१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

जेठी दिदी

सविता भट्टराई
श्वेतपत्र महाकाव्य कवि खेमनाथ दाहालले लेखेका हुन्। यसकी मुख्य पात्र ‘जेठी दिदी नेपाल’  हुन्। हिमालयकी जेठी छोरी नेपाललाई सिक्किम, भुटान र कञ्चनजङ्घा हिमालकी जेठी दिदीका रूपमा प्रस्तुत गरिएको छ। दाहालले नेपाललाई मानवीकरण गरेर कतै आमा त कतै दिदीका रूपमा प्रस्तुत गरेका छन्।

महाकाव्यमा नेपाल दिदी सुरुदेखि नै व्यापकता भएकी र अन्तसम्म पनि आफ्ना पिता हिमालयका कुरा सुुन्ने मुख्य नायिकाका रूपमा आएकी छन्। कविले जेठी दिदी नेपालले आफ्ना बहिनीहरूलाई सुनाएको नेपाल आमाको व्यथा यसरी व्यक्त गरेका छन् ः

जेठी नेपालको आफ्नै अन्तरङ्ग कथा सुनेँ घरेलु झगडा साँच्चै रहेछ मुटु नै छुने
आफ्नै सन्तान बाझेर मारामार गरी रुँदा
चित्त साह्रै दुखाएर रोइन् तिनी कठै बरा !

दिदी सङ्घर्षशील र क्रान्तिकारी विचार भएकी नारी हुन्। आफ्ना सन्तानले शान्तिको बिरुवा रोपून् भन्ने उनको चाहना छ।

यस आधारमा हेर्दा नेपाली दिदी नेपालको आन्तरिक कलह, झै–झगडा, एकापसको वैमनस्य, भाइभाइमा देखिएको अविश्वास जस्ता कुराबाट मर्माहत भएकी पात्र देखिन्छे। ऊ नेपालमा यस्तो नहोस् भन्ने सङ्कल्प बोकेकी महान् चरित्रका रूपमा देखा परेकी छ।

महाकाव्यमा नेपाल दिदीलाई विद्यामा निपुण भएको मान्न सकिने आधार छन्। उसले आफ्ना बहिनीहरूलाई आफूहरूको उद्भव र संस्कारबारे व्यापक जानकारी दिएकी छ। दोस्रो सर्गभरि नै नेपाल दिदीले सुरुमा आफूहरूका पिता हिमालय भएको, आफूहरू विशाल हिमाली राज्य भएको, पछि टुक्रिएपछि अरूले छुट्टाछुट्टै राज्यमा शासन गरेको, अरूले आफूहरूलाई अनावश्यक दुःख दिएको, आफूहरूका बीचमा विवाद गराएर अरूले शासन गरेको इतिहासका कुरा र विवरण सुनाएकी छ।  यसैगरी चौथो सर्गभरि नेपाल दिदीले बहिनीहरूलाई ऐतिहासिक कुरा बताएकी छ। उसले नेपाल र चीनको सुमधुर सम्बन्ध, एकापसमा गरिने व्यापारका कुराहरू, अङ्ग्रेजहरूको कुदृष्टि, तिब्बतक्षेत्र चीनमा गाभिएको सन्दर्भ लगायतका विविध कुरा सुनाएकी छ। यस आधारमा हेर्दा नेपाल दिदी इतिहासविद् बौद्धिक पात्रका रूपमा देखिन्छे।

सर्ग सातमा राजतन्त्रसम्बन्धी महŒवपूर्ण टिप्पणीहरू, राजतन्त्रको विस्तृत परिचय, त्यो परिचय समाप्त हुनुका कारणहरू र सर्ग दशमा सुगौली सन्धिलगायतका महत्त्वपूर्ण ऐतिहासिक घटनाक्रमहरू बहिनीहरूलाई बताउने नेपाल दिदी साँच्चै बौद्धिक चरित्रका रूपमा देखा परेकी छ।

नेपाल दिदी शान्तिप्रेमी छ भन्ने कुरा युद्ध, द्वन्द्व र हत्याहिंसाका कारण नेपालमा भएको परिस्थितिप्रति उसले देखाएको वितृष्णाबाट पुष्टि हुन्छ। नेपाल दिदी गम्भीर प्रकृतिकी पात्रका रूपमा प्रारूपीकृत छ। उसले आफ्नो र अन्य बहिनीहरूप्रतिको स्वत्वरक्षाका लागि निकै गम्भीर बनेर कार्यहरू गरेकी छ। उसले आमा बनेर आफ्ना सन्तानतर्फ उन्नत र स्वतन्त्र हिमाली राज्य बनाउनुपर्ने कुरा व्यक्त गरेकी छ। ऊ आफ्नो इतिहास र सौन्दर्यतर्फ सङ्केत गर्दै त्यसमा पनि गम्भीर ढङ्गले सोच्नु पर्ने कुरा व्यक्त गर्दछे। नेपाल दिदीलाई युगवाहक पात्रका रूपमा पनि लिन सकिन्छ।  यसले महाकाव्यमा एक युगलाई बोकेकी छ।      

नेपाल दिदी प्रतिनिधिमूलक पात्र हो। यसले तीन दिदीबहिनीको भावनाका माध्यमबाट र तिनीहरूलाई दिएको साहस र बताएको इतिहासका माध्यमबाट तीन राष्ट्रका सचेत र राष्ट्रिय स्वाधीनता चाहने जनताका विचारको प्रतिनिधित्व गरेकी छ। त्यस्तै सिक्किम, भुटानको प्रतिनिधित्व गर्नेदेखि सम्पूर्ण नेपालीका सुख, शान्ति, समुन्नति र नयाँ नेपालका लागि समेत प्रतिनिधि पात्रका रूपमा नेपाल दिदीले अग्रगामी चैतन्ययुक्त विचार व्यक्त गरेकी छ।

नेपाल दिदी सङ्घर्षशील र क्रान्तिकारी विचार भएकी नारी हो। आफ्ना सन्तानले शान्तिको बिरुवा रोपून् भन्ने उसको चाहना छ। तर, देशमा स्वार्थी, शोषक, सामन्त, भ्रष्टाचारी र दुराचारीहरू बढे भने र तिनैले देशको बागडोर हात पारेर शासन चलाए भने तिनका विरुद्ध सङ्घर्षशील भएर क्रान्ति गर्नुपर्ने विचार नेपाल दिदीले व्यक्त गरेकी छ।     

यसरी हेर्दा महाकाव्यकी जेठी दिदी नेपाललाई महाकाव्यलाई चाहिने किसिमको महान् चरित्र मान्न सकिन्छ। आचार्य विश्वनाथले नायकका सामान्य गुणका आधारमा स्वकीया (सरल प्रकृतिकी, विनययुक्त, गृहस्थी जीवन राम्ररी चलाउने र पतिव्रता स्वरूपकी), परकीया (व्यभिचारिणी र निर्लज्ज) र सामान्या (विभिन्न कलाहरू जान्ने,  धृष्ट, नक्कली प्रेम गर्ने र धनप्रति आसक्त हुने) गरी नायिकाका तीन भेद मानेका छन्। यीमध्ये जेठी दिदीलाई स्वकीया नायिका मान्न सकिन्छ।
नेपाललाई महाकाव्यकारले मानवीकरण गरी जेठी दिदी र कतै आमा बनाएका कारण लिङ्गका आधारमा यो स्त्री हो। कार्यका आधारमा मूल कार्य गरेकाले यसलाई प्रमुख पात्र मान्न सकिन्छ।

भूमिकाका आधारमा महाकाव्यको सुरुदेखि अन्त्यसम्म प्रमुख भूमिकामा रहेकी हुँदा यो केन्द्रीय पात्र हो भने प्रवृत्तिका आधारमा राष्ट्र र आफ्ना बहिनीहरूकी हितैषी भएकीले अनुकूल चरित्र हो। सधैँ सचेत र केही गर्नुपर्छ भन्ने भावना भएकाले स्वभावका आधारमा हेर्दा यो गतिशील पात्र हो भने सिङ्गो हिमाली राष्ट्रनिर्माणमा जुटेका कारण जीवनचेतनाका आधारमा यो सामाजिक तथा राजनीतिकपात्र हो। हत्याहिंसा र रक्तक्रान्तिका विरुद्ध देखिएकी हुँदा मानवताका आधारमा यसलाई मानवतावादी चरित्रका रूपमा मूल्याङ्कन गर्न सकिन्छ।

प्रकाशित: ७ असार २०७६ ०६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App