१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तरकारी विकास केन्द्रमा आधुनिक प्रविधि

तरकारी बाली विकास केन्द्र ललितपुरको अवलोकन गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनाल, सचिव युवकध्वज जिसीलगायत सरकारी अधिकारी। तस्बिर: नागरिक

काठमाडौं - किसानले परम्परागत प्रविधि प्रयोग गरेर खेती गरिरहेका बेला यहाँको एक सरकारी निकायले तरकारी बालीमा नयाँ प्रविधि विकास गरेर कार्यान्वयनमा ल्याएको छ। तरकारी बाली विकास केन्द्र ललितपुरले ‘स्मार्ट’ प्रविधि प्रयोग गरेर बिउसहित तरकारीका बिरुवा उत्पादन गर्दै आएको छ। मोबाइल एप्सको माध्यमबाट तरकारी फार्ममा आवश्यक पानी दिने, तापक्रम, आद्रता नियन्त्रण गर्ने, नर्सरीको अनुमगन गर्ने काम गर्छ। ग्रिन हाउसमा आधुनिक प्रविधि प्रयोग गरेको केन्द्रका प्रमुख अरूण काफ्लेले बताए। ‘तरकारीमा नयाँ प्रविधि प्रयोग गरेका छौं,’ उनले भने, ‘समयसापेक्ष रुपमा प्रविधिलाई किसानमा विस्तार गर्न सकिन्छ।’

इन्टरनेटमार्फत अत्याधुनिक प्रविधि प्रयोग गरेर ग्रिन हाउसभित्रको नर्सरीमा बिरुवा उत्पादन गर्दै आएको छ। फार्मले बिहीबार प्रथम फार्म दिवस मनाएको छ। दिवसको अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले कृषिमा प्रविधि प्रयोग बढेको बताए। कृषिमा अनुसन्धान बढाउनु पर्नेमा मन्त्री खनालले जोड दिए। ‘नेपालमा ग्रिन हाउसमा प्रविधि प्रयोग बढिरहेको छ,’ उनले भने, ‘प्रविधिलाई किसानसम्म पु-याउनु पर्छ।’

कार्यक्रममा मन्त्रालयका सचिव युवकध्वज जिसीले प्रविधि विस्तार भइरहेको बताए। उनले कृषिमा आधुनिकीकरण गर्नुपर्ने बताए। ‘प्रविधिलाई तल्लो तहसम्म पु-याउनु पर्छ,’ उनले भने, ‘प्रविधि विस्तारमा ध्यान दिनुपर्छ।’ केन्द्रले प्रविधि विकाससँगै तरकारीको बिउ उत्पादन गर्दै आएको छ।डेमोफार्ममा सोलार तथा विद्युतीय हाइब्रिड प्रविधिबाट चल्ने फोहरा, तापक्रम तथा आद्रता नियन्त्रण गर्न सक्ने प्रविधि प्रयोगमा ल्याइएको छ। केन्द्रमा इन्टरनेटको पहुँच भएको ठाउँमा बसेर ग्रिन हाउस अनुगमन गर्न सकिने प्रणाली जडान गरिएको छ। ग्रिन हाउसभित्र डिभाइस, पानीको ट्यांक, एयर कन्डिसन जडान गरिएको छ। यो प्रविधि प्रयोग गरेर लौका, कांक्रा, करेला, फर्सी, घिरांैलाका बिरुवा उत्पादन गरिन्छ।

नर्सरीमा नपुगी इन्टरनेट सुविधा भएको जुनसुकै ठाउँबाट हिटिङ, कुलिङ, इरिगेसन गर्न सकिने नयाँ प्रविधि प्रयोगमा ल्याएर कृषि क्षेत्रलाई स्मार्ट बनाइएको प्रमुख काफ्लेले बताउँछन्। ‘मोबाइलको एप्सबाट सबै नियन्त्रण र थपघट हुन्छ,’ काफ्लेले भने, ‘जहाँ बसेर पनि नर्सरीको रेखदेख गर्न सकिन्छ।’ फार्ममा खुमल ज्यापु काउली, मिनो अर्ली मूला, सिर्जना हाइब्रिड गोलभेडा, चम्सुर स्थानीय ,पाटने पालुंगो, चौमासे, त्रिशुली र झाँगे सिमीको उन्नत बिउ उत्पादन गरेको छ। तरकारी बेर्ना उत्पादन, व्यावसायिक खेती गर्न काठमाडौं उपत्यका र आसपासका किसानलाई सिजनअनुसार काउली, बन्दा, ब्रोकाउली, रायो, प्याज, गोलभेडा, खुर्सानी, भन्टा, कुरिलो र स्विसचार्ड लगायत बेर्ना उत्पादन गरी  सरकारी दररेटमा वितरण गर्दै आएको छ। फार्मले १० हजारभन्दा बढी किसानलाई तरकारी खेती सम्बन्धी प्रविधिबारे जानकारी गराएको जनाएको छ।

सहरी तरकारी खेती प्रवद्र्धन गर्न माटो बिनाको खेती प्रविधिलाई प्रोत्साहित गर्दै आएको छ। फार्मको आधुनिकीकरण, बेमौसमी तरकारी, तरकारी बेर्ना तथा बीउ उत्पादनमा पूर्वाधार विकास तथा समयसापेक्ष सूचना तथा सञ्चार प्रविधिको उपयोगमार्फत फार्मको आधुनिकीकरण तथा सिकाइ थलोको रुपमा विकास गरेको जनाएको छ।

फार्ममा विगत तीन वर्षदेखि तरकारी बीउ उत्पादनमा प्लास्टिक मल्च र बिना मल्चको प्रयोग गरी बिउ उत्पादन गरिएको छ। यस वर्ष तीन हजार तीन सय २३ ग्राम सृजना गोलभेडा बिउ उत्पादन गरिएको छ। फार्म व्यवस्थापन गर्न सफ्टवेयरको प्रयोग गरी विभिन्न २४ वटा प्लटमा विभाजन गरिएको छ। फार्मले कृषि क्षेत्रमा योगदान पु¥याउने कर्मचारी, किसानलाई सम्मान गरेको थियो।

प्रकाशित: ६ असार २०७६ ०४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App