१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ब्रुमर सञ्चालन गर्न एक साता लाग्ने

काठमाडाैं- काठमाडौं महानगरपालिकालाई चीनको छेन्दु नगरले प्रदान गरेको दुई थान ब्रुमर (यान्त्रिक कुँचो ) सञ्चालन गर्न अझै एक साता लाग्ने भएको छ। गत आइतबार चीनको छेन्दु नगरले कामपालाई ब्रुमर प्रदान गरेको थियो। ब्रुमर सञ्चालन गर्ने रुट, त्यसको चालक र सहचालक तथा केही यन्त्र जडान गर्नुपर्ने भएकाले यसको सञ्चालनमा अझै केही समय लाग्ने कामपाले जनाएको छ।

यो ब्रुमर युरो पाँच मापदण्डका हुन्। महानगरको मेकानिकल शाखाका प्रमुख प्रमोद डङ्गोलका अनुसार ८ दशमलव ६ मिटर लम्बाइ र ३ दशमलव ५ मिटर चौडाई भएका त्यो ब्रुमरमा दुई वटा इञ्जिन छन्।  ब्रुमर चलाउने इञ्जिनको क्षमता ११८ किलोवाट छ । १५ दशमलव ८ मेट्रिक टन तौल भएका दुबै बु्रमरले ७ घनमिटर धुलो सङ्कलन गर्ने र नौ  घनमिटर पानी बोक्ने क्षमता राख्दछ।

सडक सफाइ गर्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पतिङ्गर तान्ने गर्दछ। ९८ किलोमिटर प्रतिघण्टा गति भएको यसले सडकको अवस्था हेरी प्रति घण्टा ३ किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सक्छ। यस ब्रुमरको मूल्य रु दुई करोड २७ लाख ३७२ रहेको छ। आइतबार छेन्दु नगरका उपप्रमुख निउ छिङ्पाओेले महानगरका मेयर विद्यासुन्दर शाक्यलाई ब्रुमरको साँचो हस्तान्तरण गरेका थिए।

यसैगरी गत वैशाख २८ गतेदेखि इटलीबाट ल्याइएको पाँच वटा ब्रुमर सञ्चालन भइरहेको कामपाले जनाएको छ। चीनबाट ल्याइएको दुई बु्रमरसहित अब सात ब्रुमर सञ्चालन हुने कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।  
 
उनका अनुसार हरेक दिन साँझ आठ बजेदेखि विहान चार बजेसम्म पाँच वटा रुट निर्धारण गरी बु्रमर सञ्चालन हँदै आएको छ। उक्त ब्रुमर दैनिक दशदेखि १२ टनसम्म धुलो सङ्कलन गर्दै आएको छ । सङ्कलन गरिएको उक्त धुलो टेकुमा व्यवस्थापन गरिएको छ।

'सञ्चालनमा रहेका पाँच बु्रमरबाट अहिलेसम्म करीब ४०० टन धुलो सङ्कलन गरिसकेको छ', प्रमुख श्रेष्ठ भने 'सडकमा रहेका खाल्डाखुल्डीे प्रमुख समस्याको रुपमा देखिएको छ। यसको समाधानका लागि सडक विभागलाई आग्रह गरिएको छ।' नियमित पर्ने पानी र खाल्डाखुल्डीका कारण ब्रुमर सञ्चालनमा समस्या देखिएको उनले बताए।

उक्त यान्त्रिक कुँचो रु १० करोड ८० लाखमा ल्याइएको हो। पाँच ब्रुमरमध्ये चार १६ टन क्षमता बराबरका तथा एउटा छ टन क्षमताको छ। ती ब्रुमर दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमताको रहेका छन्।

यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन्।

खाल्डाखुल्डी र भूकम्पका कारण भत्किएका संरचना पुनःनिर्माणको कामले पनि समस्या भएको विभागले जनाएको छ। मुख्य सडक सुन्धारास्थित धरहरा, दरबार हाइस्कुल, रानीपोखरी र बसपार्कमा विभिन्न स्थानबाट आएका सवारी साधनले ल्याएका हिलो माटोका कारण सफा गर्न समस्या भएको महानगरको वातावरण विभागले जनाएको छ।

कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र महानगरकोे जिम्मेवारीमा पर्दछन् भने अरु सडक विभागको मातहतमा रहेको छ। रासस

प्रकाशित: ६ असार २०७६ ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App