१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्लस–टुको रिजल्ट पर्खन एमबिबिएस, बिडिएसको परीक्षा स्थगित

धरान - कक्षा १२ (प्लस–टु) परीक्षाको रिजल्ट आउन ढिलाइ हुँदा नेपाली विद्यार्थीले परीक्षा दिन नपाउने अवस्था बनेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्डर ग्र्याजुएट (एमबिबिएस÷बिडिएस) को प्रवेश परीक्षा स्थगित गरेको छ।

एमबिबिएस/बिडिएसको परीक्षा स्थगित भए पनि पोस्ट ग्र्याजुएट (एमडी÷एमडिएस÷एमएस) को परीक्षा भने यो शनिबार (असार ७) निर्धारित मितिमा नै हुनेछ। केही दिनअघि शिक्षामन्त्री एवं चिकित्सा शिक्षा आयोगका सहअध्यक्ष गिरिराजमणि पोखरेल र बिपी प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारबीच परीक्षाबारे छलफल भएको थियो। मन्त्री पोखरेल र उपकुलपति रौनयारबीच प्लस–टुको रिजल्ट आएपछि नेपाली विद्यार्थीलाई पनि प्रवेश परीक्षामा सामेल हुने वातावरण तयार गर्नेबारे छलफल भएको थियो। ‘मन्त्रीज्यू चिकित्सा आयोगका सहअध्यक्ष पनि हुनुहुन्छ। उहाँसँग छलफल हुँदा नेपाली विद्यार्थी पनि परीक्षामा सहभागी हुन पाउने अवस्था बनाउन प्लस–टुको रिजल्ट पर्खन भन्नुभयो,’ उपकुलपति डा. रौनियारले भने, ‘यो कुरालाई सकारात्मक रूपमा लिँदै प्लस–टुको रिजल्ट नआएसम्म युजी (अन्डर ग्र्याजुएट) को परीक्षा स्थगित ग¥यौं।’

उपकुलपति रौनियारका अनुसार साउन दोस्रो साता प्लस–टुको रिजल्ट आउने अपेक्षा गरिएको छ। प्लस–टुको रिजल्ट आएपछि पुनः फारम खुला गरिनेछ। त्यसबेला अहिले फारम भरिसकेका विद्यार्थीलाई पनि मान्यता दिइने रौनियारले बताए। ‘यो निर्णयले नेपाली विद्यार्थी पनि युजीको प्रवेश परीक्षामा सहभागी हुन पाउँछन्,’ उनले भने। यसअघि प्रतिष्ठानले जुलाई २८ मा अन्डर ग्र्याजुएटको प्रवेश परीक्षाको मिति तोकेको थियो।

सरकारले चिकित्सा शिक्षाको प्रवेश परीक्षा केन्द्रीकृत रूपमा लिने गरी चिकित्सा शिक्षा आयोग गठन गरेको छ। तर, आयोगले गत वर्ष पनि परीक्षा लिन सकेन। यो वर्ष पनि आयोगले परीक्षा लिन नसकेपछि प्रतिष्ठानलाई नै परीक्षा लिन पत्राचार गरेको थियो। सोहीअनुसार प्रतिष्ठानले प्रवेश परीक्षाको प्रोस्पेक्टस प्रकाशित गरेर परीक्षाको मितिसमेत तोकिसकेको थियो। प्रतिष्ठाका सहप्रवक्ता डा.अशोक ऐरका अनुसार परीक्षा समितिले मंगलबार अर्को निर्णय नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। सो निर्णय बुधबार प्रतिष्ठानले आफ्नो वेबसाइटमा प्रकाशित गरिसकेको छ। ‘समितिले निर्णय गरेपछि हामीले आज (बुधबार) सूचना वेभसाइटमा राखिसक्यौं,’ उनले भने, ‘पोस्ट ग्र्याजुएटको प्रवेश परीक्षा निर्धारित समयमा नै हुन्छ।’

उनका अनुसार पोस्ट ग्र्याजुएटमा सरकारी स्पोन्सर सिटमा सर्वोच्च अदालतको आदेश अनुसार मेरिटको आधारमा नै छानिने निर्णयसमेत भएको छ। यसअघि, प्रतिष्ठानमा भने अलग्गै व्यवस्था थियो। विगतमा लोकसेवा आयोगबाट जागिर खाइरहेका चिकित्सकहरुले पहिलो प्राथमिकता पाउँथे भने दोस्रोमा सेना र प्रहरीका जागिरेले प्राथमिकता पाउँथे। त्यसपछि, अन्य प्रतिष्ठान वा सरकारी अस्पतालका डाक्टरले प्राथमिकता पाउँथे। ‘अब यो सिटमा पनि मेरिटको आधारमा नै छानिनेछ,’ सहप्रवक्ता ऐरले भने।

संसदीय उपसमितिमा शुल्कबारे छलफल
संघीय संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिले अन्डर ग्र्याजुएट (एमबिबिएस÷बिडिएस) को भर्ना शुल्कमा एकरूपता ल्याउन विभिन्न मेडिकल कलेजहरुसँग छलफल गरेको छ।

उपसमितिले सबै मेडिकल कलेजहरु बोलाएर शुल्कमा एकरूपता ल्याउन छलफल गरेको बिपी प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारले जानकारी दिए। उनका अनुसार बुधबार अन्तिम पटक काठमाडौं विश्वविद्यालय र बिपी प्रतिष्ठानसँग छलफल भएको थियो। ‘सबै मेडिकल कलेजसँग छलफल भइरहेको थियो, आज हामी र केयुबीच अन्तिम छलफल भयो,’ रौनियारले भने, ‘कति शुल्क राख्दा उचित हुन्छ भनेर छलफल थियो, मैले हामी सरकारले तोकेअनुसार नै गर्छाैं भनें।’

उपकुलपति रौनियारले बिपी प्रतिष्ठानलाई क्षमताअनुसार अन्डर ग्र्याजुएटको कोटा वृद्धि गरिदिन पनि आग्रह गरेको बताए। हाल प्रतिष्ठानलाई सयवटा मात्र कोटा छ। त्यसमध्ये ३३ वटा पूर्ण निःशुल्क छ भने ३७ वटा आंशिक र ३० वटा विदेशी कोटा छ। ‘मैले हाम्रो क्षमताअनुसार सिट पाउनुपर्छ, यसका लागि मेडिकल काउन्सिलसहितको टिम अवलोकन गरिदिनुस् भनेको छु। बिपीलाई आत्मनिर्भर पनि बनाउनु छ,’ उनले भने।

प्रकाशित: ५ असार २०७६ ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App