१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जित्नै पर्ने दबाबमा पाकिस्तान र दक्षिण अफ्रिका

लन्डन– समान एक/एक खेलमा जित निकाल्न सफल पाकिस्तान र दक्षिण अफ्रिका आइतबार अघिल्लो चरणको यात्रालाई जीवितै राख्न जितको खोजीमा मैदान उत्रिँदै छन्। यद्यपि दक्षिण अफ्रिकाले गणितीय सम्भावनाको भरोसामा बस्नुपर्नेछ।

६ खेल खेलिसकेको दक्षिण अफ्रिका आइतबार पाकिस्तानसँग गर र मरको अवस्थामा हुनेछ। आइतबारको खेलमा पनि दक्षिण अफ्रिकाले सुखद नतिजा निकाल्न नसकेको खण्डमा दक्षिण अफ्रिकाको अघिल्लो चरणको यात्रा लगभग समाप्त हुनेछ। त्यसैले दक्षिण अफ्रिकाका ब्याट्सम्यानलाई कठिन प्रतिद्वन्द्वी पाकिस्तानसँग खुलेर खेल्नु फलामको चिउरा चपाउनुसरह हुनेछ। यसअघिका खेलमा मध्यम खेल प्रदर्शन गरेका कप्तान फाप डु प्लेसिस, हासिम अमला, क्विटन डी कक, जेपी डुमिनी, डेभिड मिलरजस्ता ब्याट्सम्यानको ब्याट घुम्नु जरुरी छ। तर यी ब्याट्सम्यानका लागि सोचेजस्तो सहज छैन। किनभने पाकिस्तानका बलर मोहम्मद आमिर जारी विश्वकपमा लयमा छन्। आमिर जारी विश्वकप सबैभन्दा धेरै विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन्। त्यसैले दक्षिण अफ्रिकालाई सोचेजस्तो ब्याट घुमाउन कठिन हुनेछ। यस्तै वाहव रियाज, हसन अली, मोहम्मद हाफिजजस्ता बलरको बलिङ चुनौती सामना गर्नु पनि दक्षिण अफ्रिकाका लागि त्यति सहज छैन।

यता एक कम खेलेको पाकिस्तानलाई अघिल्लो चरणको यात्रालाई जीवन्त राख्न आइतबार दक्षिण अफ्रिकाविरुद्ध जित निकाल्न उक्तिकै जरुरी छ। एक खेलमा मात्र जित निकालेको पाकिस्तान एक खेल बढी खेलेको दक्षिण अफ्रिकाभन्दा एक स्थान तल नेट रनरेटका आधारमा तालिकाको नवौं स्थानमा छ। शीर्ष चारभित्र अटाउन भए पनि पाकिस्तान जितको खोजीमा हुनेछ। त्यसका लागि बाबर आजम, मोहम्मद हाफिज, सरफराज अहम्मेद, साहिन अफ्रिदी, आसिफ अलीजस्ता ब्याट्सम्यानलाई दक्षिण अफ्रिकाका बलरको बलिङ निक्र्योल गर्नु निकै चुनौतीपूर्ण हुनेछ। इमरान ताहिर, क्रिस मोरिस, एन्डिले फेलुकवायो, लुगी ङिधीजस्ता बलर दक्षिण अफ्रिकाका मुख्य हतियार हुन्।

आइसिसीको विश्व वरीयताको तेस्रो नम्बरमा रहेको दक्षिण अफ्रिका छैटौं वरीयताको पाकिस्तानसँग अहिलेसम्म एकदिवसीय विश्वकपमा चार पटक आमनेसामने भएको छ। दक्षिण अफ्रिकाले सर्वाधिक तीन पटक जित निकालेको छ भने पाकिस्तानले एक पटक मात्र हराउन सफल भएको छ। पछिल्लो पटक सन् २०१५ मा दक्षिण अफ्रिकालाई हराएको पाकिस्तानले सन् १९९२, सन् १९९६ र सन् १९९९ को संस्करणमा पराजित भएको थियो।

पाकिस्तानले अहिलेसम्म एक पटक उपाधि उचाल्न सफल भएको छ भने दक्षिण अफ्रिका सेमिफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेको छैन। पाकिस्तानले सन् १९९२ मा उपाधि उचाल्दा अभागी भनिने दक्षिण अफ्रिका सन् १९९२, सन् १९९९, सन् २००७ र सन् २०१५ मा अन्तिम चारको यात्रा तय गरेको थियो।

जारी विश्वकपमा पाकिस्तानले पाँच खेलमध्ये एक खेलमा जित, तीन खेलमा पराजय र एक खेलमा वर्षाका कारण अंक बाँडेको छ। पाकिस्तानको तालिकामा ३ अंक छ भने दक्षिण अफ्रिकाको ६ खेलबाट मात्र ३ अंक छ। कठिन अवस्थामा रहेको दक्षिण अफ्रिकाले १ खेलमा जित निकाल्दा ४ खेल गुमाएको छ। यस्तै एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्न बाध्य बनेको थियो।

प्रकाशित: ८ असार २०७६ ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App