१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कलेजाको टुक्राबाट कलेजो

पवित्रा सुनार
डेढ महिनाअघिसम्म काठमाडौं, हात्तीगौंडाका ५८ वर्षीय पदमबहादुर मल्ललाई खुसीका दिन आउलान् जस्तो लागेको थिएन। न त शरीर नै यति तन्दुरुस्त होला भन्ने लागेको थियो। एक वर्षअघि आफ्नो कलेजो बिग्रिसकेको थाहा पाएपछि मल्ल परिवारमा खुसी हराएको थियो। एक वर्षदेखि रक्सी सेवनका कारण कलेजोमा सिरोसिस भएपछि उनको यस्तो हविगत भएको थियो। तर गत जेठको तेस्रो साता टिचिङ अस्पतालमा उनको कलेजो प्रत्यारोपण सफल भएकाले मल्ल परिवारमा खुसी छाएको छ। अस्पतालका इन्ट्रोग्यास्ट्रोलोजी सर्जन डा. रमेश भण्डारीको नेतृत्वमा कलेजो प्रत्यारोपण भएको हो। उनलाई आफ्नै जेठी छोरी पुर्णी शाहीले कलेजो दान गरेकी छिन्।

शुक्रबार नागरिककर्मी पुग्दा कलेजो दिएकी पुर्णी र पदमबहादुर दुवै खुसी देखिए, छोरी  पितालाई बचाउन पाएकोमा र पदमबहादुर नयाँ जीवन पाएकोमा। सोही क्रममा पदमबहादुरले छोरीले कलेजो दिएर आफूलाई नयाँ जीवन दिएको बताए। ‘म छोरीप्रति असाध्यै ऋणी र खुशी पनि छु,’ उनले भने। यतिखेर पदमबहादुर स्वस्थ व्यक्तिसरह सामान्य खाना खानसक्ने भएका छन्। उठेर यताउति हिँडडुल गर्न पनि। उनको स्वास्थ्य सामान्य बन्दै गएकाले डिस्चार्ज गरिसकेको उपचारमा संलग्न चिकित्सक डा. रमेशसिंह भण्डारीले बताए। उनले सामाजिक सञ्जालमार्फत कलेजो दिने छोरी र बाबु दुवैलाई डिस्चार्ज गर्न पाएकोमा आफूलाई ठूलो आनन्द मिलेको जनाए। ‘मलाई आज धेरै आनन्द मिलेको छ, पहिलो पटक कलेजो प्रत्यारोपण पूर्ण सफल भएको छ, कलेजो लिनेदिने दुवै  डिस्चार्ज भएका छन्,’ उनले फेसबुकमा लेखेका छन्। उनले फेसबुकमै कलेजो प्रत्यारोपणमा सहयोगी चिकित्सक समूहलाई  धन्यवाद दिएका छन्।

डा. भण्डारीका अनुसार स्वस्थ व्यक्तिको सानो टुक्रा कलेजो काटेर कलेजो सिरोसिस भएको व्यक्तिमा राखिने प्रक्रिया हो कलेजो प्रत्यारोपण। रक्सीसेवन या अन्य कारणले कलेजो पूरै बिग्रेको अवस्थामा प्रत्यारोपण गरिन्छ।

डा. भण्डारीका अनुसार स्वस्थ व्यक्तिको सानो टुक्रा कलेजो काटेर कलेजो सिरोसिस भएको व्यक्तिमा राखिने प्रक्रिया हो कलेजो प्रत्यारोपण। रक्सीसेवन या अन्य कारणले कलेजो पूरै बिग्रेको अवस्थामा प्रत्यारोपण गरिन्छ। कलेजो प्रत्यारोपण भएका पदमबहादुर स्वस्थ बनिसकेका छन्। तर पूर्ण रूपमा सामान्य अवस्थामा आउन थप तीन महिना लाग्नेछ। यसका लागि उनले पूर्ण हेरचाहमा बसेर संक्रमणबाट बच्नुपर्नेछ। चिकित्सकको सल्लाहअनुसार फलोअपमा आउनुपर्नेछ। डा. भण्डारीले टिचिङमा कलेजो प्रत्यारोपणका लागि विगत पाँच वर्षदेखि प्रयास गरेका थिए। उनकै नेतृत्वमा यो अस्पतालमा कलेजो प्रत्यारोपण सफल भएको हो।

उता कलेजो प्रत्यारोपण गरेर नयाँ जीवन पाएको भन्दै पदमबहादुर र पुर्णीले  पनि अस्पतालका चिकित्सक तथा नर्सलाई आभार प्रकट गरेका छन्। ‘भगवान् भनेको डाक्टर रहेछन्, अरू दिन के सक्छु र ? मनदेखि नै धन्यवाद दिन चाहन्छु,’ पिता पदमबहादुरले भने। पिताले बोल्न नपाउँदै  छोरी पुर्णीले डाक्टर र अस्पतालका नर्सहरूलाई धन्यवाद दिइन्। यति मात्र होइन, उनले आफ्ना पितालाई बचाइदिने डा. भण्डारीलाई पछि विशेष कुरा दिने बाबुछोरीको सल्लाह भएको पनि खुलाइन्।
एक वर्षदेखि पदमबहादुर कलेजो सिरोसिसका कारण थलिएर पेट फुलेको र खाना खान नसक्ने अवस्थामा थिए। दिसासमेत रोकिन्थ्यो। सुरुमा ओम अस्पताल पुगेका मल्ल पछि टिचिङ पुगे। मल्ललाई सुरुमा टिचिङमा कलेजो प्रत्यारोपण हुने कुरा थाहा थिएन। उनी भारत जानुपर्ने सोचले दुःखी थिए। यसै क्रममा ओम अस्पतालका डाक्टर राहुल पाठकले टिचिङमा कलेजो प्रत्यारोपण हुने र डा. भण्डारीलाई भेट्न सल्लाह दिए र उनले एक महिनाअघि डा. भण्डारीलाई भेटे। डा. भण्डारीले प्रक्रिया अघि बढाए।

उनले परिवारका अन्य सदस्यहरूको रगतको क्रसम्याच गरे। जसमा जेठी छोरी पुर्णीको मिल्यो। उनी तत्कालै दिन तयार भइन्। कलेजो प्रत्यारोपणका लागि आवश्यक २५ लाख रुपैयाँ आफन्तकै सहयोगमा जुट्यो। सोही क्रममा गत जेठको तेस्रो साता उनमा कलेजो प्रत्यारोपण भयो। विदेश जानुपरेको भए प्रत्यारोपण खर्च दोब्बरभन्दा धेरै पथ्र्यो। नेपालमै भएकाले कम खर्चमा प्रत्यारोपण सफल भएको मल्लले बताए। उनका अनुसार सम्पूर्ण खर्च २५ लाख रुपैयाँ लागेको छ।

मल्ल यसअघि नेपाली सेनामा जागिरे थिए। जागिरको क्रममा राजपरिवारको सुरक्षामा खटिए। पछिल्लो समय राजपरिवारकै निजी सुरक्षागार्डको रूपमा खटिएका थिए। मल्ल साथीभाइसँग अत्यन्त मिलनसार थिए। सार्थीभाइकै रमाइलोमा उनले रक्सी पिउन सिके। उनले थाहा नपााई रक्सीको लत बस्यो। उनले नियमित रक्सी पिउन थाले। तापनि आफ्नो दायित्व र पारिवारिक हेरचाहमा कुनै कमी ल्याएनन्। बरु उल्टै छोराछोरीको हेरचाह र माया गर्थे। यही व्यवहारका कारण रक्सी पिए पनि उनी परिवारमा सबैका प्रिय थिए। गत वर्ष रक्सीले कलेजोको सिरोसिस भइसकेको रिपोर्ट आएपछि मल्ल परिवार चिन्तामा डुबेको थियो। भाग्यले नेपालमै  कम खर्चमा उपचार पाए। बिरामी परेसँगै मल्लले रक्सी पिउन चटक्कै छोडेका छन्। रक्सीको लतले आफू र परिवारले पाएको दुःख सम्झिँदै उनले अरूलाई रक्सीको लतमा नपर्न आग्रह गरे। ‘म रक्सीको नामै लिन चाहन्नँ, अरूले पनि नलिऊन्,’ उनले नागरिकसँग भने।

प्रकाशित: ७ असार २०७६ ०२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App