२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पशुपतिनाथ दर्शनको सबै खर्च सरकारले व्यहोर्ने

राजस्थान – भारतको राजस्थान सरकारले पशुपतिनाथको दर्शन गर्न जाने राज्यभित्रका ज्येष्ठ नागरिकको सबै खर्च व्यहोर्ने निर्णय गरेको छ। राजस्थान सरकारले बिहीबार जारी  गरेको औपचारिक विज्ञप्तिमा नेपालको पशुपतिनाथसहित अन्य तीनवटा धार्मिक गन्तव्य जाने ज्येष्ठ नागरिकको सबै खर्च व्यहोर्ने उल्लेख गरिएको छ। राजस्थान सरकारको पर्यटन तथा देवस्थान मन्त्रालयले राज्यभित्रका ६५ वर्ष र सोभन्दा माथि उमेरका नागरिकका लागि उक्त सुविधा दिने घोषणा गरेको हो ।

सरकारले बिहीबार मात्र ज्येष्ठ नागरिक तीर्थाटन योजनालाई संशोधन गर्दै पशुपतिनाथसहित अन्य दुई ठाउँका धार्मिकस्थल दर्शन गर्न जानेका लागि पनि त्यस्तो सुविधा दिने निर्णय गरेको थियो। सरकारले घोषणा गरेको अन्य दुई धार्मिकस्थल भने उत्तराखण्डको देहरादून र पश्चिम बंगालको कोलकाताका धार्मिकस्थल रहेका छन्। सरकारले यसअघि सित्तैमा भ्रमण गराइरहेको छ वटा धार्मिकस्थलको योजना पनि जारी नै रहेको सरकारी विज्ञप्तिमा भनिएको छ।

सरकारले यसअघि सबै ज्येष्ठ नागरिकलाई हवाई मार्गमार्फत् छ धार्मिकस्थलको भ्रमण गराउने गरेकोमा थपिएका तीनवटा भने रेलमार्ग पनि थपिएको बताइएको छ।
पशुपतिनाथको भ्रमणमा जाने ज्येष्ठ नागरिक काठमाडौंसम्म हवाईमार्ग हुँदै जाने र गंगासागर–दक्षिणेश्वर काली–भेलर माथमा जानेलाई पनि कोलकातासम्म हवाईमार्ग हुँदै लगिने राजस्थान सरकारले बिहीबार जारी  गरेको औपचारिक विज्ञप्तिमा भनिएको छ। त्यसैगरी उत्तराखण्डका धार्मिकस्थलमा जाने ज्येष्ठ नागरिकले पनि देहरादूनसम्म हवाईमार्गबाटै जानेछन्। ती सहरमा रहँदा भने उनीहरुलाई बसको यात्रा गराइने राजस्थान सरकारले बताएको छ।  पछिल्लो निर्णयअनुसार काठमाडौंको पशुपतिनाथसहित तीनवटै क्षेत्रका मन्दिर दर्शन गर्न जाँदा लाग्ने दुईतर्फी हवाई भाडासहितको सम्पूर्ण खर्च राजस्थान सरकारले व्यहोर्ने छ । सरकारले गत बिहीबार गरेको निर्णय सार्वजनिक गर्दै राज्यका पर्यटन तथा देवस्थान मन्त्री विश्वेन्द्र सिंहले भने, ‘यसवर्ष पाँच हजार यात्रु हवाईमार्ग र थप पाँच हजार रेलमार्फत् धार्मिक यात्रामा जाने छन्।’ सरकारी निर्णयको लाभ लिनका लागि सम्भवतः जुलाई ५ बाट आवेदन मागिने पनि उनले बताए। संशोधित नयाँ व्यवस्थाअनुसार ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले धार्मिक यात्रा गर्दा थप एक सहयोगी पनि लान पाउने मन्त्री सिंहले बताए।

यसअघि यो योजना ७० वर्षभन्दामाथिका ज्येष्ठ नागरिकले मात्रै पाउँदै आएकोमा यस वर्षदेखि त्यसलाई घटाएर ६५ पु¥याइएको छ। अवकाशप्राप्त सरकारी कर्मचारीले पनि यो सुविधा प्राप्त गर्न सक्ने राजस्थान सरकारले जारी गरेको औपचारिक विज्ञप्तिमा भनिएको छ। जसमध्ये ६० वर्ष वा सोभन्दा बढी उमेर भएका पत्रकारका लागि पनि पाँच प्रतिशत कोटा छुट्याइएको विज्ञप्ति उद्धृत गर्दै ‘इन्डिया टुडे’ले आफ्नो अनलाइन संस्करणमा लेखेको छ।

प्रकाशित: ८ असार २०७६ ०५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App