‘यहीँ सम्भावना भए अन्त किन जाने ?’

सोमबार, ०९ असार २०७६, १५ : ०९ नागरिक

गोपाल राना
अध्यक्ष ड्रिमल्यान्ड ४ तारे गोल्ड रिर्सोट
रुपन्देही, तिलोत्तमा नगरपालिका ५, मणिग्राम

बुबा भारतीय सेनामा जागीरे। आमा हाउस वाइफ।  बुबाको पेन्सन थियो। बुटवलमा आफ्नै जग्गा–जमिनबाट खान पुग्ने उब्जनी हुन्थ्यो। त्यसैले पनि उनलाई दुःख र अभावको उकालीओराली कहिल्यै गर्नु परेन। उनका नालनातामा पुरानो पुस्ता अधिकांश भारतीय आर्मीमा थिए। नयाँ पुस्ता हङकङ, सिंगापुर, लण्डन अमेरिकाका हान्निए तर बुबाआमाका एक्ला सन्तान गोपाल रानालाई भने लाहुरे सानले कहिल्यै तानेन।

स्नातक पढ्दै गर्दा उनी आइएनजिओमा जागिरे भए। जुन संस्थाले स्वस्थ खानेपानी र शौचालयमा नेपालका ग्रामीण भेगका जनताको पहुँच विस्तारका लागि काम गथ्र्यो। दुई वर्षको जागीरे जीवनले उनलाई नेपालका पहाडी बस्तीसँग साक्षात्कार गरायो। अभाव र दुःखमा अल्झिएको जीवनसँग परिचित गरायो। जसबाट उनलाई आफ्नै परिवार  र समाजसँग नजिक रहेर केही गर्नुपर्छ भन्ने भावना जागृत भयो। फिनल्याण्डबाटै खटिएका नागरिकहरुको काम प्रतिको सर्मपण, इमान्दारी र मिहिनेतले सफलताको सूत्र खोज्न सघायो। दुई वर्षे जागीरे जीवनमा इन्जिनियरहरुको संगत र सल्लाहबाटै प्रेरित भएर कन्स्ट्रक्सन फर्म दर्ता गरे। दश वर्षसम्म ठेक्कापट्टासँगै सामाजिक काममा रमाए।

ठेक्कापट्टा व्यवसायमा व्यस्त भइरहँदा पनि घरीघरी उनलाई पर्यटन क्षेत्रमा केही गर्नुपर्छ भन्ने हुटहुटी चलिरहन्थ्यो। व्यावसायिक जीवनमा परिपक्व हुँदै जाँदा अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीसँगै यहाँका बुद्ध स्थलहरु र अन्य पर्यटकीय क्षेत्रहरुको भविष्य उज्ज्वल देख्थे। पर्यटकीय गन्तव्य र तीनको सेरोफेरोका सफा चिटिक्क परेका होटल, रेस्टुराँ होम स्टेजस्ता पर्यटन व्यवसायले आकर्षित गथ्र्यो। पर्यटन क्षेत्रको विकास र विस्तारबाट व्यक्ति विशेषले मात्रै हैन, सिंगो मुलुकले आर्थिक फाइदा लिन सक्छ भन्ने निचोडमा पुग्थे। त्यही निचोडले उनी एक दशकअघि पर्यटन व्यवसायमा तानिए। रुपन्देहीको मणिग्राममा रहेको ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा लगानी गरे।

करिब ८ वर्षकै छोटो अन्तरालमा उनले सामान्य रिसोर्टलाई स्तरवृद्धि गर्दै ४ तारे  होटलमा परिणत गरिसकेका छन्। साढे ४ बिगाहा क्षेत्रफलमा फैलिएको यो ४ तारे होटलमा मापदण्ड अनुरुपको सबै सुविधा सम्पन्न पूर्वाधार र सेवा त छन् नै, यसका थप विशेषता पनि छन्। जहाँ पर्यटकका लागि अर्गानिक परिकार पस्कन रिसोर्टको आफ्नै माछा पोखरी छ। अर्गानिक तरकारी उत्पादन गरिन्छ। खुला र शान्त वातावरण, सुन्दर फूलबारीसँगै ताजा र अर्गानिक उत्पादनबाट बनेको हाइजेनिक खानाका परिकार यो रिसोर्टका थप विशेषता हुन्। दिगो पर्यटन सेवाका लागि आगामी दिनमा आफ्नै कृषि उत्पादन र स्थानीय विशेषता झल्कने परिकारका मेनु बढाउँदै लैजाने योजना पनि रानाले बनाएका छन्। लुम्बिनीलाई मध्यनजर गर्दै बुटवल, भैरहवा र नजिकका पहाडी जिल्लामा हिल्स रिसोर्टको योजना पनि उनीसँग छ। गोपाल रानासँग बुटवल सहकर्मी रेखा भुसालले गरेको कुराकानीः

अहिले मुलुक राजनीतिक स्थायित्व, आर्थिक उन्नति र समृद्धि तर्फको यात्रामा लम्कँदै छ भनिन्छ। आर्थिक दृष्टिकोणले अहिलेको अवस्थाबारे तपाईंको विश्लेषण के छ ? वर्तमान परिप्रेक्षमा आर्थिक माहोल कस्तो छ ?
 मुलुक अहिले राजनीतिक स्थायित्वतिरै छ तर आर्थिक उन्नति र समृद्धि त्यति सजिलै प्राप्त हुने कुरा हैन। त्यसका लागि सरकार, राजनीतिक दल र आम देशवासीको दृढ संकल्प जरुरी हुन्छ। आर्थिक दृष्टिकोणले हामी संक्रमण कालमै छौँ तर लगानी विस्तारका लागि आशावादी हुन सकिने माहोल छ। विद्युत, फराकिला सडक, औद्योगिक तथा पर्यटकीय पूर्वाधार, रेलमार्ग, सिँचाइजस्ता पूर्वाधार तयार हुँदा पक्कै पनि मुलुकले समृद्धि हासिल गर्ने छ भन्नेमा विश्वस्त छु।

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ। नयाँ योजनाहरू केके छन्?
आफ्नै व्यवसायमा व्यस्त छु। केही समय सामाजिक कामलाई पनि दिन्छु। केही विद्यालयहरुमा अक्षय कोष खडा गरेको छु। विभन्न क्लब र सामाजिक संघसंस्थाका काममा सहभागी हुनुपर्छ। हानको केन्द्रीय सदस्य र जिल्लाको सल्लाहकार भएकाले व्यावसायिक हितका लागि पनि संस्थागत रुपमा समय दिनुपर्छ। त्यसका अलावा बुटवल र भैरहवामा पर्यटकीय होटल विस्तारको योजना पनि छ।

नेपालमा पर्यटन व्यवसायको अवस्था कस्तो छ ? पछिल्लो समय यस क्षेत्रमा  पर्यटनमा लगानी बढ्दो देखिन्छ। के साँच्चिकै पर्यटकको ओइरो लाग्ने सम्भावना देखेर हो या लहरको अवस्था हो ?
पर्यटन व्यवसाय जसरी फस्टाउनु पर्ने हो, त्यो छैन। होटलहरुको संख्या बढ्दैमा पर्यटन व्यवसाय सबल भयो भनिहाल्न मिल्दैन किनभने हामीसँग जुन खालको अपार प्राकृतिक, धार्मिक, पुरातात्विक, ऐतिहासिक सम्पदा तथा पर्यटकीय स्थल छन्, तिनको तुलनामा दिगो पर्यटन विकास हुन सकेन। ती सम्पदा स्थलसम्म पुग्न सुविधा सम्पन्न सडक र यातायातको व्यवस्था छैन। कतिपय स्थानलाई हवाई यातायातले जोड्न सकिएको छैन। जोडिएका क्षेत्रमा पुग्न पनि हवाई भाडा निकै महङ्गो छ। पर्यटकीय स्थललाई समयानुकूल र प्राकृतिक महŒवअनुरुप तीनको संरक्षण र साजसज्जा गरिएन। प्रचारप्रसारको कमी छ। यी यावत् समस्याका कारण पर्यटन क्षेत्रले सोचेअनुरुप फाइदा लिन सकिरहेको छैन। तैपनि पर्यटक आगमन बढेको छ र अझ बढ्ने अपेक्षामा पर्यटन व्यवसायमा लगानी पनि बढिरहेको छ।

लुम्बिनीको बौद्ध धार्मिक स्थल र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने विश्वासमा यो क्षेत्रमा धेरै होटल खुलिरहेको हो ?
पक्कै पनि। पछिल्लो समय अन्तर्राष्ट्रिय जगतमा लुम्बिनीको प्रचार–प्रसार पनि भइरहहेको छ। साथमा भैरहवामै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा लुम्बिनी अन्तर्राष्ट्रिय जगतसँग सिधा जोडिने छ। यस अर्थमा पर्यटक आगमन बढ्ने अपेक्षा निजी क्षेत्रको हो। जसले गर्दा लुम्बिनी, बुटवल, भैरहवामा मात्र हैन, छिमेकी जिल्लामा पनि होटलको लगानी बढेको छ। रुपन्देहीमा मात्रै होटलको लगानी ३० अर्ब नाघेको छ।

लुम्बिनीमा बाह्य पर्यटकको बसाइ निकै छोटो भयो भन्ने गुनासो छ नि ? पर्यटकको बसाइ लम्ब्यउन के कस्ता कार्यक्रमको खाँचो देख्नु हुन्छ ? त्यसमा निजी क्षेत्रको भूमिका के हुनु पर्छ ?
गुनासो होइन वास्तविकता हो। पर्यटक आउने तर एक दिन पनि नबस्ने हो भने ती पर्यटकबाट मुलुकलाई के फाइदा ? यसबारे केन्द्र र प्रदेश सरकारले गम्भीर चिन्तन गर्नुपर्छ। यो क्रम रोक्न सरकार र निजी क्षेत्र मिलेर दिगो पर्यटन विकासका कार्यक्रम, योजना र नीति बनाउनु पर्छ। बुद्ध जन्मस्थल लुम्बिनी विश्वकै एउटा महŒवपूर्ण सम्पदा हो। विश्व शान्तिको केन्द्र हो। यस अर्थमा बौद्ध धर्मावलम्बीहरुसँगै अन्य पर्यटक पनि एक पटक पुग्नै पर्ने स्थानका रुपमा अन्तर्राष्ट्रिय जगतमा प्रचार गर्नुपर्छ। लुम्बिनी आइसकेका पर्यटकहरु कम्तीमा दुई रात बसाल्न नवलपरासी र कपिलबस्तुका बुद्धस्थलहरुको पनि विकास र प्रचार गरिनु पर्छ। प्रदेशका अन्य पहाडी जिल्ला, बाँके बर्दियाको राष्ट्रिय निकुञ्जसहित रोल्पा रुकुमलाई पनि जोडेर पर्यटन प्याकेजका कार्यक्रम निजी क्षेत्रले ल्याउन सक्नुपर्छ। सरकारले ती क्षेत्रमा पर्यटक पु¥याउन चाहिने पूर्वाधार निर्माण गरिदिनु पर्छ।

आन्तरिक पर्यटकले कत्तिको योगदान गरेको छ, नेपालको पर्यटन उद्योगलाई। आन्तरिक पर्यटक बढाउन आवश्यक छ वा छैन। छ भने कसरी ?
आन्तरिक पर्यटकको योगदान यत्ति नै हो भनेर तोक्न मुस्किल पर्ला तर नेपालमा घुम्ने संस्कृतिको विकास भइरहेको छ र यसलाई अझ बढाउँदै लैजानु पर्छ। यो क्षेत्रको कुरा गर्नुहुन्छ भने बाह्यभन्दा आन्तरिक र भारतीय पर्यटक आगमन पनि बढी  छ र उनीहरुको लेन्थ अफ स्टे पनि राम्रो छ।  

बैंकहरू लगानीयोग्य पुँजीको अभाव देखाउँदै ठूलो लगानी गरिरहेका छैनन् भनिन्छ। यसले उद्यम, व्यापारमा कस्तो असर पार्ला ?
सबै क्षेत्रमा भन्दा पनि निश्चित क्षेत्रमा त्यस्तो अवस्था छ। उत्पादनमूलक क्षेत्रको लगानीका लागि त्यति समस्या छ जस्तो लाग्दैन। तैपनि ठूला लगानी रोकिनु या ठूला आयोजना अगाडि बढ्न सकेन भने त त्यसको प्रत्यक्ष प्रभाव उद्यम व्यापारमा पर्नु स्वाभाविक नै हो।

नेपालको आर्थिक नीति उदारवादी र प्रतिस्पर्धी भनिन्छ। व्यवहारमा जताततै सिण्डिकेट र कार्टेलिङ देखिन्छ। यस्तो अवस्थाका लागि प्रमुख दोषी को देख्नुहुन्छ ? तपाईंको विचारमा उद्यमी, व्यापारी पनि यसमा दोषी छन् कि छैनन् त ? यसको अन्त्य गर्न के गर्नुपर्छ ?
विकासका लागि आर्थिक नीति उदारवादी  र प्रतिस्पर्धी हुनुपर्छ। सिण्डिकेट र कार्टेलिङ हुनु हुँदैन। यस अघिको कुरा गर्ने हो भने अधिकांश क्षेत्रलाई यसले गाँजेको थियो। जसमा सरकार र सम्बन्धित व्यावसायिक संघसंस्था र व्यवसायी पनि कहीँ न कहीँ दोषी देखिन्छन्। अब पूर्ण रुपमा हट्ला भन्ने आशा लिएका छौँ। सरकारले त्यस खालका ऐन कानुन बनाएर सिण्डिकेट र कार्टेलिङ गर्दै आएका संघसंस्थालाई कम्पनीमा लगिसकेको र लैजाने क्रममा छ। त्यस्ता उद्यम व्यवसाय प्रतिस्पर्धामा आउनुको विकल्प छैन।

नेपालमा उद्यमशीलताको सम्भावना कत्तिको छ ? कुन क्षेत्र बढी संभावना छ ?
 नेपालमा सम्भावनै सम्भावना छ तर त्यसलाई पहिल्याएर अगाडि बढ्ने इच्छाशक्ति हामीमा हुनुपर्छ। पहिले सिमेन्ट टनका टन आयात हुन्थ्यो। अहिले निकै घटेको छ। ती उद्योगका लागि आवश्यक कच्चा पदार्थ चुनढुङ्गाको खानी नेपालमै छ। हामीसँग फलाम खानी छ। उर्वर भूमि छ। नदीनाला छन्। प्रदेश ५ को पूर्वाधारका लागि विकासको जुन काम भइरहेको छ, ती सम्पन्न हुँदा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्दा पर्यटनको सम्भावना सबैभन्दा बढी देख्छु। पर्यटन व्यवसायसँगै कृषिमा पनि उत्तिकै सम्भावना छ। यी दुवै क्षेत्रलाई जोडेर पनि विकास गर्न सकिन्छ।

तपाईंले नेतृत्व गरेको उद्यम, व्यापार फस्टाएको देखिन्छ। तपाईंको काम गर्ने शैलीबारे बताउनुस् न, यो सफलतको रहस्य के हो ?
मैले सुरुमा व्यवसाय गर्न भनेर ५० सालतिर बुबासँग २५ हजार लिएको थिएँ। त्यही पैसाबाट सुरु भएको व्यावसायिक जीवनमा पछि घरबाट पैसा लिनु परेन। ठूलै सफलता हात पारेँ भन्नु भन्दा पनि मिहिनेत र लगनले अगाडि बढिरहेको छु। कामलाई इन्जोयका रुपमा लिन्छु। काम प्रतिको इमान्दारी, निरन्तरता र लगनशीलता जरुरी ठान्छु। परिवारको साथ र सहयोग पनि मुख्य कुरा हो।

बुटबलले आफ्नो साख कायम राख्न के गर्नुपर्छ भन्ने लाग्छ ?
मुख्य कुरा त, स्थानीय सरकारले बेलैमा यसको मौलिकता जोगाउन लाग्नु पर्छ। बुटवल शहरको मुटु पुरानो बटौली हो। जसको सिरानमा मणिमुकुन्द सेन दरबारको भग्नावशेष छ। छातीमा अंग्रेजलाई परास्त गरेको जीतगढी किल्ला छ। तिनाउको काखमा रहेको पुरानो बटौलीको ऐतिहासिक महŒवका घरहरुको संरक्षण गर्दै एकै प्रकृतिका र ऐतिहासिकता झल्किने घरहरु निर्माण गर्नुपर्छ। कालीगण्डकी डाइभर्सन आयोजनामार्फत् तिनाउमा तटबन्द गरी जल पर्यटन विस्तार गर्न सकिन्छ। नदी किनार हरियाली बनाउनु पर्छ। व्यापारिक केन्द्रको रुपमा स्थापित बुटवललाई केन्द्र सरकारले ठूला आयोजनाहरु र प्रदेशले अन्य पूर्वाधार निर्माण गरी सुविधा सम्पन्न बनाउन सके यसको शाख जोगिन्छ।

तपाईंले बुटबलमा आफ्नो व्यापार, व्यवसाय चलाइरहनु भएको छ। काठमाडौं लगायतका सहरहरू छोडेर बुटवल नै रोज्नुका विशेष कारण छन् ?
मुख्य कुरा त आफू बसेको समाजलाई राम्रो बनाउनु पर्छ भन्ने मेरो मान्यता हो। त्यसमाथि यो बुद्ध जन्मस्थल लुम्बिनी हो। अथाह र चौतर्फी सम्भावना बोकेको शहर। पर्यटकीय, व्यापारिक, औद्योगिक शहरले विश्वको ध्यान तानिरहेका बेला हामी किन अन्त भौँतारिने?





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad