१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खानेपानीले काम्राङबासी हर्षित

काम्राङमा निर्माण गरिएको खानेपानी आयोजना । तस्बिरः सरिता/नागरिक

धादिङ– भूकम्पपछि सिद्धलेक गाउँपालिका–५ काम्राङमा खानेपानीको चरम अभाव भयो। काम्राङमा रहेको दारसन्दि, धापखर्क चामती र कत्लेडाँडामा रहेको पधेरो सुक्यो। गाउँमा पानीको चरम अभाव भएपछि दैनिक प्रयोगका लागि र भूकम्पपछिको पुनःनिर्माणमा कठिनाई भयो। विद्यालय, शौचालयका लागि पनि पानी नभएपछि घण्टौं धाएर पानी लिन खोल्सिमा छर्नुपर्ने हुन्थ्यो।

नजिक खानेपानीको मुहान नहुँदा बसाई सर्नेस्थितिमा पुगेका काम्राङवासीमा एकाएक खुशी छायो। गाउँमा डिप बोरिङमार्फत घर–घरमा खानेपानी पाएपछि गाउँलेहरुमा अहिले खुशी छाएको स्थानीय बिन्दा घलेले बताइन्। ‘पानीको मुहान सुकेपछि भीरभीरै पानी खोज्नु हिड्नुपथ्र्याे’ उनले भनिन्, ‘अहिले घरघरै खानेपानीको धारा जडान भएको छ, हामी गाउँले खुशी छौं।’

काम्राङको सुख्खा डाँडामा १ सय ४२ मिटर गहिराईबाट बोरिङ गरि खानेपानी निकालिएको छ। खानेपानीबाट १ सय २२ घरधुरीका ६ सय ६५ जना नागरिकहरु लाभान्वित भएका छन्। डिप बोरिङमार्फत खनिएको पानी ५० घनमिटर र ८ घनमिटरको ट्याङकी निर्माण गरि संकलन गरिएको छ। यसरी संकलन गरिएको पानी प्रत्येकको घरघर र एक विद्यालयमा पाइपमार्फत पु-याइएको छ। घरघरमा खानेपानीसहित मिटर राखिएको छ।

पानीको समस्या भएपछि सिद्धलेक गाउँपालिका र अक्सफामसँगको सहकार्यमा फोकस नेपालले खानेपानी आयोजना निर्माण गरेको हो। खानेपानी आयोजना सिद्धलेक गाउँपालिकाको ३० लाख १० हजार, अक्सफाम र फोकस नेपालको ३९ लाख ७७ हजार ७ सय ३६ र स्थानीय जनश्रमदान १७ लााख ८२ हजार ८ सय ८ रुपैँया गरी जम्मा ८७ लाख ७० हजार ५ सय ५५ रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको हो।

घरघरैमा खानेपानी आउने भएपछि गाउँवासीहरु आफै काममा खटिएका थिए। फलस्वरुप त्यसको प्रतिफल पाएको उपभोक्ता समितिका अध्यक्ष मानबहादुर घलेले बताए। पानीले घरपरिवारको दैनिक काम, सरसफाईलगायतका क्षेत्रमा सघाउ हुने उनको भनाई छ। गाउँमा अब तरकारी तथा अन्य खाद्यान्न बालीसमेत लगाइन थालेको छ।

पानीको अभावको कारणले पछिल्लो समय बसाई सर्ने क्रम बढ्दै गएको र पछिल्लो समय बस्तीनै खाली हुने अवस्था आएपछि समुदायको माग र आवश्यकतालाई परिपूर्ति गर्न गाउँपालिकाले डिप बोरिङ मार्फत खानेपानी उपलब्ध गराएको छ। गाउँपालिको सात ठाउँमा डिप बोरिङमार्फत खानेपानी उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले नागरिक न्यूजसँग बताए।

खानेपानी आयोजनाको प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका थिए। खानेपानी प्रत्येक नागरिकको पहिलो आवश्यकता भएकाले स्थानीय सरकारले पहिलो प्राथमिकतामा नागरिकलाई स्वच्छ खानेपानी दिलाउन तर्फ लाग्नुपर्नेमा जोड दिए। प्रदेश सरकारले किसानहरुलाई लक्षित गरि तरकारी तथा फलफूल संकलन केन्द्र, किसान लक्षित तालिमलगायतका क्षेत्रमा प्राथमिकताका साथ नीति तथा कार्यक्रम निर्माण गरेको मन्त्री जम्कट्टेलले बताए।

प्रकाशित: ९ असार २०७६ ०९:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App