१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

न्युजिल्यान्डको अपराजित यात्रा निरन्तर

म्यानचेस्टर – कप्तान केन विलियम्सनले लगातार दोस्रो खेलमा शतक पूरा गरेको दिन शनिबार न्युजिल्यान्डले इङल्यान्ड–वेल्समा जारीविश्वकप क्रिकेटमा अपराजित यात्रालाई छैटौं खेलसम्म निरन्तरता दिएको छ।

शनिबार भएको रोमाञ्चक खेलमा न्युजिल्यान्डले वेस्ट इन्डिजको चुनौती ५ रनले पूरा गरेको हो। कार्लोेस ब्राथवेटले आक्रामक ब्याटिङ गर्दै शतक पूरा गरे पनि वेस्ट इन्डिजको हार टार्न सकेनन्। २ सय ८२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४९ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८६ रन जोड्न सक्यो।

१६४–७ को स्थितिमा ब्याटिङका लागि आएका ब्राथवेटले ८२ बलमा ९ चौका र ५ छक्काको मद्दतमा १ सय १ रन जोडेका थिए। वेस्ट इन्डिजलाई जितका लागि अन्तिम ७ बलमा ६ रन आवश्यक थियो। शतक पूरा गरेका ब्राथवेट क्रिजमा थिए। तर ब्राथवेटलाई जेमी निसामले ट्रेन्ट बोल्टबाट क्याच गराएसँगै  टोली जितबाट टाढियो। ब्राथवेट र ओसामाने थोमसले अन्तिम विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए।

दोस्रो ओभरको चौथो बलमा ओपनर साइ होप र सातांै ओभरको दोस्रा बलमा निकोलास पुरनलाई गुमाएपछि वेस्ट इन्डिज २०–२ को स्थितिमा आएको थियो। अर्का ओपनर क्रिस गेल र सिमोन हेटमायरले तेस्रो विकेटका लागि १ सय २२ रनको साझेदारी गरेका थिए। गेलले ८४ बलमा ८ चौका र ६ छक्काको मद्दतमा ८७ रन जोड्दा हेटमायरले ४५ बलमा ८ चौका र १ छक्काको मद्दतमा ५४ रनको योगदान गरेका थिए। न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ४ तथा ल्युक फर्गुसनले ३ विकेट लिए। यसअघि टस हारेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९१ रनको योगफल खडा गरेको थियो।

पहिलो ओभरमा दुई ओपनरलाई गुमाएपछि ७–२ को स्थितिमा ब्याटिङका लागि आएको न्युजिल्यान्डको इनिङ विलियम्सनले शतक पूरा गर्दै उकासेका थिए। विलियम्सनले १ सय ५४ बलमा १४ चौका र १ छक्का प्रहार गरेका थिए। त्यस्तै रस टेलरले ९५ बलमा ७ चौकाको मद्दतमा ६९ रनको योगदान गरे। विलियम्सनले तेस्रो विकेटका लागि १ सय ६० रनको साझेदारी गर्दै उकासेका थिए। प्रतियोगितामा न्युजिल्यान्ड ११ अंकका साथ शीर्ष स्थानमा उक्लिँदा वेस्ट इन्डिज समान खेलमा ३ अंकका साथ सातांै स्थानमा छ।

प्रकाशित: ९ असार २०७६ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App