१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

किसान उकास्ने, भूमाफिया मोटाउने

गुठी विधेयक फिर्ता लिन माग गर्दै गरिएको प्रदर्शन। फाइल तस्बिर/नागरिक

दाङ -  घोराही उपमहानगरपालिका–२ रामपुर पलाँसेका टेकबहादुर चौधरी स्वर्गद्वारी आश्रमका गुठी किसान हुन्। तीन पुस्तादेखि सोही आश्रमकै गुठी जमिनमा उनको परिवार आश्रित छ। उनले आश्रमको एक बिघा जमिनको मालिक आफूलाई मान्दै आएका छन्। तर सो जमिनको मोही पुर्जा उनीसँग छैन। कहाँ कोसँग छ भन्ने पनि थाहा छैन।

‘जग्गा मेरो नाममा पास गराइदिने भन्दै धेरै वर्षअघि केही टाठाबाठाले पुर्जा लगेका हुन्,’ उनले भने, ‘अहिलेसम्म फिर्ता पाएको छैन।’ उनले आफूले भोगचलन गर्दै आएको गुठी जमिनको मोही पुर्जा फिर्ता ल्याउन धेरै कोसिस गरे। तर अहिलेसम्म पाएका छैनन्। ‘पुर्जा दिनुस् भनेर एकजनालाई फोन गरें,’ चौधरीले भने, ‘काठमाडौंमा छु, दाङ आएर दिन्छु भने तर अहिलेसम्म फिर्ता पाइएको छैन।’

रामपुर भट्टेटारका जयन्द्रप्रसाद चौधरी पनि स्वर्गद्वारी आश्रमको तीन पुस्ते मोही किसान हुन्। बाबुको नाममा रहेको १ बिघा ५ कट्ठा आश्रमको जमिन उनले पनि भोगचलन गर्दै आएका छन्। तर त्यसको प्रमाण दिने लिखत प्रमाण (मोही पुजा) को सक्कल उनीसँग छैन्। एकजनाले जग्गा पास गराइदिने भन्दै उनका बाबुसँग रहेको मोही पुर्जाको सक्कल कागजात लगिदिएछन्। ‘अहिले बुवा बितिसक्नुभयो, कागज लैजाने मान्छे म चिन्दिनँ,’ उनले भने, ‘अब कहाँ कोसँग मोही पुर्जा माग्न जाऊँ ?’ उनीसँग पुर्जाको फोटोकपी मात्रै छ। उनलाई फोटोकपी पुर्जाले जग्गामा कतिको अधिकार लाग्छ भन्ने थाहा छैन। ‘फोटोकपीले जग्गामा अधिकार दिन्छ कि दिन्न थाहा छैन,’ उनले भने, ‘अहिलेसम्म जग्गा कमाउन त्यस्तो अप्ठेरो त परेको छैन।’

टेकबहादुर र जयन्द्रप्रसादजस्तै रामपुरका विभिन्न गाउँका किसान मोही पुर्जाविहीन अवस्थामा छन्। उनीहरूका अनुसार अदालतमा मुद्दा लडेर जग्गा उनीहरूकै नाममा पास गराइदिने भन्दै विगतमा केही व्यक्ति सक्रिय बनेका थिए। यकिन मिति कसैलाई थाहा छैन। २०५५ सालतिर किसानका पक्षमा अदालतमा मुद्दा लड्न भन्दै रामपुरका किसानको सक्कली मोही पुर्जा संकलन गरिएको थियो। गाउँलेले सक्कली पुर्जा दिन मानेका थिएनन्। तर सक्कली पुर्जा नहुँदा जग्गा पास नहुने भन्दै सशंकित बनाइयो। ‘मैले त सक्कली पुर्जा दिन मानेकै थिइनँ तर जग्गा पास हुन्न भनेपछि दिन करै लाग्यो,’ रामपुर भट्टेटारका ८१ वर्षीय धनवीर चौधरीले भने, ‘जग्गा पास होला भनेर दिएको सक्कली पुर्जा फिर्तै आएन।’

उनका अनुसार मोही किसानका अगुवामध्येका ओमभक्त चौधरीलगायतको समूहले पुर्जा संकलन गरेको थियो। यसमा केही वकिल पनि सामेल थिए। ओमभक्तको निधन भइसकेको छ। यो समूहमा रहेका कसैलाई पनि उनी चिन्दैनन्। ‘ओमभक्त थिए चिनेका मान्छे, उनी बितेको धेरै भइसक्यो,’ धनवीरले भने, ‘अरू कसैलाई पनि म चिन्दिनँ।’ उनले सक्कली पुर्जा लगेर गएका अन्य व्यक्तिहरुको खोजी गरे पनि। तर कोही पनि फेला परेनन्। अन्ततः त्यही पुर्जाको फोटोकपीलाई अहिले मोहियानी हकको बलियो आधार मानेर बसेका छन्। किसानलाई मोही पुर्जा स्वर्गद्वारी आश्रमले दिएको थियो।

किसानले पाएको मोही पुर्जा संकलन गरेर पास गराइदिने आश्वासन दिनेमध्येका एक छन् खिलत गिरी। हाल काठमाडौंमा रहेका उनीलगायत पाँचजनाको समूह मोही किसानका नाममा जग्गा पास गरिदिने भन्दै घोराहीमा कार्यालय खोलेरै बसेका थिए। खिलतका अनुसार उनीलगायत केशव सत्याल, आरजु केसी, अमिर केसी र विकास पाण्डे सो समूहका सदस्य थिए। किसानसँग उनीहरूको सर्त थियो– जग्गाको हिस्सा। एक बिघा जग्गा पास गरिदिएबापत ६ कट्ठा जमिन आफूहरूलाई दिनुपर्ने भन्दै सो समूहले ३ सयजति किसानसँग लिखित सम्झौता गरेको थियो। जग्गा पास गर्दा लाग्ने खर्च सबै सो समूहले बेहोर्ने र पास भएपछि बिघामा ६ कट्ठा जमिन आफूहरूलाई दिनुपर्ने प्रस्तावमा सबै किसानले लिखित सहमति जनाएको खिलत बताउँछन्। ‘आश्रमको जग्गा किसानहरूका नाममा पास गराइदिन एक बिघा जग्गाको ६ कट्ठा हामीलाई दिनुपर्ने लिखित सम्झौता भएको थियो,’ खिलतले नागरिकसँग टेलिफोनमा भने, ‘यसैका लागि हामीले दाङमा कार्यालय खोलेका थियौं।’

बिघामा ६ कठ्ठा जमिन आफूहरूले पाउने सर्तमा सो समूहले त्यो बेलाको निजी गुठीलाई राजगुठीमा रूपान्तरण गर्न निकै भूमिका खेलेको खिलतले बताए। ‘राजगुठी बनिसकेपछि किसानहरूले पाएको मोही पुर्जा संकलन गरियो। किसानका नाममा जग्गा पास गराउने अन्तिम चरणमा थियौं,’ उनले भने, ‘त्यसकै लागि हामीले किसानको नागरिकतासहित जग्गाको सक्कली मोही पुर्जा संकलन गरेका हौं।’ खिलतका अनुसार जग्गा पास हुने प्रक्रिया थालनी हुँदै गर्दा सर्वोच्चमा मुद्दा प¥यो। स्वर्गद्वारी मठले सो समूहको गतिविधिलाई भूमाफियाको चलखेल भन्दै सर्वोच्चमा मुद्दा दर्ता गरेको थियो। ‘किसानभन्दा पनि स्वर्गद्वारी आश्रमको जग्गामा भूमाफियाको आँखा लाग्यो भनेर स्वर्गद्वारी मठले सर्वोच्चमा मुद्दा हाल्यो,’ खिलत भन्छन्, ‘यो मुद्दाका कारण किसानका नाममा जग्गा पास हुन पाएन।’

२०६२ सालमा सर्वोच्च अदालतले स्वर्गद्वारी आश्रमको जमिन निजी गुठीअन्तर्गत रहेको भन्दै यसको खण्डीकरण नगर्न फैसला गरिदियो। किसानका नाममा जग्गा पास गराइदिएबापत बिघामा ६ कट्ठा पाउने यो समूहको सपना सर्वोच्चको फैसलाले तुहाइदियो। ‘फैसलापछि हामी पूरै असफल भयौं, किसानका नाममा ३ करोड रुपैयाँ डुब्यो।’

तर उनले अधिकांश किसानले सक्कली मोही पुर्जा फिर्ता लगिसकेको दाबी गरे। जग्गा पास गराइदिने भन्दै खोलिएको कार्यलयमा सबै किसानको कागजात रहेको र ती कागजात अधिकांश किसानले लगिसकेको उनको भनाइ छ।’ एकदुई किसानले मात्रै पाउनुभएको छैन होला, ती कागजात पनि कार्यालयको पुरानो बाकसमै होलान्,’ उनले भने, ‘फेरि त्यो कागज भूमिसुधारमा निवेदन दिएपछि त सक्कली नै आइहाल्छ नि, यसमा डराउनुपर्ने कुरै छैन।’ तर किसानहरू भने भुमिसुधारले सक्कली कागज नपाइने जनाउँदै आएको बताउँछन्। ‘म सक्कली कागज निकाल्छु भनेर गएको थिएँ,’ टेकबहादुरले भने, ‘भूमिसुधारले पहिलेकै जस्तो सक्कली कागजात नपाइने जवाफ दियो।’

प्रकाशित: ७ असार २०७६ ००:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App