१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गर्मी बढ्दै गएपछि विद्यालय बन्द

महाेत्तरी  - अचाक्ली बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जेठ अन्तिम सातादेखि क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न जिल्लाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका हुन् ।

जिल्लाको सोनमा गाउँपालिकाले यही असार ६ गतेसम्म विद्यालय बन्द हुने सार्वजनिक सूचना नै जारी गरेको छ । “बढ्दै गएको घामको रापले स–साना बालबालिका विद्यालयमै आलसतालस पर्न थाले”, सोनमा गाउँपालिका अध्यक्ष राजकुमार यादवले भने, “यसले स्वास्थ्य समस्या बढाउन सक्ने हुनाले गाउँपालिकाभित्रका सबै विद्यालय छ दिन बन्द गर्ने निर्णय ग¥यौँ ।”

लगत्तै जिल्लाको मनराशिशवा र बलवा नगरपालिकाले पनि आजैदेखि छ दिन विद्यालय बन्द गरिने जनाएका छन् । बिहान सूर्य उदयदेखि साँझ अस्तसम्म एकटङ्कारको घामको राप बढेकाले विद्यालय बन्द  लागिएको मनराशिशवा नगरपालिकाका प्रमुख सञ्जयकुमार सिंहले बताए। जिल्लाका अन्य स्थानीय तहले पनि आज नै विद्यालय बन्द गरिनेबारे छलफल गरिने जनाएका छन् । मौसममा सुधार नआए आज नै विद्यालय बन्द गरिने मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको भनाइ छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहले गर्मी छल्न केही दिन विद्यालय बन्द गर्ने तयारी गरेका छन् ।

जिल्लामा पछिल्ला तीन दिनयता यसअघि कहिल्यै नखेपिएको प्रचण्ड घामको राप बढेको छ । बर्दिवासको भोलावसन्तचोकमा जडित तापमापन सूचना केन्द्रले हिजो शनिबार दिउँसो ३ बजे ४३ डिग्री सेल्सियस तापक्रम देखाएको थियो । अहिले यस भेगमा प्रचण्ड गर्मीको रापले सामान्य हिँडडुल पनि सकस बनेको छ । गर्मीले गर्दा हाटबजार र कार्यालयमा पनि चहलपहल देखिँदैन ।  गर्मीका कारण महोत्तरीका हाटबजारमा सर्वसाधारणको आवागमन निकै घटेको छ । प्रचण्ड घामको रापले विद्यालय पढ्न जाने स–साना नानी, वृद्धवृद्धा र कडा शारीरिक श्रम गर्ने मजदुर मारमा परेका छन् ।

 

प्रकाशित: १ असार २०७६ ०६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App