१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

११ महिनामा दुई सयको मृत्यु

दिलबहादुर छत्याल/धनगढी
जगत खड्का/बझाङ
पुष्कर भण्डारी/डडेल्धुरा

सुदूरपश्चिममा साउनयता भएका फरक–फरक सडक दुर्घटनामा दुई सय १२ जनाको मृत्यु भएको छ। ती दुर्घटनामा चार सय ३५ जना गम्भीर घाइते भएका छन्। यस अवधिमा दुई सय १६ दुर्घटना भएका छन्। क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक केदार रजौरेका अनुसार सुदूरपश्चिममा अघिल्ला वर्षको तुलनामा दुर्घटना, घाइते र मृतकको संख्या बढेको छ।

सुदूरपश्चिममा आर्थिक वर्ष २०७२/०७३ मा सडक दुर्घटनामा एक सय २१ जनाको मृत्यु भएकोमा २०७३÷०७४ मा यो संख्या बढेर एक सय ३२ पुग्यो। त्यस्तै सडक दुर्घटनामा २०७४/०७५ मा एक सय ६६ जनाको मृत्यु भयो। ‘सवारी दुर्घटना बढ्दै गएका छन्,’ रजौरेले भने, ‘सडकको अवस्था, सवारीसाधनको चाप, चालकको लापरवाही, तीव्र गति, क्षमताभन्दा बढी यात्रु राख्ने, ट्राफिक नियम उल्लंघन गर्ने जस्ता प्रवृत्तिले दुर्घटना बढिरहेका छन्।’

साधनस्रोत र जनशक्ति अभावमा ट्राफिक प्रहरीलाई काम गर्न समस्या भएको उनले बताए। ‘साधनस्रोत, जनशक्ति सबै अभाव छ,’ उनले भने, ‘सिसी क्यामेरा, गाडीलगायत साधनस्रोत भए दुर्घटना न्यूनीकरण गर्न सहज हुने थियो।’

मापदण्डविपरीतका सडकका कारण दुर्घटना बढेका छन्। सुदूरपश्चिमका सातवटै पहाडी जिल्लाका सबै सडक मापदण्डविपरीत छन्।

पहाडी जिल्लामा मापदण्डविपरीत खनिएका कच्ची सडकमा अनुमतिबिनै सवारीसाधन चलाउँदा दुर्घटना बढ्दै गएका छन्। ‘मापदण्डविपरीतका सडक र रुट परमिटबिना सवारीसाधन चलाउँदा पहाडी जिल्लामा दुर्घटना बढेका छन्,’ इन्सेकका क्षेत्रीय संयोजक खडक जोशी भन्छन्, ‘रुट परमिट नपाएका सडकमा सवारीसाधन चलाउँदा पनि नियमन हुन सकेको छैन।’ मापदण्ड पूरा नगरी बनाइएका सडक पनि दुर्घटनाको कारक भएको उनको ठहर छ। यातायात व्यवसायी र ट्राफिक प्रहरीको गैरजिम्मेवारी पनि दुर्घटनाको कारण भएको उल्लेख गर्दै उनले भने, ‘ट्राफिक प्रहरीअगाडि यात्रु झार्ने र आँखा छलेर फेरि क्षमताभन्दा बढी यात्रु चढाउने प्रवृत्ति छ। ट्राफिक प्रहरी यस्तो विकृति रोक्न उदासीन छन्।’

सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा स्टिमेट र सर्भेबिनै जताततै साँघुरा सडक खनिएका छन्। मापदण्डविपरीतका यी सडकमा बढी दुर्घटना हुने गरेको स्थानीय बताउँछन्। ‘प्राविधिकको स्टेमेट र सर्भे नगरी राजनीतिक पहुँचका आधारमा मनोमानीले ढंगले सडक खनिँदा बझाङमा महिनैपिच्छे सडक दुर्घटना भएर अकालमै ज्यान जाने गरेको छ,’ बझाङका युवा नेता दीपक भण्डारी भन्छन्, ‘असार २ गते भएको जिप दुर्घटनाको मुख्य कारण पनि मापदण्डअनुसार सडक नहुनु हो।’ सो दुर्घटनामा १० जनाको मृत्यु भएको थियो।

कोटदेवल गाउँपालिकाले सामान्य प्राविधिकको भरमा डिजाइन गरेको सडक मापदण्डबमोजिम नरहेको भण्डारी बताउँछन्। ‘कोटदेवलको सडक खण्डमा आई र इआई केही गरिएको छैन,’ उनले भने।

बझाङमा ग्रामीण क्षेत्रमा सडक खन्ने काम तीव्र गतिमा भइरहेको छ। ‘सबै ठाउँमा प्राविधिक र इन्जिनियरिङ अध्ययनबिना हचुवाका भरमाा सडक खन्ने काम भइरहेको छ,’ बझाङका शिक्षक वीरेन्द्रबहादुर सिहंले भने, ‘हचुवाका भरमा खनिएका यी सडक ज्यानमारा बनेका छन्।’ चैनपुरबाट मस्टा गाउँपालिकाको कुलमस्टा जन मावि भातेखाले आहोरदोहोर गर्दा कतिखेर जिप खसेर अकालमै मरिन्छ भन्ने त्रास हुने गरेको सिंहको भनाइ छ। ‘साँघुरा, बढी भिराला र घुम्ती धेरै भएका सडक जोखिमपूर्ण छन्,’ उनले भने। मापदण्डविपरीतका सडकमा अनुभवविहीन चालक हुनु, कतिपय चालकले मदिरा सेवन गर्नु र क्षमताभन्दा बढी यात्रु बोक्नु दुर्घटनाका प्रमुख कारण रहेको स्थानीय बताउँछन्। ‘ग्रामीण सडकमा प्रहरीको उपस्थिति नै छैन,’ सिंहले भने।

बझाङमा सरकारी अनुमतिबिना र मापदण्डविपरीतका करिब एक सय ७७ ठाउँका सडकमा गाडी गुड्न थालेका छन्। तीन महिनायता भएका दुर्घटनामा १८ जनाको मृत्यु भइसकेको छ।

डडेल्धुरामा पनि मापदण्डविपरीत ट्र्याकमात्रै खोलिएका ग्रामीण सडकमा महिनैपिच्छे दुर्घटना हुने गरेका छन्। उग्रतारा डडेल्धुरा सार्वजनिक यातायातका संयोजक मानबहादुर साउदले भने, ‘मापदण्डविपरीतका सडकका कारण दुर्घटना बढेका छन्।’ सुदूरपश्चिममा पर्ने तराईका जिल्लामा तीव्र गतिका कारण र पहाडी जिल्लामा मापदण्डबिनाका सडकका कारण दुर्घटना हुने गरेका छन्। ट्राफिक प्रहरी पोस्ट स्याउलेका इञ्चार्ज सई देवबहादुर खत्रीले साँघुरा सडकमा क्षमताभन्दा बढी यात्रु राखेर तीव्र गतिमा गाडी चलाउँदा सवारी दुर्घटना बढेको बताए।

प्रकाशित: ८ असार २०७६ ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App