१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘यौनधन्दा’ नियन्त्रण गर्न दबाब

इटहरी– छ वर्षअघिसम्म इटहरीमा खुलेका बग्रेल्ती क्याबिन–रेष्टुरेन्टसँगै केही होटलमा महिलालाई राखेर यौनधन्दा सञ्चालन गरेको व्यापाक गुनासो प्रहरीसमक्ष आउने गथ्र्यो। प्रहरीले बेलाबेलामा होटल निगरानी गर्दा पनि कुनै सुधार हुन सकेको थिएन।

२०७० जेठबाट केही महिनासम्म प्रहरीले पूरै कडाइ ग-यो। त्यतिबेला इटहरी तथा वरपरका केही होटलमा फस्टाएको यौन व्यापारविरुद्ध प्रहरीले अप्रेसन थालेर सात जना सञ्चालकलाई मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा नै चलाएको थियो।

त्यो बेला इटहरीका डिएसपी विनोद शर्माले यौनधन्दा सञ्चालन गरेको आरोपमा सञ्चालकलाई नै पक्राउ गरी मुद्दा चलाएका थिए। एकपटक प्रहरीले सञ्चालकलाई मुद्दा चलाएपछि यौनधनदा सञ्चालनका लागि केहीले रुप परिवर्तन गर्न थाले। सञ्चालकले श्रीमती बनाउने बहानामा यौनकार्य गर्न लगाउने गरेको पनि भेटिएको थियो। त्यस्तो गर्नेलाई पनि प्रहरीले कारबाही ग-यो।

प्रहरीले इटहरी क्षेत्रमा यौनधन्दालाई रोक्न सक्रियता देखाएपनि केही सीमित सञ्चालकले अनेक उपाय रचेर बेलाबखत गरेका कार्य पनि बाहिरिँदै गए। नयाँ उपाय रच्ने क्रममै भारत दार्जिलिङका युवतीको समूह र यौनधन्दामै संलग्न महिलाले चिनेजानेका किशोरी तथा महिलालाई केही निश्चित दिनका लागि झिकाएको पनि प्रहरीले सुइँको पायो। तिनीहरुलाई पनि प्रहरीले पत्ता लगाएर मुद्दा नै चलायो।

निरन्तर प्रहरी सक्रियता हुँदा अन्तिममा युवतीलाई सम्पर्क गरी सञ्चालकले इटहरी बाहिर लाने गरेको बेला बखत गुनासो आउने गरेपछि त्यसमा प्रहरीले पनि निगरानी राखेर पक्राउ गर्न थाल्यो। पछिल्लो समय इटहरीमा यौनधन्दा प्रहरीलार्ई छलेर केही सीमित होटल सञ्चालकले गर्ने गरेको गुनासो सुनिने गरेको छ।

गुनासोकै क्रममा पछिल्लो समय पूर्व–पश्चिम राजमार्गले छोएको इटहरी वडा नं. १६ र १७ मा पर्ने लविपुरचोकदेखि बालग्रामचोकदेखि पश्चिमतर्फ सडकको दुवैतर्फ रहेका होटलमा यौनधन्दा गराउने गरेको गुनासो गाउँलेले प्रहरीसमक्ष गर्ने गरेका छन्। गाउँलेको गुनासकै आधारमा इलाका प्रहरी कार्यालय पकलीले वडा नं. १६ र १७ मा सञ्चालित होटलमा बेलाबेखत निगरानी गर्ने गरेको इन्सपेक्टर जितेन्द्र दाहालले बताए। यी दुई वटा वडामा सञ्चालित होटलबाट प्रहरीले जेठ महिनामा १२–१३ जोडीलाई पक्राउ गरिसकेको छ।

‘होटलमै यौनधन्दा सञ्चालन गर्नेभन्दा पनि बाहिरबाट ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड आउने गरेको पाइएको छ,’ इन्सपेक्टर दाहालले भने, ‘पाँच दिनअघि त स्कुले छात्रा नै होटलमा चेक गर्दा ब्वाइफ्रेन्डसँग भेटिइन्।’ कक्षा नौ मा पढ्ने ती स्कुले छात्रालाई अभिभावकको जिम्मा लगाइसकिएको छ। यसरी बेला बेलामा सामाजिक विकृतिका घटना हुने गरेकाले गर्दा यस क्षेत्रका गाउँलेले बुधबार सार्वजनिक भेला डाके। विकृति–विसंगति नियन्त्रण गर्न आयोजित भेलामा प्रदेश सांसद लिलम बस्नेतले एउटा होटल सञ्चालकले गलत गर्दा समग्रलाई गलत दृष्टिकोणले नहेर्न सुल्झाउँदै दोषीलाई कानुनी कारबाही गर्नुपर्ने बताए।

सोही क्रममा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले कसैले पनि गलत कार्य अवलम्बन गर्न नहुने बताए। ‘छ वर्षअघि जसरी विनोद शर्मा तत्कालीन प्रहरीका डिएसपीले होटल सञ्चालकलाई कारबाही गरे, अब पनि दोषीलाई त्यसरी नै कारबाही गर्नुपर्छ।’ उनले निर्दोषलाई भने दुःख दिन नहुने बताए।

सोही भेलामा इटहरीका प्रमुख मेयर द्वारिकलाल चौधरीले आफ्नो घरमा पनि होटललाई नै भाडा दिए पनि गलत कार्यलाई प्रोत्साहन नगर्ने बताए। तर, उनले महिलालाई भने अशिष्ट र अशोभनीय शब्द प्रयोग गरे।

भेलामा होटल सञ्चालक टीकादेवी नेपालले सबै होटललाई सञ्चालकलाई एउटै दृष्टिकोणले हेरिनु गलत भएको बताइन्। ‘कतिपय अवस्थामा मेरै होटलमा आएर प्रहरीले नौ बजे राति बन्द गर, भन्दै हकार्ने गर्छ। तर, कतिपय होटलमा भने खासै चासो दिइँदैन,’ उनले भनिन्। पार्वती सापकोटाले होटल तथा लज भन्नेबित्तिकै अनैतिक कार्य गर्ने भनेर नबुझिकन त्यसको सत्यतथ्य पत्ता लगाउनुपर्ने बताइन्। प्रहरी निरीक्षक दाहालले भने सामाजिक विकृति विसंगति नियन्त्रणका लागि प्रहरी सक्रियतापूर्वक लाग्ने वचन दिए।

पछिल्लो समय इटहरी बजार क्षेत्र तथा आसपासमा क्षेत्रमा यौनधन्दा न्यून हुने भएको प्रहरीले जनाउँदै आएको छ। तर, मुख्य बजारभन्दा केही पश्चिमतर्फ रहेको राजमार्गले छोएको ठाउँमा बल्झिन सुरु भएको जानकारी दिइयो।

प्रकाशित: ५ असार २०७६ ०६:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App