१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कार्यान्वयनमा आशंका

विराटनगर - प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७६÷७७ को बजेटले सबैको चित्त बुझाउन खोजे पनि कार्यान्वयन हुनेमा निजी क्षेत्रले आशंका गरेको छ । चालु आर्थिक वर्ष ३० प्रतिशत पनि पुँजीगत खर्च गर्न नसकेको प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयन हुनेमा निजी क्षेत्रले आशंका व्यक्त  गरेको हो ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले बजेटले सबै क्षेत्रलाई समेट्न खोजे पनि सानो आकारको बजेट छर्दा प्रभावकारी कार्यान्वयन हुनेमा आशंका उत्पन्न भएको बताए । ‘कनिका छरेजसरी प्रदेशका अधिकांश आयोजनामा बजेट छरिएको छ,’ उनले भने, ‘ठूला आयोजनामा थोरै बजेट विनियोजन गर्दा काम प्रभावकारी हुन नसक्ने सम्भावना हुन्छ ।’

निर्वाचन क्षेत्र विकासका नाममा सांसदलाई दिने रकम प्रभावकारी रुपमा प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । विराटनगरका उद्योगी व्यवसायीले उठाएका अधिकांश मागलाई बजेटले सम्बोधन गर्नु सकारात्मक भएको मुण्दडाले बताए । बजेट थोरै हु“दा प्रभावकारी रुपमा आयोजना अघि बढ्न असहज हुने उनले बताए । विराटनगरको सहिद रंगशालामा रात्रिकालीन खेल खेलाउनका लागि फ्रडलाइट जडान गर्न बजेट विनियोजन हुनु सकारात्मक छ । यस्तै विराटनगरमा औद्योगिक प्रदर्शनी केन्द निर्माण गर्ने, विमानस्थल विस्तार र चक्रपथ निर्माण गर्ने विषयमा बजेट छ्ट्याउनु पनि यस क्षेत्रको विकासका लागि सकारात्मक छ । बजेट सानो आकारको भएकाले आकार बढाउने र धेरै लागतका आयोजनामा रकम बढाउनु जरुरी देखिन्छ ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले सरकारले सबैलाई खुसी पार्ने गरी ल्याएको बजेट कार्यान्वयन हुनेमा आशंका रहेको बताए । उनले भने, ‘तीन अर्ब लागतको आयोजनामा एक करोड बजेट विनियोजन गरिएको छ,’ उनले भने, ‘ठूला आयोजनालाई थोरै बजेट दिँदा कार्यान्वयन प्रभावकारी हुने स्थिति देखिँदैन ।’ औद्योगिक ग्राम निर्माण गर्ने योजना राम्रो रहेको उनको भनाइ छ । सार्वजनिक निजी साझेदारी मोडलमा योजना अघि बढाउने विषय पनि सकारात्मक छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले समग्रमा बजेट राम्रो भए पनि कार्यान्वयन पक्षलाई विशेष ध्यान दिनुपर्ने बताए । उनले भने, ‘पुँजीगत खर्च बढाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।’ बजेट, नीति तथा कार्यक्रम जतिसुकै राम्रो भए पनि कार्यान्वयन नभए त्यसको अर्थ नहुने उनको धारणा छ । कृषिको आधुनिकीकरण र व्यवसायीकरणको कार्यक्रम राम्रो छ ।

कृषिमा चक्लाबन्दी, भूमि बैंक स्थापना गर्ने, कोल्ड स्टोर स्थापना गर्ने रैथाने बाली संरक्षण गर्ने योजना राम्रा छन् । बृहत विराटनगर क्षेत्रमा चक्रपथ निर्माण, लगानी बोर्ड गठन, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन हुनु स्वागतयोग्य छ । निजी क्षेत्रको  लगानी  प्रोत्साहन गर्ने नीतिगत व्यवस्था गरी बढीभन्दा बढी पुँजी परिचालन गर्ने नीतिगत व्यवस्था हुनु जरुरी छ ।  

यता प्रतिपक्षी नेपाली कांग्रेसले भने कामभन्दा भाषण गर्न, कार्यकर्ता र आसेपासेलाई पोस्ने उद्देश्यले बजेट ल्याइएको प्रतिकृया दिएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले भने, ‘बजेट प्रचारमुखी, कार्यकर्ता र आसेपासे पोस्ने उद्देश्य राखेर ल्याइएको देखिन्छ ।’ कार्कीले सरकारले बजेटमार्फत सार्वजनिक गरेको म अघि बढ्छु कार्यक्रम युवासंघ र वाइसिएललाई अघि बढाउने गरी ल्याएको दाबी गरे ।

उनले भने, ‘म अघि बढ्छुको साटो युवा संघ र वाइसिएललाई अघि बढाउ“छु भनेर ल्याएको भए राम्रो हुन्थ्यो ।’ मुख्यमन्त्रीलाई जोडेर धेरै कार्याक्रम बजेटमा आउनु पनि उचित नभएको कार्कीले बताए । बजेट भाषणमा आयोजनाको नाम लिने तर, बजेट नछुट्याउनुले सरकार प्रचारमुखी र कर्मकाण्डी बन्दै गएको स्पष्ट हुन्छ । प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष ०७६÷७७ का लागि ४२ अर्ब २० करोड चार लाख १२ हजार रुपैया“को बजेट सार्वजनिक गरेको थियो ।

प्रकाशित: ३ असार २०७६ ०६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App