१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एक महिनादेखि फोहोर नउठ्दा दुर्गन्धित बन्यो लहान

लहान नगरपालिकाले फोहोर उठाउन छोडेपछि नगरमा थुप्रिएको फोहोरको डंगुर। तस्विरःमिथिलेश यादव/नागरिक

लहान– लहान नगरपालिकाको बजार क्षेत्रमा थुप्रिएको फोहोर अझै उठेको छैन। नगरपालिका र वडा नम्बर ४ बीच फोहोर फाल्ने स्थानकाबारेमा बिवाद हुँदा ३१ दिनदेखि फोहोरको डंगुर थुप्रिएर नगर दुर्गन्धित बनेको छ।

नगरमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिन थालेपछि जिल्ला उद्योग वाणिज्य संघले चरणवद्ध रुपमा फोहोर व्यवस्थापनका लागि गरेको प्रयास पनि सफल हुन सकेन। नेपाली कांग्रेसले दुर्गन्ध फैलिनेगरि थुप्रिएको फोहोर व्यवस्थापनका लागि चरणवद्ध आन्दोलनको तयारी गरेपछि प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले शनिबारसम्मको समय लिएको कांग्रेस क्षेत्र नम्बर १ का सभापती अचमितलाल चौधरीले बताए। शनिबारसम्म फोहोर व्यवस्थापनको निकास नस्किए आइतबारबाट चरणबद्ध आन्दोलन सुरु गर्ने चौधरीले बताए। नगरको फोहोर व्यवस्थापनका लागि नगर प्रमुखले निकास खोज्नुपर्ने उनको भनाई छ। नगर प्रमुख निकास खोज्नुको साटो जिद्धीमा अडिँदा नगर दुर्गन्धित बन्न पुगेको कांग्रेस नेता महेश चौधरीले बताए।

२०७१ सालमा लहान नगरपालिकाले सर्वदलीय सहमति जुटाएर ४ नम्बर वडास्थित खुट्टी खोला किनारको ३५ बिघा जग्गामध्ये १२ विघाहमा फोहोरमैला व्यवस्थापन केन्द्र बनाउने निर्णय गरेको थियो। फोहरमैलालाई दीर्घकालीन व्यवस्थापन गर्न नगरपालिकाले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जगेडा कोषबाट ५२ लाख ५५ हजार रुपैयाँ लागतमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरेको थियो। तारबार घेरासहित केन्द्रमा आँप लगायत फलफूलका बिरुवा रोपेर बगैंचा बनाइएको थियो।

तत्कालीन समयमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको विरोध गर्दै स्थानीय रामप्रसाद महतो र रामप्रकाश पासमानले पुनरावेदन अदालत राजविराजमा रिट दायर गरेका थिए। नगरपालिकासँग सहमति भएपछि महतो र पासमानले रिट फिर्ता लिएका थिए।

नगरपालिकाले ५ वर्षदेखि नियमित रुपमा सोही स्थानमा फोहर फाल्दै आएको थियो। नगर क्षेत्रबाट दैनिक ३० मेट्रिक टन फोहोर संकलित हुन्छ। त्यसका लागि नगरपालिकाले बजार क्षेत्रमा ४० र अन्य वडामा २४ गरी ६४ कर्मचारीलाई खटाएको छ। फोहोर संकलन, विसर्जन र सरसफाईमा नगरपालिकाले वार्षिक १ करोड रुपैयाँ खर्चन्छ।

वडाबासीले फोहरमैला व्यवस्थापन केन्द्रको मूलगेटमा तालाबन्दी गरेपछि कर्मचारीले गेटमैं फोहोर फालिदिएका थिए। गेटमै फालिएको फोहरले मानव बस्तीमा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले झाडुसहित नगरपालिका कार्यालय घेराउ गरेका थिए।

४ नम्बर वडाबासीको अवरोधकैं कारण गत बैशाख ३१ गतेदेखि नगरक्षेत्रको फोहोर उठन सकेको छैन। वडाध्यक्ष रामनाथ पण्डितले दुर्गन्ध बढेपछि स्थानीय अवरोधमा उत्रिन बाध्य भएको बताए। स्थानीयले बस्ती नजिकै फोहोर भण्डारण गर्न रोकेपछि वडा नम्बर १, ३, ५, ६, ७, ८ र १० का सडक, नाला तथा गल्लीमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिएको छ। नगरपालिकाले फोहोर उठाउन छाडेपछि स्थानीय बासिन्दाले आफ्नो घर, पसल अगाडि जम्मा सुख्खा फोहोरमा मट्टितेल छर्केर आगो लगाइरहेका छन्। गिलो फोहोरको दुर्गन्ध काट्न फिनेल छर्किने गरेका छन्। फोहोर भण्डार भएको स्थान लामखुट्टेको घर बनेको छ। दुर्गन्धले टाउको दुख्ने, रिंगटा चल्ने, श्वास फेर्न पनि सकस हुने गरेको स्थानीयवासी बताउँछन्।

नगरपालिकाले समस्या समाधानका लागि वैशाखको पहिलोसाता बजार क्षेत्रका वडाध्यक्षहरू सम्मिलित ७ सदस्यीय समिति गठन गरेको थियो। ‘फोहोर व्यवस्थापनका लागि हरेक प्रयास भए पनि कसैले विकल्प दिन सकेको छैन,’ लहान नगरपालिकाका प्रमुख मुनि साह सुडीले भने, ‘फोहोर व्यवस्थापनका लागि विकल्प पाए त्यसको अधिकतम उपयोग गर्न तयार छु।’

प्रकाशित: ३२ जेष्ठ २०७६ १३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App