१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गर्मी बढेसँगै रगत अभाव

चितवन  – जिल्लामा गर्मी बढेसँगै रगतको अभाव देखिएको छ। क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका अनुसार अहिले केन्द्रमा आकस्मिक बाहेकका बिरामीका लागि आवश्यक पर्ने रगत अभाव भएको हो।

केन्द्र प्रमुख रमेशकान्त पौडेलका अनुसार जिल्लामा दैनिक एक सय ५० युनिट रगतको आवश्यक पर्ने भए पनि अहिले केन्द्रमा ७० देखि ७५ युनिट मात्रै मौज्दात रहेको छ। गर्मी बढेसँगै रगतको आवश्यकता हुने बिरामीको चाप बढ्ने तर रक्तदान कार्यक्रम नहुने हुँदा रगतको अभाव देखिएको हो। अस्पतालमा आएका बिरामीका आफन्त र स्वयम्सेवी रक्तदाताको भरमा केन्द्र सञ्चालन गर्नुपरेको पौडेलको भनाइ छ।

यो समयमा क्याम्पसहरूमा परीक्षा हुनु, गर्मी बिदा हुनु, रक्तदातामा उत्साह नहुनु, गर्मीका कारण शरीर शिथिल हुनु, राजनीतिक दलको क्रियाशीलता कम हुनुलगायत कारण रगतको समस्या देखिने गर्छ। जिल्लामा दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल, भरतपुर अस्पताल र २० भन्दा बढी निजी अस्पतालहरू छन्। ती अस्पतालबाट दैनिक शल्यक्रियाका लागि रगतको माग हुँदै आएको छ।

सङ्कलन गरेर राखिएकोभन्दा ताजाको माग भएपछि केन्द्रलाई रगत दिन समस्या परेको, ताजा सेतो रगतको अभाव भएको पौडेलले बताए। रगत नपाएर बिरामी मर्ने अवस्था नभए पनि जुनसुकै समयमा समस्या आउन सक्ने पौडेलको भनाइ छ। बिरामीलाई रगत आवश्यक परे रगत दिने व्यक्ति सँगै लैजानुपर्ने बाध्यता छ।

चितवनमा मात्रै नभएर अहिले देशभर नै रगतको अभाव देखिएको पौडेलले जानकारी दिए। केन्द्रले चितवन, धादिङ, नवलपुर, नवलपरासी, बारा, पर्सा, तनहुँ, लम्जुङ, गोर्खालगायत १२ जिल्लाबाट रगत संकलन गर्दै आएको छ। जिल्लाका अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्या उच्च रहेकाले रगतको माग बढिरहेको छ।रासस

प्रकाशित: ६ असार २०७६ ०२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App