१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महाअभियाेगबारे अध्ययन गरेर मात्र निर्णय लिन्छाैः शशांक

इनरुवा– नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले संविधान संशोधन गरेर अहिलेका सबै समस्याको समाधान खोज्नुपर्ने बताएका छन्।

सुनसरी सदरमुकाम इनरुवामा नेपाली काँग्रेसले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन आइपुगेका बेला प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

महामन्त्री कोइरालाले मधेसको माग सम्बोधन नगरी संविधान कार्यान्वयनमा समेत चुनौती रहेकाले सबै दल मिलेर संविधान संशोधन गरेर अगाडि बढनुको विकल्प नरहेको बताए।

उनले प्रमुख तीन दल मिलेमात्रै दुई तिहाइ पुग्ने भएकाले सबैको स्वीकार्य हुनेगरी संविधान संशोधन गर्नुपर्ने तर्क गरे। उनले संविधानलाई सबैको अपनत्व हुनेगरी संशोधन नगरे संविधान कार्यान्वयन जटिल हुने र भएको उपलब्धिसमेत गुम्ने खतरा रहेको बताए।

नेता कोइरालाले प्रान्तीय सङ्ख्या बढाएर वा अहिलेकै सात प्रदेशलाई कायम राखी सीमाङ्कन हेरफेर गर्नुपर्ने औँल्याए। उनले विसं २०७४ भित्र तीनवटै निर्वाचन गर्न सम्भव रहेको दाबी गर्नुहँुदै यसका लागि राजनीतिक इमान्दारिता र इच्छा शक्तिको आवश्यकता रहेको उल्लेख गरे।

संविधान संशोधनको कुरा ठूला तथा विकसित मुलुकले समेत गरेको चर्चा गर्दै नेपालको संविधान पनि संशोधन गर्न सकिने उल्लेख गरे। त्यसका लागि नेपाली काँग्रेसले छठपछि प्रत्येक जिल्लामा केन्द्रीय सदस्य खटाएर जनताको मत बुझ्ने र के के कुरामा संशोधन गर्नु आवश्यक रहेको सुझाव आउँछ त्यसैअनुसारको संशोधन गर्ने उनले बताए।

नेता कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि लगाइएको महाअभियोगको अध्यनन नगरी काँग्रेसले निर्णय नलिने बताए। उनले अदालतमा विचाराधीन रहेको मुद्दा र प्रतिपक्षीसँग मिलेर माओवादीले महाअभियोग ल्याएका कारण आफूहरु त्यसमा अध्ययन नगरी प्रस्तावको पक्ष वा विपक्षमा नजाने प्रष्ट पारे।

कोइरालाले हिन्दू राज्यको वकालत गर्दै अाएकाे भए पनि शनिबारको कार्यक्रममा भने आफूहरु धर्मसापेक्ष र निरपेक्ष नभई स्वतन्त्र हुनुपर्ने पक्षमा रहेको बताए। रासस
 

प्रकाशित: १३ कार्तिक २०७३ १३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App