१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

१६ जना विरुद्ध विशेष अदालतमा मुद्धा

अख्तियारले बिगो सहित बिशेष अदालतमा दायर गरेको पत्र: डिबी /नागरिक

जुम्ला - जुम्लामा सरकारी जग्गा अपचलन गरेको भन्दै तत्कालिन मालपोत अधिकृत गोबिन्दप्रसाद न्यौपाने सहित १६ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको गुठीचौर गाउँपालिका स्थित गुठिचौर भेडा बाख्रा अनुसन्धान केन्द्रको ५ सय ९० रोपनी जग्गा परिवारको नाममा दर्ता गर्ने जुम्लाका तत्कालिन मालपोत अधिकृतसहित १६ जनाविरुद्ध   विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो।

अख्तियारले प्रेश विज्ञाप्तीमार्फत जुम्ला जिल्ला गुठीचौरस्थित गुठीचौर भेंडा बाख्रा फारमको नाममा नाप नक्सा भई फिल्डबुक कायम भएको सरकारी जग्गा मालपोत कार्यालय, जुम्लाका तत्कालिन कार्यालय प्रमुख गोबिन्द प्रसाद न्यौपानेलगायतका कर्मचारीहरुले नापी कार्यालय र भेंडा बाख्रा फारमसँग मिली करिब ९३ हजार बर्गमिटर क्षेत्रफल रहेको  जग्गा व्यक्तिको नाममा बाँडफाँड गरेका भेटिएको जनाएको छ।

भूमिसुधार ऐन, २०२१ विपरित सरकारी जग्गा गलत नियतले हदबन्दीभन्दा बढी दर्ता गर्नुका साथै जग्गा बिक्री वितरणसमेत गरी प्राप्त अधिकारको दुरुपयोग गरेको ठहर गर्दै सरकारी जग्गा दर्ता गर्ने कार्यमा संलग्न कर्मचारी उपर छानविन गरी भ्रष्टाचारी माथि आवश्यक कार्बाही गर्न माग गरेको हो। अख्तियारका प्रवत्ता प्रदिपकुमार कोईरालाद्धारा हस्ताक्षरित बिज्ञाप्तीमा भनिएको छ,‘ उजुरी उपर अनुसन्धान हुँदा गुठीचौर गा।वि।स। वडा नं। ६ को कि।नं।३ को फिल्डबुक मध्येको ३,००,००० (तीन लाख) बर्गमिटर भेंडा तथा बाख्रा कार्यक्रमको नाममा गनिएको सरकारी जग्गा लिने खाने दूषित मनसायले अभिप्रेरित भएको पाइन्छ।  द्वन्दकालमा जली नष्ट भएको सक्कल फाइललाई हरिहर न्यौपानेको निवेदनबाट पुन ः उजागर गरी गराई एकआपसमा मिलेमतो गरी भेंडा तथा बाख्रा अनुसन्धान कार्यक्रमका प्रमुख प्राविधिक कर्मचारी यमुना कुमार श्रेष्ठलाई अनुचित प्रभावमा पारेको भेटियो। 

 निजलाई मालपोत कार्यालय जुम्लामा हाजिर हुन लगाई यमुना कुमार श्रेष्ठले समेत आफ्नो अधिकार क्षेत्रको कुनै हेक्का नराखी, गैरकानूनी मिलापत्र गर्ने कार्य गरेको र सोको आडमा सरकारी सार्वजनिक जग्गा हरिहर न्यौपानेसमेतका १५ जना व्यक्तिको नाममा हक हस्तान्तरण गरेगराएको भेटिएको छ।’ गैरकानूनी कार्यमा सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक सरकारी कर्मचारीहरू मालपोत कार्यालय जुम्लाका तत्कालिन निमित्त कार्यालय प्रमुख गोबिन्द प्रसाद न्यौपाने, तत्कालीन खरिदार हाल मालपोत कार्यालय चावहिलका नायब सुब्बा बिजय शर्मा न्यौपाने र तत्कालीन भेंडा तथा बाख्रा अनुसन्धान कार्यक्रम गुठीचौर जुम्लाका कार्यालय प्रमुख यमुना कुमार श्रेष्ठ तथा राष्ट्रसेवक सरकारी कर्मचारीहरूसमेतलाई अनुचित प्रभावमा पारेर गैरकानूनी तरिकाबाट सरकारी जग्गा आ आफ्नो नाममा दर्ता गर्ने कार्यमा  लागेको बिज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रत्यक्ष रुपमा संलग्न भएका जग्गा दर्ता गरी लिने हरिहर न्यौपाने, मुनिश चन्द्र न्यौपाने, मायालाल न्यौपाने, बिष्णु न्यौपाने, बिष्णु ऋषि न्यौपाने, बिष्णुलाल न्यौपाने, पार्वती न्यौपाने, नव ऋषि न्यौपाने, धन प्रसाद न्यौपाने, देवेन्द्र प्रसाद उपाध्याय, जानकी दत्त देवकोटा, गोमा न्यौपाने, केशवराज न्यौपाने, कविदत्त न्यौपानेसमेतको मिलेमतो, गैरकानूनी साँठगाँठ र प्रत्यक्ष संलग्नतामा सरकारी जग्गा हिनामिना गरेको देखिन आएकोले आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्ति हानिनोक्सानी हुने र व्यक्ति विशेषलाई गैरकानूनी लाभ एवम् प्रत्यक्ष फाइदा पुर्याउने कार्यमा संलग्न कर्मचारी तथा गैरकानूनी रुपमा जग्गा दर्ता गरिलिने अरोपीहरूको हकमा  बिगो कायम गरी सजायको मागदाबी लिई विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ।

मालपोत कार्यालय जुम्लाका तत्कालिन निमित्त प्रमुख गोविन्दप्रसाद न्यौपानेले २०६८ सालमा सरकारी जग्गा आफन्तको नाममा दर्ता गराएका थिए। उनीहरुले गुठीचौरको भेंडा बाख्रा अनुसन्धान केन्द्रको नाममा नापी भई फिल्डबुक कायम भएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेका थिए। अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले मालपोत कार्यालयका कर्मचारीले नापी कार्यालय र भेंडा वाख्रा अनुसन्धान केन्द्र संग मिलेर जग्गा बाँडफाँट गरी व्यक्तिको नाममा दर्ता गरेको पुष्टी भएको बताएका हुन्।

जुम्ला जिल्ला साबिक गुठीचौर गाविस वडा नं। ६ मा पर्ने उक्त जग्गा भेंडा तथा बाख्रा कार्यक्रमको नाममा दर्ता थियो। आयोगले मालपोत कार्यालयका तत्कालीन प्रमुख गोविन्दप्रसाद न्यौपाने, मालपोतका कर्मचारी विजय शर्मा न्यौपाने र भेडा तथा वाख्रा अनुसन्धान कार्यक्रमका प्रमुख यमुना कुमार श्रेष्ठसँग ४५ लाख रुपैयाँ विगो माग दावी गरिएको छ।

प्रकाशित: ३ असार २०७६ ०५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App