१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हावाहुरीपीडितले अझै पाएनन् राहत

धनगढी उपमहानगरपालिका–१२, मा जस्तापाता पनि नपाएपछि खरले छाएको पीडितको घर। तस्बिरः दिलबहादुर/नागरिक

धनगढी – जेठ २३ गते आएको भीषण हावाहुरीले भत्केका घरमा जस्तापाताका छाना हालेर पुनर्निर्माण गर्ने काम भएको छ। विभिन्न संघसंस्था, युवा, विद्यार्थीले भत्केका घर पुनर्निर्माण गर्न सहयोग गरेका छन् भने कयौँ पीडितले आफैँ आफ्नो उडाएको घर बनाइरहेका छन्।

दुईसाता बितिसक्दा पनि अझै धेरैजसो विपन्न परिवारका भत्केका घर बन्न सकेका छैनन्। अधिकांश पीडितले जस्तापातासमेत नपाउँदा भत्केको घरमा छानो हाल्न पाएका छैनन्।

विवेकशील साझा पार्टीका कार्यकर्ता, नेकपा समर्थित विद्यार्थी संगठन, नेविसंघ, रोटरी क्लब, उद्योग वाणिज्य संघलगायतले पनि असहायका भत्केका घर बनाएका थिए। जिल्ला प्रशासनले जस्तापाता र पाल वितरण गरेको भए पनि सबै पीडितकहाँ पुगेको छैन। ‘दुई सातासम्म जस्तापातासमेत पाएनौं,’ धनगढी–१२ का अमर सिंहले भने, ‘जस्तापाता नापाएपछि खरले घरको छानो ढाकेका छौं।’
संघसंस्थालगायतले असहायका ३०–४० घर बनाइदिएका छन्। ‘आर्थिक अवस्था विपन्न भएका र असहाय परिवारको भत्केका ११ वटा घर हामीले पुनर्निर्माण गरेका छौं,’ विवेकशील साझा पार्टी सुदूरपश्चिम संयोजक गोपाल हमालले भने।

अधिकांश पीडितले जस्तापातासमेत नपाउँदा भत्केको घरमा छानो हाल्न पाएका छैनन्।

यसै गरी विद्यार्थी, युवाहरूले पनि भत्केका घर निर्माणमा सहयोग गरेका थिए। ‘दुई महिने शिशु र दुई नाबालक छोरासहित घर भत्केर बिचल्ली भएका कल्पना नेपालीलगायतका घर हामीले बनायौं,’ कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति चुडामणि भट्टले भने। उनीलगायत २५ जनाको भत्केको घर युवा र विद्यार्थी मिलेर बनाएको उनले बताए।

यसै गरी रोटरी क्लबले चार घर बनाएका छन् भने करिब २०–२५ घर निर्माणका लागि सशस्त्र प्रहरीलाई जस्तापाता उपलब्ध गराएको रोटरी क्लबका पुष्कर ओझाले बताए। उद्योग वाणिज्य संघले पनि केही घर बनाएको उनले बताए। ‘कयौँले आफ्नो घर आफँै बनाएका छन्, अझै पनि कयौँ विपन्न परिवारका घर बन्न सकेका छैनन्,’ उनले भने।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले असहाय, अपाङ्गका घर संघसंस्थाले पुनर्निर्माण गरेको बताए। ‘अन्य जनताले आफ्ना घर आफैँ बनाइरहेका छन्,’ उनले भने, ‘धेरैजसो घर बनिसकेका छन्।’ जस्तापाता वितरण गर्ने काम भइरहेको उनले बताए।

पीडितले राहत पाएनन्

हावाहुरीले क्षति गरेको १७ दिन भइसक्दा पनि पीडित परिवारले आवश्यक राहत पाएका छैनन्। घर भत्केका आधाभन्दा बढी पीडितले जस्तापातासमेत पाएका छैनन् भने अन्य राहत सामग्री र क्षतिपूर्ति कसैले पनि पाएका छैनन्।

हावाहुरीले घर भत्काएर, अन्न, लुगाकपडा, भाँडाकुँडा उडाएका परिवारले कुनै राहत नपाएको गुनासो गरेका छन्। ‘हुरीले लुगाकपडा, भाँडाकुँडा, चामल उडाएर सबै नोक्सान गरेको हो,’ धानगढी उपमहानगरपालिका–१२, सि गाउँ निवासी पशुपति थापाले भनिन्, ‘हामी गरिब मान्छे किन्नका लागि पैसा छैन,  अहिलेसम्म कतैबाट पनि राहत पाइएको छैन।’ तथ्याङ्क संकलन नभएका कारण सरकारले दिने भनिएको राहतसमेत पीडितले पाउन सकेका छैनन्। राहत नपाउँदा विपन्न परिवारको बिचल्ली भएको छ।

यकिन तथ्याङ्क नहुँदा पीडितलाई राहत वितरण गर्न समस्या भएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी बोहराले बताए। सुदूरपश्चिम प्रदेश सरकारले हावाहुरीले घर पूर्णरूपमा भत्केकालाई २० हजार र आंशिक क्षति पुगेकालाई १० हजार दिने निर्णय गरेको छ।

पीडितको यकिन विवरण प्राप्त भएपछि राहत प्रदान गरिने सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले बताए। धनगढी उपमहानगरपालिकाले पूर्ण घर भत्केकालाई ६ हजार र आंशिक क्षति भएकालाई तीन हजार दिने निर्णय गरेको छ। यसै गरी  गोदावरी नगरपालिकाले घर पूर्ण क्षति भएकालाई ६ हजार र आंशिक क्षति भएकालाई दुई हजार पाँच सय दिने निर्णय गरेको छ।

तथ्यांक संकलनमा ढिलाइ

विनाशकारी हुरी आएको दुई साता बिते पनि पीडितको तथ्याङ्क संकलन अझै हुन सकेको छैन। तथ्याङ्क नहुँदा पीडितले सरकारबाट राहत पाउन वञ्चित भएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिले प्रत्येक वडाध्यक्षको संयोजकत्वमा समिति बनाएर तथ्याङ्क संकलन गर्न लगाएको थियो। अहिलेसम्म पीडितको तथ्याङ्क स्थानीय तहहरू र जिल्ला विपद् व्यवस्थान समितिसँग छैन।

प्रकाशित: ९ असार २०७६ १०:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App