१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ढुवानी व्यवसायी सडकमा

वीरगन्जमा विरोध प्रदर्शनमा उत्रिएका ढुवानी व्यवसायी। तस्बिर:रितेश त्रिपाठी/नागरिक

वीरगन्ज - संघीय सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि ल्याएको बजेटमार्फत ढुवानी सेवामा लागेको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै वीरगन्जका ढुवानी व्यवसायी सडकमा उत्रिएका छन्। आइतबार दिउसो ११ बजे हातमा कालोपट्टी बाँधेर उनीहरुले प्रदर्शन गरे।

‘ढुवानी व्यवसायी महासंघले ढुवानी सेवामा भ्याट व्यवस्थित गर्ने कि हटाउने भन्ने सन्दर्भमा लबिङ गरिरहेको छ। महासंघले आन्दोलनमा जाने नभने पनि आज (आइतबार) ढुवानी व्यवसायी सडकमा उत्रिए। खासमा ढुवानीमा भ्याट लगाइँदा समस्या हुने ढुवानी व्यवसायीको करिब साझा बुझाइ छ,’ ट्रान्सपोर्ट एसोसिएसन वीरगन्जका अध्यक्ष बालकृष्ण पोखरेलले भने, ‘ढुवानी व्यवसाय भनेको सेवा हो, यसमा संसारमा कही पनि मूल्य अभिवृद्धि कर लगाइएको उदाहरण हामीलाई थाहा छैन। सरकारले यो लागू गरेपछि ढुवानी व्यवसायीको प्रतिक्रिया आएको हो।’

भ्याटको रकम ढुवानी व्यवसायीले तिर्नु नपरे पनि व्यापारीबाट संकलन गरेर सरकारलाई लगेर बुझाउने एउटा जिम्मेवारी जस्तो दिइएको उनको भनाइ छ। साथै अन्ततः उक्त रकम उपभोक्ताको टाउकोमा गएर ठोकिने भएकाले पनि यसलाई सच्याउन सरकार गम्भीर हुनुपर्ने जुलुसमा सहभागी व्यवसायीको भनाइ छ। ‘आज सांकेतिक रुपमा हातमा कालोपट्टी बाँधेर मौन जुलुस निकालिएको छ, महासंघले अब अगाडि कसरी बढ्ने भन्ने ठोस निर्णय लिन बाँकी छ, आज हामीले विरोधको कार्यक्रम सुरु गरेका हौं,’ जुलुुसमा सहभागी एसोसिएसनका सचिव नवराज अधिकारीले भने, ‘महासंघ र ट्रक ट्यांकर व्यवसायी संघले संयुक्त रुपमा केही ठोस निर्णय लिएर आउने छन्। अर्थमन्त्रीज्युलाई ज्ञापनपत्र बुझाउन ढुवानी व्यवसायसम्बद्ध संस्थाका प्रतिनिधि तीन पटकसम्म पुगे, उहाँले समय दिनुभएन।’

ढुवानी व्यवसाय ठप्प पारेर आन्दोलनमा उत्रिने आफूहरुको मनसाय नभए पनि परिस्थितिले त्यस्तै अवस्था निम्त्यिाउन थालेको महसुश भएको जुलुसका सहभागीले प्रतिक्रिया दिए। ढुवानीमा मूल्य अभिवृद्धि कर लगाउँदा यसको व्यवहारिक पक्ष र यसको वैज्ञानिकतामा सरकारले अलिकति पनि ध्यान नपु¥याएको उनीहरुले बताए। विरोधस्वरुप सडकमा उत्रिनु बाध्यता भएको उनले बताए। वीरगन्जमा रहेका खुद्रा मालसामान ढुवानी गर्ने करिब ४० वटा ट्रान्सपोर्टबाट सयभन्दा बढी जुलुसमा सहभागी भएका थिए।

प्रकाशित: ९ असार २०७६ ०४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App