१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

उज्यालो पर्वको उत्साह

यतिखेर नेपाली समाज चाडपर्वमय छ । दसैँलाई बिदा गरेको केही दिनमै हाम्रा अघिल्तिर तिहार, नेपाल संवत् र छठ आएका छन् । यीलगायतका अन्य परम्परागत चाडपर्व हाम्रा संस्कृति र परिचय हुन् । तिनमा रहेका कुरीतिलाई विस्तारै हटाउँदै असल चलनलाई बलियो पार्दा त्यसले समाजमा सहिष्णुता बढाउँछ, हाम्रो परिचयलाई सर्वध रूचिकर बनाइदिन्छ ।

सबैले एकैखालका चाडपर्व मनाउँदैनन् । जातीय, धार्मिक, संस्कृति, क्षेत्रीय आधारमा चालचलन पनि पृथकपृथक छन् । त्यसैले पनि नेपाल बहुसांस्कृतिक मुलुकका रूपमा संसारभर चिनिन्छ । ‘अनेकताका बीच एकता’ बनाउँदै सारा देशबासीलाई एउटै मालामा उनेर राख्ने तŒव भनेको सहिष्णुता र एकले अर्काे संस्कारका प्रति गर्ने सम्मान तथा सद्भाव नै हो । यस मामिलामा नेपाल विश्वकै उदाहरणीय मुलुक बन्दै आएको छ । परम्परागत रूपमा यहाँ मनाइने हरेक चाडपर्वबीच कहीँ न कहीँ एकरूपता पनि भेटिन्छ । नेपाली जनताको घर–आँगनमा आएको तिहार, नेपाल संवत् तथा छठजस्ता सबै चाडमा उज्यालोको उपासना गरिन्छ । दियो, कलश तथा सूर्यलाई संकेत मानेर समाजका अन्धकार हटाउन यस्ता चाडबाड सनातनदेखि मनाइने गरिएको पाइन्छ ।

निश्चय पनि लामो समयदेखि देशले विभिन्नखालका अन्धकारको सामना गर्दै आइरहेको छ । फैलँदो राजनीतिक संक्रमणका कारण जनजीविका थप कष्टकर बन्न पुगेको छ । ठूलो राजनीतिक परिवर्तनपछि मुलुकले आर्थिक उन्नतिको बाटो समाउनुपर्नेमा सत्ताको खिचातानीमै दल र तिनका जिम्मेवार नेता अल्झिदिनाले जनता गरिबीको रेखामुनि जीवन बिताउन बाध्य बनेका छन् । गरिब जनताका निम्ति यही उज्यालोका पर्व पनि ‘बाध्यता’ बन्न पुगेको छ । दीपावली गरेरै जारी गरिएको नेपालको संविधान २०७२ ले अझै जनताको जीवनमा उज्यालो छर्न सकिरहेको छैन । त्यसलाई कतिपयले आफ्नो मान्न सकिरहेका छैनन् । उज्यालोको पर्वले सर्वप्रथम नयाँ संविधानमा प्रकाश पार्नुपर्छ । देशलाई विधिमा सञ्चालन गर्न तथा दण्डहीनताको अन्त्यका निम्ति पनि संविधान बलियो र सर्वस्वीकार्य हुनुपर्छ । कमजोर संविधानका आडमा मौलाउने भनेका भ्रष्ट तथा व्यभिचारी हुन् । तिनलाई निरुत्साही पार्न पनि राजनीतिक दल सचेत हुनुपर्छ । भर्खरै जारी भएको संविधान सर्वगुण सम्पन्न छ अथवा हुनुपर्छ भन्ने आग्रह राख्नु बुद्धिमानी हुँदैन । दशकौँअघि जारी भएका कतिपय मुलुकका संविधान अहिलेसम्म पनि संशोधन भइरहेको तथ्य कसैले पनि बिर्सन हुन्न । हामीले पनि नयाँ संविधानलाई सहमति र सल्लाहमा संशोधन गर्दै जानुपर्छ । दीपावलीले संविधान संशोधनको माग गर्ने दल र सत्तासिनहरूबीच मतैक्यको वातावरण बनाउन सकोस् । तिनलाई ठण्डा दिमागले आग्रह–पूर्वाग्रहरहित ढंगमा वार्ताको टेबुलमा बस्ने परिस्थिति पैदा गरिदेओस् ।

राजनीतिक दल र तिनका अधिकांश नेताको दिमागमा उज्यालो नपर्नाले नै मुलुक दुर्गतिको सिकार बनेको हो । पटकपटकका आन्दोलन, त्यसले ल्याएको परिवर्तनले सत्तामा बस्ने मान्छे मात्र फेरिए, तिनको सोच पुरानै रह्यो । जनसहभागितामा भएका कुनै पनि परिवर्तन नराम्रो हुँदैन । त्यस परिवर्तनलाई संस्थागत गर्न नसक्नु जिम्मेवार नेताहरूको कमजोरी हो । तिनले सर्वप्रथम देशका बारेमा सोच्नुपर्नेमा आफू, आफन्त र दल सोचे । र, नै देशको अवस्था परिवर्तन हुन सकेन । जनता यतिखेर विकल्परहित अवस्थामा छन् । यो अवस्थाले आफूले मत दिएर जिताएको तिनै प्रतिनिधिमार्फत् केही होला कि भन्ने आशा गर्न बाध्य छन् । तर, निरन्तरको आन्दोलन, बन्द, हड्तालको नियतिबाट अझै पनि मुक्ति मिल्न सकेको छैन ।

यो निसास्सिँदो अवस्थाबाट पार लगाउने फेरि पनि तिनै दल र नेता नै हुन् । चाडपर्वको मानसिकता (फेस्टिभ मुड)मा रहेका नेपाली नागरिक अहिले राजनीतिका बारेमा कुरा गर्न चाहँदैनन् । तर पनि हरेक सञ्चारमाध्यम होस् या सामाजिक सञ्जाल राजनीतिक विकृति र विसंगतिका अक्षरले नै भरिएका छन् । जनता चाहन्छन्– तिहार, नेपाल संवत् तथा छठपछि कुनै पनि दल र तिनका नेतामाथि व्यंग्य गर्नु नपरोस् । यो उज्यालोको पर्वले देशमा सर्वत्र उमंग ल्याओस्, सबैखाले अन्धकार परास्त होस् । नागरिक राष्ट्रिय दैनिक सम्पूर्ण नेपालीमा दीपावली, छठ तथा नेपाल संवत् ११३७ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।  
 

प्रकाशित: १४ कार्तिक २०७३ ०५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App