१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

असारे विकासका लागि जथाभावी खोला र नदीको दोहन

रौतहट - रौतहटका अधिकाश खोला र नदीको दोहन तिव्र रुपमा भइरहेको छ । असारे विकासका बजेट सकाउन माफियाहरुले जथाभावी खोला र नदीबाट ढुंगा, गिटी, बालुवा तथा ग्राभेल उत्खनन गरिरहेका छन्।

मापदण्डविपरितजिल्लाको नदीहरुबाट खोलाजन्य बस्तुहरु निकाली दोहन कार्य तिव्र रुपमा भइरहेपनि सम्बन्धित निकाय वेखवर हुँदा चरम स्तरमा दोहन कार्य भइरहेकोे छ । जेठ मसान्त भित्र वागमती, लाल बकैया नदी र चाँदी, धन्सर खोलामा मेशिनहरुको प्रयोग गरेर धमाधम खोलाजन्य बस्तुहरु निकालेर दोहन कार्य तिव्र रुपमा भइरहेको स्थानीयहरु बताउँछन्।

जेठको ३२ गते सम्म मात्रै खोलाबाट बालुवा, गिटी, बोल्डर र ग्राभेल निकाल्ने समय सिमाको चरम दुरुपयोग गर्दै ठेक्केदारहरु दोहन कार्यलाई तिव्रता दिएपनि सम्बन्धित निकाय भने कानमा तेल हालेर बसेको छ। वागमती नदीको पौराई, मंगलपुर, कटहरघाट, रमौली, हरैया, टोकार, समनपुर, बलुवा मदनपुर, लक्ष्मिपुर, धरमपुर, सिंगारमन, गंगापिपरा लगायतका स्थानहरुमा दोहन भइरहेको छ । यस्तै लालबकैयाको धनसर, लक्ष्मिनिया, जंगलसहिया र चाँदी नदीको विश्रामपुर सहितका स्थानहरुबाट माफियाहरुले दर्जनौ एक्जाभेटर र जेसिभि मेशिनहरुको प्रयोग गरेर नियम विपरित गहिरो खाडल खनेर दोहन गरिरहेको छ ।

जथाभावी उत्खननले बर्षाको बेला बस्ती बगाउने खतरा नै बढेको समनपुर गाविसका पुर्व गाविस अध्यक्ष अवध किशोर ठाकुरले बताए । ठेकेदारले हदै सम्मको लापरबाही गरेपनि खोला अनुगमन गर्ने जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला निकायको टोली उक्त स्थानको निरीक्षण गरेपनि कुनै कारवाही नगर्दा उनीहरुको मनोवल बढ्दै गएको छ ।

आर्थिक बर्ष २०७५÷०७६ का लागि बागमती र पौराई नाकाको ढुंगा, गिट्टी, बालुवाको निकासी तथा संकलन बन्दोबस्तीका लागि नगरपालिकाले गएको पुसमा ठेक्का
आव्हान गरेको थियो ।  चन्द्रपुर ४ का ठेकेदार सहदेव खड्काले १ करोड २१ लाख ५६ हजारमा उक्त ठेक्का सकार गरेको थियो । यही जेठ मसान्त भित्र तोकिए बमोजिम काम गर्न भनिएको थियो । यस्तै रमौलीमा वृन्दावनले १ करोड ६५ लाख, गढीमाईले तिन स्थानमा एक करोड र ९६ लाखमा ठेक्का लगाएको भएपनि मेशिनहरु प्रयोग गरेर ५ देखि ७ मिटर सम्म गहिरो खाडल बनाएर खोला दोहन व्यापक रुपमा भइरहेको स्थानीय नरेश ठाकुरले आरोप लगाए ।

प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला समन्वय समितिका सभापति रामएकवाल राय, डिभिजन वन अधिकृत बिनोद सिंह, बृन्दावन नगरपालीकाका मेयर रामस्नेही राय र जिल्ला प्रहरीका डिएसपि नविन कार्की सहितको टोलीले अनुगमन गर्ने क्रममा बागमतीको दक्षिणभेग स्थित नदिमा नियम बिपरीत ठुलो खाडल पारेर दोहन गरेको फेला पो्रेको थियो।  प्रजिअ थापाले सम्झौता बिपरीत ठेकेदारले नदी दोहन गरेकोमा आश्चर्य प्रकट गरे । ‘बर्षाको बेला ठुलो समस्या ल्याउने गरि ठेकेदारले दोहन गरेको फेला पारियो,’ उनले भने, ‘यसरी खाडल पारिँदा पछि समस्या आउछ । नियम बिपरितको काम तत्काल बन्द गर्न भनेको छु ।’

चुरे दोहन बढ्दो केही समय यता चुरे आसपास क्षेत्रमा दोहन बढ्दै गएको छ । स्थानियले चुरेक्षेत्रबाट ढुंगा संकलन गरिरहेका छन् । केही समय अघि गैडाटारमा घुम्ति शिविर सेवा संचालन हुदा प्रजिअ थापा समक्ष स्थानियले चुरेक्षेत्रबाट ढुंगा दोहन भईरहेको जानकारी गराएका थिए ।
चुरेक्षेत्रबाट ढुंगा संकलन गरिरहेको अवस्थामा वन ६ महिना भित्र झण्डै दुई सय ट्र्याक्टर पक्रेर कारबाही गरेको थियो । बढ्दो दोहनले नदि नाला प्रभावित हुने, बस्ती बगाउने खतरा बढ्ने डिभिजन वन अधिकृत बिनोद सिंहले बताए । ‘हामिले सकेसम्म चुरेमा जथाभावि दोहन रोकेका छौ,’ उनले भने, ‘स्थानियतहबाट ठेक्का लगाउने गरेकोले थप समस्या भएको अनुगमनमा खटिएका अधिकारीहरुको भनाई छ ।’

प्रकाशित: १ असार २०७६ ०५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App