१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘तत्काल ४३ अर्ब सोधभर्ना लिऊ’

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले दातृ निकायहरुले ठूलो रकम सोधभर्ना नगर्दा मुलुकको भुक्तानी सन्तुलनमा समस्या भएको भन्दै तत्काल सोधभर्ना लिने व्यवस्था गर्न सरोकारवाला मन्त्रालयलाई निर्देशन दिएका छन्।

अर्थ मन्त्रालयमा सोमबार भएको वैदेशिक सहायतामा सञ्चालित आयोजनाको कार्यान्वयन सम्बन्धमा समीक्षा बैठकमा अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षको अहिलेसम्म दातृ निकायबाट ४३ अर्ब रुपैयाँ सोधभर्ना लिन बाँकी रहेको बताए। ‘ठूलो रकम सोधभर्ना नलिँदा हामीलाई समस्या भएको छ,’ बैठकमा खतिवडाले भने, ‘सम्बन्धित मन्त्रालयले तत्काल लिन पहल गर्नुपर्छ।’

वैदेशिक सहायतातर्फ चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ६३ अर्ब रुपैयाँ भने सोधभर्ना लिइसकिएको छ। अर्थ मन्त्रालयका अनुसार खतिवडाले सरकारको स्रोत र मुलुकको भुक्तानी सन्तुलनमा चाप परेको हुँदा मन्त्रालय तथा सम्बन्धित निकायले यथाशीघ्र सोधभर्ना प्राप्तितर्फ पहल गर्न निर्देशन दिए। उनले चालु आर्थिक वर्षमा सम्पन्न भएका कामको भुक्तानीसमेत शीघ्र गर्न निर्देशन दिए।

आगामी आर्थिक वर्षदेखि प्रदेश र स्थानीय तहबाट बजेट र खर्चको प्रतिवेदन हुने व्यवस्था गरिएकाले आउँदा दिनमा प्रदेश र स्थानीय तहबाट हुने खर्चको प्रगतिसमेत समयमै उपलब्ध भई खर्चको यथार्थ प्रतिवेदन हुने उनले जानकारी गराए। यसैगरी खर्चको वास्तविक प्रतिवेदनका लागि सबै मन्त्रालयले सोझै भुक्तानीको प्रतिवेदन समयमा गर्न समेत उनले निर्देशन दिए।

विभिन्न मन्त्रालय र निकायका सचिव र प्रतिनिधिले वैदेशिक सहायतामा सञ्चालित आयोजना कार्यान्वयनका क्रममा भोगेका समस्या र सोधभर्नाको अवस्थाबारे आफ्नो धारणा राखेका थिए। अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले चालु आर्थिक वर्षको हालसम्मको समग्र र स्रोतगत खर्चको अवस्था एवं अपेक्षित प्रगति हुन नसकेको वैदेशिक सहायतामा सञ्चालित आयोजनाबारे प्रस्तुतीकरण दिएका थिए।

प्रकाशित: १० असार २०७६ ०३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App