१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्वास्थ्य बिमा नवीकरण न्यून

सोलुखुम्बु – स्वास्थ्य बिमा गर्ने बिमितले बिमाबापतको सेवा लिन वर्षेनी नवीकरण गर्नुपर्ने भए पनि सोलुखुम्बुमा नवीकरण गर्नेको संख्या न्यून देखिएको छ। आर्थिक वर्ष (आव) २०७४/७५ मा सात सय ७० परिवारले बिमा गरेकोमा २०७५÷७६ मा ६५ परिवारले मात्र बिमा नवीकरण गरेका छन्। सेवाबिन्दु टाढा हुनु, गुणस्तरीय सेवा प्रवाह नहुनु र बिमाप्रति चेतना अभावले नवीकरणमा समस्या देखिएको सोलुखुम्बुका दर्ता अधिकारी प्रदीप बस्नेतले बताए।

दुई आवको अवधिमा सोलुखुम्बुमा ३८ सयभन्दा बढीले स्वास्थ्य बिमा गरेका छन्। २०७४ असोज २५ देखि २०७६ जेठसम्मको अवधिमा स्वास्थ्य बिमा गर्नेको संख्या ३ हजार आठ सय ३८ पुगेको हो। बीमितमध्ये एक हजार ९ सय ३५ महिला र एक हजार ९ सय तीनजना पुरुष रहेका छन्। सातओटा गाउँपालिका र एक नगरपालिका रहेको जिल्लामा खुम्बु पासाङल्हामु गाउँपालिकामा भने बिमा कार्यक्रम लागु हुन सकेको छैन।

हालसम्म सोलुदुधकुण्ड नगरपालिकामा एक हजार चार सय १६ जना, नेचासल्यान गाउँपालिकामा पाँच सय ५९ जना र महाकुलुङ गाउँपालिकामा तीन सय ७४ जनाले स्वास्थ्य बिमा गरेको सोलुखुम्बुका दर्ता अधिकारी प्रदीप बस्नेतले जानकारी दिए। त्यस्तै लिखुपिके गाउँपालिकामा तीन सय ८५, माप्यदूधकोसी गाउँपालिकामा दुई सय ७७, थुलुङ दूधकोसी गाउँपालिकामा तीन सय ९२ र सोताङ गाउँपालिकामा चार सय ३५ जनाले बिमा गरेको दर्ता अधिकारी बस्नेतको भनाइ छ। उनका अनुसार जनप्रतिनिधिको चासो कम हुनु र सेवाका लागि स्वास्थ्य संस्था नभएकाले पनि खुम्बु पासाङल्हामु गाउँपालिकामा भने बिमा कार्यक्रम सुरु हुन सकेको छैन।

शुल्क र सेवा परिवर्तन
गत वैशाखदेखि लागू हुनेगरी सरकारले बिमा रकम वृद्धि गरेको छ। पाँच जनासम्मको परिवारको स्वास्थ्य बिमा गर्दा २५ सय तिर्दै आएका सर्वसाधारणले ३५ सय तिर्नुपर्नेछ। पाँचजना बाहेकमा सदस्य थप भए प्रतिसदस्य चार सय ५० बाट बढाएर सात सय पु¥याइएको छ। ५० लाखसम्मको स्वास्थ्य सेवाबाट वृद्धि गरी एक लाख र सदस्य थप हुँदा प्रतिसदस्य वृद्धि हुने २० हजार गरी अधिकतम दुई लाखसम्मको सेवा दिने व्यवस्था मिलाइएको छ।

सरकारको ‘७० वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क बिमा’ कार्यक्रम सोलुखुम्बुमा पनि सुरु भएको छ। एक लाखसम्मको बिमाका लागि लाग्ने ३५ सय रकम सरकारले तिरिदिने व्यवस्था मिलाइएको हो। जिल्लामा सयौंको संख्यामा रहेका ज्येष्ठ नागरिकको निःशुल्क बिमा गरिसकिएको दर्ता अधिकारी प्रदीप अधिकारीले बताए। उनले भने, ‘एक सय ७१ जनाको इन्ट्री भइसकेको छ भने करिब तिन सय ज्येष्ठ नागरिकको डाटा इन्ट्री बाँकी रहेको छ।’ त्यस्तै ‘क’ वर्गको अपांग परिचयपत्र लिएकाहरूको पनि एक लाखको स्वास्थ्य बिमा राज्यले गरिदिने भएको छ। महिला स्वास्थ्य स्वयंसेविकाको हकमा शुल्कमा ५० प्रतिशत छूट दिइने व्यवस्था छ।

 

प्रकाशित: १ असार २०७६ ०२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App