबाट पानी परेपछि धान रोप्न पानी भइसक्दा पनि मल अभावमा धान रोप्न नपाउँदाको पीडा बताइनसक्नु हुने किसान बताउँछन्। आकासे पानीकै भरमा धान रोप्नुपर्ने उनीहरु पानीको जोहो भइसक्दा पनि पानी नहुँदाको पीडा चर्काे हुने बताउँंछन्। जिल्ला अधिकांश खेतमा सिँचाइको बन्दोवस्त छैन। 

अर्का किसान रामभक्त धौबञ्जार पानी भएका बेला धान रोप्न नपाई अर्काे पटक पानी पर्ने समय कुर्नुपर्दा किसानको पीडा खपिनसक्नु हुने बताए। प्रत्येक वर्ष समस्या दोहोरिइरहँदा पनि सरकारले चासो नदिनु दुःखको विषय भएको उनी बताउँछन्। मलमा हुने कमिसनले कृत्रिम अभाव हुने सुनेको भन्दै उनले सरकार संवेदनशील नहुँदा समस्या ज्यूका त्यु रहेको सुनाउँछन्।

वर्षको मुख्य बाली धान हो। यहाँका किसान अझै पनि मिहेनतका साथ खेती किसानी गर्छन्। यहाँका कुनै पनि खेत बाली रहँदैनन्। यहाँ व्यावसायिक रुपमा धानबाली गरिँदैन। किसानले आआफ्नो एक–दुई रोपनी खेतमा आफैं धानबाली लगाउँछन्।

नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी किसान संघका पूर्वकेन्द्रीय सचिव विकल प्रजापतिका अनुसार यस वर्ष पनि अघिल्ला वर्षमा जस्तै मलको हाहाकार भएको छ। मागको आधा मल पनि उपलब्ध हुन नसकेको उनले जनाए।

टोलटोलमा रहेका सहकारी संस्थाले पनि यहाँका किसानलाई प्रत्येक वर्ष मल वितरण गर्ने गर्छन्। तर यसपालि ती सहकारी संस्थासँग पनि मल नहुँदा आवश्यकताअनुसार वितरण गर्न पाएका छैनन्। मल नहुँदा उनीहरुले अलिअलि भएको मललाई आफ्ना बचतकर्ता सदस्यलाई प्राथमिकतामा राखेर वितरण गर्ने गर्छन्। यहाँका नगरपालिकाले धान रोप्नका लागि भनी जेठमै निःशुल्क धानको बिउ वितरण गरिसकेका थिए।

प्रकाशित: १० असार २०७६ ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App