१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

हाजिरी जमानीमा रिहा भएका प्रनेस फेरि पक्राउ, फिल्मकर्मीको लाजमर्दो मौनता

काठमाडाैँ - बिहीबार राति ८ बजे हाजिरी जमानीमा रिहा भएका युुट्युबर प्रनेश गौतम शुक्रवार पुनः पक्राउ परेका छन्। फिल्म ‘वीर विक्रम–२’ को समीक्षा गरेकै कारण साइबर अपराधको आरोपमा पक्राउ परेका गौतमविरुद्ध जिल्ला अदालत काठमाडौंमा विद्युतिय कारोबार ऐन अन्र्तगत मुद्दा दर्ता भएपछि हिरासतमै राखिएको हो ।

मुद्दा दर्तापछि शुक्रवार नै पेशी तोकिएपनि सरकारी वकिल उपस्थित नभएपछि बहस हुन सकेन । थुनछेक बहस आइतबारका लागि सरेको छ । ‘म त प्रहरीले हाजिरी जमानतमा छाडेपछि अब नथुन्ला भन्ने लागेको थियो,’ प्रनेसका बुबा ऋषिराज गौतमले भने, ‘तर, त्यो एक दिनका लागि मात्रै हुनेरैछ । अदालतमा मुद्दा दर्तापछि फैसला नभएसम्म छोड्न नमिल्ने भएकाले हिरासत राखिएको प्रहरी अधिकारीहरुले बताउनुभएको छ ।’

प्रहरीले गौतमलाई सात दिनअघि फिल्म निर्देशक मिलन चाम्सको उजुरीका आधारमा पक्राउ गरेको थियो । जमानतमा रिहाका दिन पनि गौतम मिडियासँग कुराकानी गर्न तयार थिएनन् । मिम नेपालका सञ्चालक आदर्श मिश्रले भने,‘ऊ अहिले मानसिक रुपमा बोल्न तयार छैन, एक–दुईदिनपछि मात्रै मिडियासँग बोल्छु भनिरहेको छ।’  प्रनेस निकटस्थअनुसार थुनामा परेपछि उनी मानसिक रुपमा कमजोर भएका छन्।

फिल्म ‘वीर विक्रम–२’ का निर्देशक चाम्सले गौतमविरुद्ध अभद्र खालको टिप्पणी गरेर कलाकारको मानहानि गरेको भन्दै कारबाहीका लागि प्रहरीमा उजुरी दिएका थिए । स्ट्यान्डअप कमेडी गर्दै आएका गौतमले फिल्मबारे व्यंग्यात्मक शैलीमा समीक्षा गरेका छन् । चलचित्र समीक्षक समाजको ठम्याइअनुसार त्यो ‘एब्सर्ड शैली’को समीक्षा थियो । चाम्सकै धम्कीपछि मिम नेपालले अहिले त्यो भिडियो युट्युबबाट हटाइसकेको छ । तर, त्यही भिडियो समीक्षालाई आधार मान्दै प्रहरीले गौतमलाई विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाएको हो।

निर्देशक चाम्सले गौतमविरुद्ध उजुरी गर्न महानगरिय प्रहरी अपराध महाशाखा टेकु पुगेका बेला पत्रकारसँग भनेका थिए,  ‘वीरविक्रमबारे नानाथरी गाली गरेर, अपशब्दहरु बोलेर र आम नेपाली चलचित्र क्षेत्रलाई नै होच्याउने काम,  हाम्रा चलचित्रका कलाकारहरुलाई गिज्याउने र अपमान गर्ने काम गरेको हुँदा उजुरी गर्न आइपुगेका हौँ । नेपाली चलचित्र र  इन्डष्ट्रीलाई गन्दै नगन्ने यस्ता तत्वलाई ठेगान लाउनुपर्छ भनेर म यहाँ आइपुगेको हुँ । ’

निर्देशक चाम्सको उजुरीका आधारमा प्रहरीले प्रनेशलाई तर्साउन  ‘साइबर अपराध’ मुद्दा चलाएपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको छ । चलचित्रको समीक्षालाई साइबर अपराधको व्याख्या गर्दै प्रनेशलाई पक्राउ गर्नु ‘प्रशासनिक अधिकार र कानुनको हदैसम्मको दुरुपयोग’ भन्दै राज्य र प्रहरीविरुद्ध रिहा गर्न जनदबाब बढ्यो । यही जनदबाब थेग्न नसकेपछि प्रहरीले गौतमलाई जमानतमा रिहा ग¥यो ।

‘यो प्रशासनिक अधिकारको दुरुपयोग हो,’ प्रनेश पक्राउबारे अधिवक्ता बाबुराम अर्यालले भनेका छन्, ‘चलचित्रको समीक्षा गर्दा न फौजदारी न देवानी दायित्व नै हुन्छ । चलचित्रको समीक्षा गर्ने विभिन्न तरिका हुन्छन्, त्यसमध्येको एउटा तरिका उनले अपनाएका हुन् ।’

चलचित्र समीक्षक समाजले बिहीबार विज्ञप्ति जारी गर्दै प्रनेशको पक्राउ विद्युतीय कारोबार ऐनको अपव्याख्या र दुरुपयोग भएको ठहर गरेको थियो । समाजले प्रनेशलाई तत्काल रिहा गर्न भनेको थयो ।

‘चलचित्र समीक्षा गर्ने शैली विविध हुन सक्छन्, संसारभर धेरै शैली प्रचलनमा छन् । प्रनेश गौतमले प्रस्तुत गरेको यो भिडियो ‘एब्सर्डिस्ट ह्युमर’ शैलीमा बनाइएको कमेडी भिडियोमा पर्ने देखिन्छ,’समिक्षक समाजका अध्यक्ष यज्ञश र महासचिव सामीप्यराज तिमल्सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चलचित्रकर्मीहरु आफैँ सर्जक भएकाले आलोचना र अभिव्यक्ति स्वतन्त्रताको पक्षधर हुन् भन्ने हाम्रो मान्यता हो ।  अभिव्यक्ति स्वतन्त्रता पत्रकार, समीक्षक वा हास्य कलाकारको मात्र स्वतन्त्रता नभएर चलचित्रकर्मी र सबै विचार बोक्ने व्यक्तिहरुको स्वतन्त्रता हो ।’

विज्ञप्तीमा अभिव्यक्ति स्वतन्त्रता र आलोचनात्मक चेतले नै समाजलाई जीवन्त र स्वतन्त्र बनाउनेहुँदा कुनै पनि बहानामा यसमाथि हुने प्रहार स्वीकार्य नहुने र  सार्वजनिक कला वा उत्पादनको आलोचना, समीक्षा वा टिप्पणीलाई अपराधका रुपमा चित्रण गरिनु उचित नहुने उल्लेख गरेको छ ।

‘अभिव्यक्तिको स्वतन्त्रताको उपभोग गर्दा कसैको जाति, धर्म, वर्ण, लिंग, पहिरन तथाशारीरिक बनोटमाथि नकारात्मक टिप्पणी पनि हामीलाई मान्य छैन,’ विज्ञप्तीमा मिम नेपालको भिडियोमा निकिता चाण्डक, अशोक दर्जी, सरिता राजभण्डारी आदि कलाकारबारे गरिएको टिप्पणीप्रति असहमति जनाउँदै समाजले भनेको छ , ‘हामी यसको समर्थन गर्दैनौं । र, यी विषयमा संवेदनशील हुन आवश्यक रहेकोमा पनि जोड दिन्छौं ’ सामाजिक सञ्जालमा प्रनेशको रिहाइ माग गर्दै ‘फ्रि प्रनेश’ ह्यासट्याग नै चर्चामा आएको थियो ।

कांग्रेस नेता गगन थापाले समेत प्रनेस पक्राउको विरोधमा ट्विट गरेका थिए, ‘एब्सर्डिस्ट ह्युमरलाई विश्वभर सामान्य रूपमा लिईन्छ । त्यस्तै शैलीमा सिनेमाको हस्यौली समीक्षा गरेकोमा प्रनेश गौतमलाई नेपाल प्रहरीद्वारा साइबर अपराधमा पक्राउ गरिनु दुर्भाग्यपूर्ण र अभिव्यक्ति स्वतन्त्रताको खिलाफ छ । आलोचनात्मक चेत लोकतन्त्रको मूल मर्म हो, यसको संरक्षण गरियोस् ।’

फिल्मकर्मीको ‘लाजमर्दो’ मौनता
प्रनेशलाई साइबर अपराधको आरोपमा पक्राउ गर्दा राजनीतिकर्मी, सर्जक र बौद्धिक
व्यक्तित्वहरुले ‘अभिव्यक्ति स्वतन्त्रताप्रतिको हस्तक्षेप’ र ‘कानुनको दुरुपयोग’ भन्दै आवाज उठाइरहँदा नेपाली फिल्मजगत् र हास्यव्यंग्य कलाकारहरु मौन देखिए, केही अपवादबाहेक ।

सबै कमेडीयन चुप रहँदा हास्यकलाकार दीपकराज गिरी फेसबुकमा बोल्न त बोले तर उनले प्रनेशको पक्राउलाई अभिव्यक्ति स्वतन्त्रताको हनन् भन्न सकेनन् । बरु मानवीय दृष्टिकोणले हेरिदिएर माफी दिन निर्देशक चाम्सलाई आग्रह गरे । अर्को लज्जास्पद विषय त के भने आफ्नो कथ्यशैलीमाथि सेन्सर बोर्डले कैँची चलाउँदा अभिव्यक्ति स्वतन्त्रताको हनन् भयो भन्दै आवाज उठाउने फिल्मकर्मीसमेत प्रनेश प्रकरणमा पूरै मौन देखिए ।

निर्देशक निश्चल बस्नेतलाई ‘लुट’ का बेला सेन्सर बोर्डले ठूलै दुःख दिएको थियो । फिल्म हेरिसकेपछि उनलाई सेन्सर बोर्डले थुप्रै दृश्य काट्न लगायो । त्यतिबेला अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने बस्नेत अहिले प्रनेशको केसमा मौन छन् । ‘पञ्चायत’ फिल्मको सेन्सरका बेला पुरानो राष्ट्रिय गानमात्रै हटाउन लगाइएन, फिल्ममा प्रयोग भएका ‘बेश्या’, ‘नाठो’ जस्ता शब्दहरुमा पनि आपत्ति जनाइयो । त्यतिबेला दुःख पाएका निर्देशक शिवम् अधिकारी र यसमा आबद्ध कलाकारहरु निता ढुंगाना, सरोज खनाल लगायत कोही अहिले प्रनेस विषयमा बोलेका छैनन् ।

‘होस्टेल रिटन्र्स’का बेला निर्माता सुनिल रावललाई सुदुरपश्चिममा बोलिने ठेट शब्द ‘आमा पोई’ म्युट गर्न लगाउँदा उनले आपत्ती जनाएका थिए । त्यही फिल्मबाट ‘वीर विक्रम–२’का अभिनेता नाजिर हुसेनले प्रमुख भूमिकामा ब्रेक पाएका थिए ।  ‘आभाष’ फिल्मको सेन्सर गर्दा ट्वाइलेटभित्र पादेको सिन थियो, त्यो पनि म्युट गर्न लगाउँदा फिल्मकर्मीको विरोध थियो । अहिले रावल र उनको फिल्ममा आबद्ध कोही यस विषयमा बोलिरहेका छैनन् । त्यसो त अहिले प्रनेसको पक्षमा प्रष्ट उभिइन नसकेका हास्यकलाकार दीपकराज गिरीले समेत ‘वडा नम्बर ६’का बेला सेन्सर बोर्डबाट दुःख पाएका थिए । फिल्मभित्र पुलिसलाई ढुंगा हानेको दृश्य थियो । त्यतिबेला फिल्म हेरिसकेपछि गृह मन्त्रालयबाट आएका प्रतिनिधिले उनलाई सोधेका थिए, ‘पुलिसलाई किन ढुंगा हानेको ? त्यतिबेला उनको गुनासो थियो, ‘यहाँ कहीँ नभा’ जात्रा हाँडी गाउँमा भनेजस्तै छ, पुलिसको लुगा लाउन पनि पुलिसलाई अनुमति लिनुपर्छ,’ अब त्यसैगरी डाक्टर बन्नुअघि डाक्टरलाई अनि भिखारी बन्नुअघि भिखारीलाई सोध्नुप¥यो भने के हुन्छ ? हामीकहाँ त टेलिभिजनभन्दा कडा सेन्सर फिल्ममा हुँदारहेछ । यो सेन्सर गर्ने परिपाटी बन्द हुनुपर्छ । सेल्फ सेन्सरसिपको अवधारण सुरु हुनुपर्छ ।’

यसरी आवाज उठाउने दीपकराज फिल्म समीक्षाको भने सधैँ प्रतिकार गर्दै आइरहेका छन् । सायद त्यही कारण प्रनेसको केसमा उनी मौन देखिए जुन लज्जास्पद हो । फिल्मकर्मी अभिव्यक्ति स्वतन्त्रताको पक्षधर हुनुपर्ने हो तर आज एउटा स्ट्यान्डअप कमेडियन युट्युबमा फिल्म समीक्षा गरेकै आधारमा साइबर अपराधको आरोपमा प्रनेश पक्राउ पर्दा नबोल्नु लाजमर्दो अवस्था हो । बरु युट्युबमा सक्रिय  स्ट्यान्डअप कमेडियनहरु भने प्रनेश प्रकरणमा बोलिरहेका छन् । कमेडी सर्कलमार्फत स्ट्यान्डअप कमेडी गर्द आइरहेका अपूर्व क्षितिज सिंह भन्छन्, ‘निर्देशक चाम्सले तिमरु केटाहरुलाई ठिक पार्छु भन्ने हिसाबले पावरको दुरुपयोग गर्दै प्रनेशलाई समातेको देखियो । यसले हामीले स्ट्यान्डअप कमेडी गर्नेहरुमा एकखालको त्रास सिर्जना गरेको छ । हाम्रो खुलेर बोल्न पाउने अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको छ ।’

कारबाही पक्षमा फिल्म पत्रकार
फिल्मकर्मीमात्रै होइन केही फिल्म पत्रकार पनि यस विषयमा प्रनेशको विपक्षमा देखिए । चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा त प्रनेशलाई पक्राउ गर्नुपर्छ भनेर फिल्म निर्देशक चाम्ससँगै महानगरीय प्रहरी वृत्त टेकुसम्मै पुगे ।

उनले त्यतिबेला युट्युबमा पत्रकारहरुसँग इन्टरभ्यू दिँदै प्रनेशले बनाएको भिडियो समीक्षाबारे भने, ‘पत्रकारिताको कुनै पनि नम्र्सलाई फलो नगरेर एकदमै ‘बायस्डनेस’ र कसैको व्यवसाय र व्यक्तिगत जीवनलाई नै धराशयी बनाउने किसिमले पुर्णरुपमा प्रयोजित हिसाबले राखिएको मैले ठानेको छु, तसर्थ यस किसिमका कुनै पनि गतिविधिविरुद्ध चलचित्र पत्रकार संघ सशक्त उभिइनेछ । ’

उनीसँगै अर्का चलचित्र पत्रकार नरेश भट्टराई समेत त्यहाँ पुगेका थिए । हालै चलचित्र पत्रकार संघको चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित उनले प्रनेशलाई कारवाही हुनुपर्ने बताएका थिए । उनले भनेका थिए, ‘स्वच्छ तरिकाले पत्रकारिता गरे भइहाल्यो नि ! कसैको व्यापार व्यवसायलाई बिगार्ने गरी, कसैको व्यक्तिगत प्रतिष्ठामै आँच आउने गरी जुन रुपमा समीक्षा गरिएको छ त्यो निन्दनीय छ, यस्तो विकृति रोकिनुपर्छ र यस्तो गर्नेलाई कारबाही हुनुपर्छ । ’
दुवैले यसलाई पत्रकारिताको संज्ञा दिइरहँदा खासमा यो पत्रकारिता थिएन । न प्रनेसले आफूलाई पत्रकार नै दाबी गरेका थिए । र, फिल्मको समीक्षा गर्न पाउनु पत्रकार, समीक्षकको मात्रै स्वतन्त्रता नभएर आम सर्वसाधरणको पनि हो ।

प्रनेशविरुद्ध फिल्मकर्मीको एकता
नेपाली फिल्म क्षेत्रसँग सम्बन्धित १० संघसंस्थाले प्रनेशको समीक्षाले ‘वीर विक्रम–२’ माथि अन्याय भएको भन्दै विज्ञप्ति निकाले । फिल्म निर्देशक दीपक रौनियारले ट्विटमा त्यो एकताको संयुक्त विज्ञप्ति सेयर गर्दै लेखे, ‘देख्नेलाई लाज ।’ विज्ञप्तिमा मिम नेपालबाट प्रसारित फिल्म समीक्षाले सिंगो नेपाली चलचित्र क्षेत्रको ध्यानाकर्षण भएको उल्लेख गर्दै लेखिएको छ, ‘चलचित्र उपर कुदृष्टि, वैरिभाव एवं  पूर्वाग्रही भई पत्रकारिताको धर्म, मर्म, मूल्यमान्यता र नैतिक धरातललाई बिर्सेर ‘वीरविक्रम २’ माथि भएको÷गरिएको अन्यायको बारेमा चलचित्र क्षेत्रको ध्यानाकर्षण भएको छ र यस्ता प्रकृतिका कार्यको घोर भत्सर्ना गर्छौं ।’

विज्ञप्तिमा चलचित्र पत्रकार संघसहित चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र उपकरण व्यवसायी संघ, नेपाल चलचित्र द्वन्द्व संघ, नेपाल चलचित्र नृत्यकार संघ र आदिवासी जनजाति चलचित्र महासंघका पदाधिकारीको हस्ताक्षर छ ।

नेपाली फिल्म जगत्मा फिल्मकर्मीहरु समीक्षाविरुद्ध उभिएको यो नै पहिलोपल्ट होइन । प्रायःजसो फिल्म समीक्षक यहाँ फिल्मकर्मीको तारो नै बनिरहेका छन् । विज्ञप्तीमा हस्ताक्षर गर्ने चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले समेत ‘के म तिम्रो होइन र’ फिल्मको सेन्सरका बेला दुःख पाएका थिए । त्यतिबेला उनलाई फिल्ममा रगत बढी भयो भनेर दृश्य ‘ब्लर’ गर्न लगाइएको थियो । त्यतिबेला उनको अभिव्यक्ति स्वतन्त्रता हनन् भएको थियो तर आज प्रनेसले व्यंग्यात्मक शैलीमा फिल्मको समीक्षा गर्दा उनी स्वयम् यसको विरुद्धमा उभिएका छन् ।

नेपाली फिल्म जगत्मा फिल्मकर्मीहरु समीक्षाको विरुद्ध उभिएको यो नै पहिलोपल्ट होइन । प्रायःजसो फिल्म समीक्षकहरु यहाँ फिल्मकर्मीको तारो नै बनिरहेका छन् ।केही समयअघि अभिनेत्री झरना थापाले फिल्म समीक्षालाई लिएर एक इन्टरभ्युमा करिब १५ मिनेट फिल्म समीक्षकलाई सत्तोसराप गरेकी थिइन् ।

फिल्मकर्मीको यो प्रवृत्तिले चलचित्र क्षेत्रको विकास नहुने बताउँछन्, फिल्म निर्देशक एवं समीक्षक नवीन सुब्बा । ‘लामो समयदेखि जसरी नेपाली समीक्षकले नेपाली फिल्मप्रति आलोचना गरिरहेका छन्न् त्यसको कारणले नै हो यहाँ अहिले ‘हरि’ र ‘बुलबुल’ जस्तो चलचित्र बनिरहेका छन् । ‘६क्कापञ्जा–३’ अघिल्ला सिरिजभन्दा सुधारिएर आउनुको कारण पनि यही नै हो,’ उनी भन्छन्, ‘हामीले समीक्षाको शक्ति, महŒव र आवश्यकता बुझेनौं भने इन्डस्ट्री अघि बढ्ला भन्ने मलाई भने लाग्दैन । र, अहिले जो साथीहरु कराइरहनुभएको छ, समीक्षकलाई गाली गरिरहनुभएको छ म लेखेर भन्छु १५ वर्षपछि उहाँहरु इतिहासको गर्तमा कहाँ बिलाउनुहुन्छ, थाहा हुने छैन ...।’

प्रकाशित: ३२ जेष्ठ २०७६ ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App