१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रेल्वे स्टेसनदेखि रेस्टुराँसम्म बन्द

सरकारी ट्रकबाट पानी थाप्नका लागि लामबद्ध स्थानीय। तस्बिर ः एजेन्सी

चेन्नाई – पानी भण्डार गरिएका प्रमुख चारवटा जलाशय क्षेत्र पूर्ण रूपमा सुकेपछि भारतको दक्षिणी सहर चेन्नाईमा पानीको चरम संकट उत्पन्न भएको छ। पानीको अभाव बढ्दै गएपछि सहरमा तात्कालिक समाधानका लागि नयाँ ठाउँमा जमिन खनेर पानी निकाल्ने काम भइरहेको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। पानी अभावका कारण रेल्वे स्टेसनदेखि रेस्टुराँ बन्द भएका छन् भने ट्यांरबाट सरकारले बाँड्ने पानी लिन सर्वसाधारण घण्टौंसम्म लाइन लाग्नुपर्ने अवस्था छ। ‘चेन्नाईलाई अब यो अवस्थाबाट वर्षाले मात्रै बचाउन सक्छ,’ एक अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

सन् २०११ को जनगणना अनुसार भारतको छैटौं ठूलो सहर चेन्नाईले पछिल्ला केही सातादेखि पानीको चरम अभाव भोगिरहेको छ। पानी भण्डारण गरिएका मानव निर्मित जलाशय क्षेत्र सुक्न थालेपछि सहरका धेरै होटल र रेष्टुराँ अस्थायी रूपमा बन्द गरिएको छ।

पानी जोगाउनका लागि रेल्वे स्टेसनहरुलाई वातानुकूलित बनाउन बन्द गरिएको छ भने चेन्नाईस्थित विभिन्न कार्यालयहरूले कर्मचारीलाई घरबाटै काम गर्न आग्रह गरेका छन्। चेन्नाई मेट्रोले स्टेसनहरुमा रहेका एयर कन्डिसनिङलाई बन्द गरेको छ। प्रविधि क्षेत्रमा काम गर्नेहरुको संस्था ‘आइटी वर्कर्स एसोसिएसन’का महासचिव भिनोथ कालिगाईले केही संस्थाले कर्मचारीहरुलाई घरमै बसेर काम गर्न आग्रह गरेको पुष्टि गरेका छन्। ‘तर घरमा पनि पानीको अभाव सुरु भएको छ। यस्तो अवस्थामा हामीले के गर्ने हो,’ उनले प्रश्नसमेत गरेका छन्।

पानीको अभाव हल गर्न अधिकारीहरुले पानीको वैकल्पिक स्रोत पत्ता लगाउने प्रयास गरिरहेका छन् भने सहरको पानी विभागले पानी हुनसक्ने क्षेत्रको सम्भाव्यता अध्ययन सुरु गरेको छ।  

पानी अभावका कारण चेन्नाईक विभिन्न स्थानका स्थानीयवासीबीच झगडा समेत भएका विवरण प्राप्त भएको छ। पानी बाँडफाँडको विषयमा झगडा परेपछि छिमेकीलाई छुरी प्रहार गरेको आरोपमा प्रहरीले गत साता एक जनालाई पक्राउ गरेको थियो।

पानीको अभाव हल गर्न अधिकारीहरुले पानीको वैकल्पिक स्रोत पत्ता लगाउने प्रयास गरिरहेका छन् भने सहरको पानी विभागले पानी हुनसक्ने क्षेत्रको सम्भाव्यता अध्ययन सुरु गरेको छ।  तर सुक्खा जलाशय क्षेत्र र जमिनमा पानीको घट्दो तह अधिकारीहरुका लागि ठूलो चिन्ताको विषय बनेको छ। ‘यो स्थितिलाई सहज बनाउने एउटै मात्र उपाय भनेको जमिनमुनि पानीको सतह बढाउने हो,’ चेन्नाईक एक सामाजिक अभियन्ता नाक्किरानलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। हामीले यसअघि पनि सुक्खा वर्षहरु झेलेका थियौं तर त्यतिखेर हामीलाई जमिनमुनिको पानीले बचाएको थियो,’ उनले भने।

चेन्नाईमा देखिएको पानीको संकटले सहर पूर्ण रूपमा पानी विभागमा निर्भर रहेको छ भन्ने पनि देखाएको छ। पानी विभागले सरकारी ट्रकका माध्यमबाट सहरका विभिन्न क्षेत्रमा पानी वितरण गर्दै आएको छ। ‘विनाश त भर्खरै सुरु भएको छ,’ एक अधिकारीले भने, ‘यदि यो वर्ष पनि राम्रोसँग वर्षात् भएन भने हामी पूर्ण रूपमा ध्वस्त हुन्छौं।’

प्रकाशित: ४ असार २०७६ ०२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App