१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशी र चिनियाँ कामदारबीच झडप

बेइजिङ – चीनको सहयोगमा बंगलादेशमा निर्माण भइरहेको एक ‘पावर प्लान्ट’ना चिनियाँ र बंगलादेशी कामदारबीच झडप भएको छ। सयौं संख्यामा रहेका चिनियाँ तथा बंगलादेशी कामदारबीचको झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको बताइएको छ।

बंगलादेशको दक्षिणी जिल्ला पातुआखलीमा भएको कामदारबीचको झडपका क्रममा एक चिनियाँ कामदारको मृत्यु भएको बंगलादेशी प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ऊर्जा परियोजनामा काम गरिरहेका बेला एक बंगलादेशी कामदारको मृत्यु भएपछि हिंसा भड्किएको थियो। आफ्ना कामदारको मृत्यु भए पनि चिनियाँ पक्षले घटना लुकाउन खोजेको स्थानीय कामदारले आरोप लगाएपछि हिंसा मच्चिएको थियो।

दुई पक्षबीच भएको झडप नियन्त्रणका लागि एक हजारभन्दा बढी सुरक्षा अधिकारीको आवश्यकता परेको प्रहरीले बताएको छ। पछिल्ला वर्ष चिनियाँ कम्पनीहरुले दक्षिण एसियाली राष्ट्र बंगलादेशमा ठूलो मात्रामा लगानी गरिरहेका छन्। उनीहरुले पुल, सडक र पावर प्लान्ट निर्माणमा लगानी गरिरहेका छन्।

ठूलो संख्यामा रहेका चिनियाँ कामदारहरुको बेलावखतमा स्थानीय समुदायसँग झडप हुने गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताउने गरेका छन्। राजधानी ढाकाबाट करिब दुई सय किलोमिटर टाढा रहेको पातुआखलीमा रहेको सो पावर प्लान्टमा दुई हजार चिनियाँ नागरिकसहित छ हजार कामदार काम गरिरहेका छन्।

मंगलबार राति एक बंगलादेशी कामदार काम गर्दा गर्दै उचाइबाट खसेर मृत्यु भएसँगै दुई पक्षबीच विवाद सुरु भएको र त्यसपछि हिंसामा परिणत भएको स्थानीय प्रहरी प्रमुख मोइनुल हसनले बिबिसीसँग बताए। हिंसात्मक झडपमा परी एक दर्जन कामदार घाइते भएको र त्यसमध्ये आधा चिनियाँ कामदार रहेको प्रहरी स्रोतले बताएको छ। टाउकोमा गहिरो चोट लागेका एक जना चिनियाँ कामदारको अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको थियो।

घटनाबारे अनुसन्धान सुरु भएको क्षेत्रीय प्रशासक राम चन्द्र दासले बताएका छन्। हिंसामा संलग्न कसैलाई पनि पक्राउ नगरिएको र अहिले स्थिति शान्तपूर्ण रहेको दासलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। चिनियाँ लगानीमा सञ्चालित परियोजनामा कार्यरत कामदार र स्थानीयबीच यसअघि पनि विभिन्न समयमा तनाव हुने गरेका थिए।

प्रकाशित: ५ असार २०७६ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App