१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

यसरी उत्रिए जनआन्दोलन बिर्साउने गरी काठमाडौंमा प्रदर्शनकारी

सुभद्रा धिताल

काठमाडौं– असारको उखरमाउलो गर्मी। तातिएको काठमाडौंका कालोपत्रे सडक। सयौंको संख्यामा उत्रिएका मान्छे देख्दा ठ्याक्कै जनआन्दोलनको झल्को दिन्थ्यो। २०६२/०६३ सालको जनआन्दोलनमा जतिबेला सरकारबिरुद्ध नागरिकहरु होमिएका थिए, आज ठिक काठमाडौंले त्यस्तै मान्छेहरु उतारेको छ, जहाँ सरकार विरोधी पोस्टर लिएर नारा घन्काइरहेका छन्।

आफ्नो मौलिकता र परम्परा बचाउनका लागि नेवार समुदाय अहिले एक जुट भएर राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको नेतृत्वमा खबरदारीसभा गरिरहेका छन्। सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयकविरुद्ध नेवार समुदायले राजधानीका विभिन्न ठाउँमा सभा गरेका हुन्। सरकारले मंगलबार गुठी विधेयक फिर्ता लिएपनि खारेजीको माग गर्दै आन्दोलन गरेका हुन्।

प्रदर्शनका क्रममा ‘हाम्रो गुठी कि तिम्रो एनजिओ? किन दर्ता गर्ने‘, ‘सांस्कृतिक अतिक्रमण बन्द गर’, ‘सम्पदा मास्न पाईदैन्, गुठीयारहरुको अधिकार सुनिश्चतता गर’ जस्ता विभिन्न नारासहितको पम्पलेट खबरदारीसभामा सहभागी भएका थिए। बाटो र गुठीलाई बचाउनुपर्छ भन्दै मध्य गर्मीको वास्ता नगरी प्रदर्शनमा सामेल भएकी छिन् ललितपुर थेचुवा निवासी हेर कुमारी मर्हजन। उनका अनुसार गुठी विधेयकले नेवार समुदायलाई मर्कामा पारेको छ। यस्तै हलचोकका स्थानीय शेरबहादुर श्रेष्ठ भन्छन् ‘सरकारले गुठीहरु सबै आफ्नो नियन्त्रणमा लिन खाजेको छ, सरकारलाई गुठीबारे थाहाँ नहुँदा पनि यसलाई मास्नका निम्ति नयाँ विधेयक ल्याएको हो।’ उनका अनुसार गुठी फिर्ता गरेर सरकारले सम्पूर्ण नेवार समुदायलाई भ्रममा पार्न खाजेको छ। विधेयकका नाममा सरकारले सबै गुठी आफ्नो स्वामित्वमा राखेर यसमा पर्ने जग्गा जमिनहरु आफ्नो सञ्जालमा पठाउने योजना गरेको उनले आरोप लगाए।

यस्तै, चापागाउँबाट विरोध सभामा आएकी रामकेशरी महर्जन भन्छिन्, ‘परापूर्व कालदेखि आफ्नो बाउ बाजेले चलाउँदै आएका चाडपर्व र जात्राहरु सरकारले नष्ट गर्न खोजेको छ, हाम्रो सम्पदालाई हामी एक जुट भएर मात्र बचाउन सक्छौं भन्नका लागि यसमा सहभागी भएकी छु।’ चापागाउँकी सुनिता श्रेष्ठ पनि विधेयकको माध्यमबाट सरकारले आफुहरुको परम्परा, धर्म संस्कृति गुमाउने पो हो कि भन्ने आशंका व्यक्त गर्छिन्। यो गुठी विधेयकले नेवार समुदायको अस्तित्व नै खतरामा पुग्न सक्ने डरका कारण सभामा सहभागि हुन आएका उनीहरुको भनाई छ।

नेवार समुदायमा प्रचलित गुठी प्रथा करिब १६ सय वर्ष अघिदेखि चल्दै आएको छ। त्यति बेलाका अग्रजहरुले आफ्नो धार्मिक आस्था चलाउन र विभिन्न क्रियाकलापको पहिचानका लागि गुठी प्रथाको शुरुवात गरेको मान्यता नेवार समुदायको छ। त्यो बेला गुठी राख्ने स्रोत पैसा नहुँदा जग्गा जमिन नै थियो। त्यही जग्गाबाट उठेको पैसाले गुठीलाई चलाउने गरेको गुठीयारहरु बताउँछन्। गुठीको माध्यमबाट नै नेवार समुदायले चाडपर्व तथा जात्राहरु गर्छन्। मन्दिरमा देवाली अर्थात पुजारी राख्नलाई होस् या मान्छेको अन्तिम संस्कार गर्ने क्रियाकलाप, हरेक संस्कार सम्पन्न गुठीले नै गर्दै आएको छ।

नेपालमा रहेका सम्पूर्ण नेवार समुदायको मौलिकता र संस्कार यही गुठीमा गाभिएको पाटन सुन्धाराका कविन्द्रलाल प्रधान बताउँछन्। उनका अनुसार सरकारले सदनमा प्राधिकरणको विधेयक अन्र्तगत राखेको गुठी विधेयक नेवार समुदायको मूल्य मान्यता भन्दा निकै विपरित छ। उनी गुठी प्रथालाई नै तहसनहस पार्ने गरि ल्याइएको विधेयकको खिलापमा आवाज उठाउन माईतीघरमा आएका हुन्। बाजेले अन्तिम संस्कारको काम सम्पन्न गर्नका लागि आफ्नो व्यक्तिगत जग्गा मलामी गुठीलाई दान दिएका थिए। त्यहीं जग्गाबाट आएको पैसाले समुदायलाई चलाई राखेको र गुठी प्रथा व्यक्तिगत नभई पुस्तामा हस्तान्तरण हुने प्रक्रिया भएको प्रधानको भनाई छ।

यस्तै जात्रा पर्व चलाउनका लागि पनि गुठीको आयस्रोत नै उपयोगी हुने उनी बताउँछन्। तर सरकारले आफ्ना गुठीहरुमा गिद्धे नजर लगाएको भन्दै आक्रोशित हुन्छन् प्रधान। यो एकदमै संवेदनशिल विषय रहेको र सरकारले बच्चाको खेल जस्तै नठानी परिपक्व भएर लाग्न आग्रह गर्छन्।

गुठी विधेयक पारित भएमा आफुहरुले मलामी जाँदासमेत प्राधिकरणसँग अनुमति लिनुपर्ने र मनाईने चाडपर्व तथा जात्रा पनि अस्तव्यस्त भई लोप हुन सक्ने खतराको महशुस यति बेला नेवार समुदायले गरेको गुठीयारहरुको बुझाइ छ। यस्तै यो विधेयकको बहानामा सबै नेवारहरु एक जुट हुने अवसर मिलेकोमा खुसी पनि देखिन्छ, यो समुदाय।

केहि दिनअघि एक सांसदले आन्दोलनकारी भाडामा आएको भन्ने भनाईप्रति गुठीयारहरु आक्रोश पोखिरहेका छन्। आफुहरु भाडामा नभई स्वस्फुर्त आएको बताउँछन् आक्रोशित आन्दोलनकारीहरु। प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै गुठीयारहरुलाई सामन्तवादको स्वरुप भनेकोमा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामाको मागसमेत राखेका छन्।

यस्तै प्रधानमन्त्रीविरुद्ध विभिन्न नाराबाजी समेत उनीहरुले गरेका थिए। गुठीयारहरुले गुठी कुनै सामन्तको नभई परम्परा र संस्कृतीको साधन रहेको बताउँछन्। माइतीघर मण्डलामा गुठी विधेयक खारेजको माग राख्दै आन्दोलन गरेका नेवार समुदायहरु सिन्धुपाल्चोक, दोलखा, नुवाकोटलगायतका स्थानबाट पनि आएका थिए। प्रर्दशनकारीहरुले शान्तिपूर्ण रुपमा सभा गरेपनि यसले काठमाडौंको यातायात तथा ट्राफिक व्यवस्थालाई भने असर गरेको छ। माइतीघर रुट हुँदै आवतजावत गर्ने सर्वसाधरणहरु भने सवारी साधन चलेपछि अलपत्र परेका थिए।

प्रकाशित: ४ असार २०७६ १३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App