१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

साकेलाको बिदाईमा लोपोन्मुख शिली

साकेला चाडको बिदाईमा दिक्तेलमा साकेला नाच्दै प्रदेशसभा सदस्य उषाकला राई लगायत।

खोटाङ - खोटाङका किरात राई समुदायले लोपोन्मुख साकेला शिली प्रदर्शन गर्दै महान चाड साकेला उभौलीको बिदाई गरेका छन्। ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आईनलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामनामा भूमि, पितृ र अन्नको पूजाआजा गर्दै जेठ ४ गतेदेखि मनाउन सुरु गरिएको एक महिने उभौली चाडलाई शनिबार लोपोन्मुख साकेला शिली प्रदर्शन गर्दै बिदाई गरिएको हो।

दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजित कार्यक्रममा प्रदेशसभाका सांसद उषाकला राईले तीन चुलामा आगो बालेर वृहत साकेला शिली प्रदर्शन एवं समापन कार्यक्रम उद्घाटन गरेकी थिईन्। किरात राई समुदायमा एकैदिन सुरु भए पनि साकेलाको बिदाई भने ठाउँ विशेष फरक–फरक समयमा गर्ने प्रचलन रहेको किरात राई यायोक्खा खोटाङका सचिव युगसन किरातले बताए। किरात राईको संस्कृतिलाई प्रचारप्रसार गर्दै संरक्षण गर्ने उद्देश्यले किरात राई यायोक्खा र किरात सेवा समाजले जिल्लामा साकेला चाडको सुरुवात र बिदाईमा वृहत साकेला शिली प्रदर्शन गर्ने परम्परा बसाएको छ।

साकेला चाडको बिदाईमा चारी शिली, तयामा–खियमा शिली, मोछामा शिली, द्यार्पा शिली, ककले, बेसारा, कुकरालगायतका लोपोन्मुख शिली प्रदर्शन गरिएको छ ।

साकेला उभौलीको बिदाईमा आयोजना गरिएको साकेला शिली प्रदर्शनीले दिनभर दिक्तेलको माटिकोरे खेलमैदान गुञ्जयमान बनेको थियो। ढोल, झ्याम्टा र गीतले गुञ्जयमान बनेको माटिकोरेमा साकेला शिली प्रदर्शनीमा नाच्ने र रमिता हेर्ने दर्शकको बाक्लो भीड लागेको थियो। साकेला शिली प्रदर्शनीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका दिक्तेल, नेर्पा, दोर्पाचिउरीडाँडा, बाम्राङ, हलेसी तुवाचुङ नगरपालिकाको ऐसेलुखर्क, साकेला गाउँपालिकाको रतन्छालगायतका किरात राई समुदायले आ–आफ्नो ठाउँ विशेषको साकेला शिली प्रदर्शन गरेको किरात राई यायोक्खा खोटाङका अध्यक्ष हात्तीराम राईले बताए।

साकेला चाडको बिदाईमा चारी शिली, तयामा–खियमा शिली, मोछामा शिली, द्यार्पा शिली, ककले, बेसारा, कुकरालगायतका लोपोन्मुख शिली प्रदर्शन गरिएको छ। बबवा, कान्छपा, बासा, काचुपा, विपलतिमा, खासीमा, तुवामा, मछामा, चावा, बोखोत्तो, आम्लामी, ङासा, हेच्छाकुप्पा, कुपामा, तावा, बम्लातीलगायतका पूराना किसिमका साकेला शिली बुढापाको अन्त्यासँगै लोपोन्मुख बनिसकेकाले संरक्षणका लागि प्रदर्शन गर्ने परम्परा बसाइएको अध्यक्ष राईले बताए। ‘लोपोन्मुख बन्दै गएको शिली संरक्षणमा सबैको ध्यानाकर्षणका लागि साकेला पर्वको बिदाईमा शिली प्रदर्शनी गरिएको छ,’ अध्यक्ष राईले भने, ‘संस्कृतिमार्फत आपसी सद्भाव र बन्धुत्व कायम गर्नका लागि पनि सामूहिक रूपमा साकेला प्रदर्शनी गर्ने गरिएको छ।’

साकेला शिली प्रदर्शनीमा नाच्नकै लागि आ–आफ्नो भेषभुषामा सजिएका किराती र गैर–किराती रमाईलो गर्दै गाउँ–गाउँबाट दिक्तेल आउने गरेका छन्। चराचुरुङ्गी बेंसीबाट लेकतिर जाने गर्मीयाममा उभौली तथा लेकबाट बेंसीतिर झर्ने जाडो याममा उद्यौली पर्व मान्ने प्रचलन छ। साकेला प्रदर्शनीस्थलमा खाल्लेका दिपक राईले तयार पारेका किरात समुदायसँग सम्बन्धित घरेलु उपकरण पनि राखिएको थियो।

प्रकाशित: २ असार २०७६ ०३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App