१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

त्रिवि सेवा आयोगमा तालाबन्दी

काठमाडौं – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्रकाशित गरेको विज्ञापन नम्बर १८-२०७३/२०७४ मा भएको लिखित परीक्षाको नतिजा प्रकाशनमा अनियमितता भएको भन्दै उक्त नतिजा खारेजीको माग गर्दै विद्यार्थीहरुले सेवा आयोगमा तालाबन्दी गरेका छन्। वैद्य माओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले अवैधानिक नतिजा खारेजी गरिनुपर्ने, सेवा आयोगका भ्रष्ट पदाधिकारीहरुले राजीनामा दिनुपर्ने र सेवा आयोग खारेजी हुनुपर्ने तीन बुँदे माग राख्दै २९ दिन लामो रिले अनसनमा बस्दा समेत विद्यार्थीको माग बेवास्ता गरेको भन्दै उनीहरुले सोमबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका हुन्।

संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले त्रिवि सेवा आयोगका पदाधिकारी र राजनीति दलका नेताहरुले पहिले नै भागबन्डा लगाएर नतिजा प्रकाशन गरेको आरोप लगाउँदै नतिजा खारेजी नभएसम्म अनिश्चितकालीन तालाबन्दी कायम रहने जनाए। तालबन्दीले गर्दा त्रिविका शिक्षकहरुको बढुवाका तय भएका अन्तरवार्ता रोकिएको छ। त्रिवि सेवा आयोगमा तालाबन्दी गरेको निहुँमा प्रहरीले अध्यक्ष गजुरेलसहित १६ विद्यार्थीलाई गिरफ्तार गरी कालिमाटी प्रहरी चौकीमा राखेको छ। ‘विश्वविद्यालय जस्तो प्राज्ञिक स्थलमा पनि सेवा आयोगका पदाधिकारीहरु राजनीति दलको मतियार बनेर नतिजामा समेत भागबन्डा गरेका छन्,’ अध्यक्ष गजुरेलले नागरिकसँग भने, ‘नेपाली कांग्रेसको ४० प्रतिशत र नेकपाको ६० प्रतिशत कोटा निर्धारण गरेर नतिजा प्रकाशन गरिएको छ। जब सबै आफनै नातागोताहरुलाई नै नतिजामा पास गराउनु थियो भने लिखित परीक्षाको नाटक किन आयोगले गरेको ?’

परीक्षाको नतिजामा त्रिविका पदाधिकारीहरुकै आफन्त तथा नातेदारहरुको नाम प्रकाशित भएको यस अघि नै सार्वजनिक भइसकेको छ। एकातिर अख्तियारले परीक्षामा सहभागिता जनाएका सबै परीक्षार्थीको उत्तरपुस्तिकासहित आवश्यक कागजात छानबिनका लागि लगिसकेको छ भने अर्कोतिर छानबिनको किनारा नलाग्दै सेवा आयोगले शाखा अधिकृत बाहेकका सबै पदका लागि अन्तवार्ता सुरु गरेको थियो। अध्यक्ष गजुरेलले नागरिकसँग भने, ‘अखितियारले छानबिन गरिरहेकै बेलामा आयोगले धमाधम अन्तरवार्ता पनि लियो।

त्रिवि सेवा आयोगका पदाधिकारीहरु दलगत आडमा त्रिविमा मनोमानी गर्न हामी दिदैनौं।’ संगठनका महासचिव पेशल दहालले त्रिवि पदाधिकारी राजनीति आडमा विश्वविद्यालयलाई नै भ्रष्टाचारको अखडा बनाएको आरोप लगाए। ‘विश्वविद्यालयका पदाधिकारीहरु नै बौद्धिक चोरी गर्छन्। पदाधिकारीहरु भ्रष्टाचार गर्छन् तर कुनै कारबाही हुँदैन,’ महासचिव दहालले भने, ‘अब सम्बन्धित निकायमा हामी विद्यार्थी, शिक्षक तथा अभिभाव धेरैलाई गुहार्यौं।’ उनले थपे, ‘कसैले कारबाही गरेन। अब त्रिविका सचेत विद्यार्थीहरुले सबै मिलेर भ्रष्ट पदाधिकारीहरुलाई कारबाही गछौं।’ अख्तियारले यस्तो संवेदनशील विषयमा छिटो निर्णय नगर्नु र अर्कातर्फ आयोगले धमाधम अन्तरवार्ता सकाउनुले अख्तियारको कामकारबाही प्रति नै शंका उब्जाएको उनले बताए।

उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले विश्वविद्यालयबाट सबै कागजात ल्याएर छानबिन भइरहेको बताए। उनले छानबिन अन्तिम चरणमा पुगेको र अब छिट्टै प्रतिवेदन सार्वजनिक गरिने समेत जनाए।

प्रकाशित: ३ असार २०७६ ०१:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App