१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अस्ट्रेलियासँग श्रीलंकालाई दबाब

लन्डन– विश्वकप क्रिकेटअन्तर्गत शनिबार श्रीलंकाको सामना गर्दा साबिकको विजेता अस्ट्रेलिया जितको लयलाई निरन्तता दिँदै शीर्ष ४ मा आफ्नो दाबेदारी थप बलियो पार्न चाहन्छ।

अस्ट्रेलियाले बुधबार प्रतियोगितामा तेस्रो जित हात पार्न क्रममा पाकिस्तानलाई ४१ रनले निराश पारेको थियो। सो खेलमा ओपनर वार्नरले शतक पूरा गरेका थिए। अस्ट्रेलिया वार्नरले सोही लयलाई श्रीलंकाविरुद्ध पनि निरन्तरता दिएको हेर्न चाहन्छ।

सन् २०१७ मा दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा तत्कालीन कप्तान स्टिभ स्मिथसँगै बल टेम्परिङ घटनामा दोषी पाइएपछि १ वर्षका प्रतिबन्धमा परेका वार्नरले विश्वकप अगाडिको वार्म अफ म्याचबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका हुन्।

त्यस्तै भारतविरुद्धको खेलमा घाइते भएका मार्कुस स्टोनिसको स्थानमा पाकिस्तानविरुद्ध बलिङका लागि ल्याइएका रिचार्डसनले पनि पाएको अवसरलाई प्रमाणित गरेका छन् भने तीव्र गतिको बलिङ मोर्चा सम्हालेका मिचेल स्टार्क र प्याट कमिङ्स पनि उत्कृष्ट लयमा देखिएका छन्।

पहिलो खेलमा अफगानिस्तानलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको अस्ट्रेलियाले दोस्रो खेलमा वेस्ट इन्डिजको चुनौती पन्छ्याएको थियो। तेस्रो खेलमा भने अस्ट्रेलिया भारतसँग पराजित भएको थियो। बुधबार पाकिस्तानलाई हराउँदै अस्ट्रेलियाले जितको लयमा फर्किएको प्रमाणित गरेको थियो।

‘अहिले तल्लो क्रमका ब्याट्सम्यानहरूले पनि सहजै रन जोड्न सक्छन्,’कमिङ्सले पाकिस्तानविरुद्धको जितपछि भनेका थिए, ‘त्यसैले शीर्ष क्रमका ब्याट्सम्यानलाई पवेलियनको बाटो देखाइयो भन्दै बढी आत्मविश्वासी बन्यो भने त्यो टोलीका लागि घातक बन्न सक्छ।’

अस्ट्रेलिया ४ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ भने ४ खेलमा ४ अंकका साथ श्रीलंका पाँचौं स्थानमा अवस्थित छ। श्रीलंकाका लागि भने अघिल्लो चरण प्रवेश सम्भावना बलियो पार्न अस्ट्रेलियाविरुद्ध जितको विकल्प छैन।

पहिलो खेलमा न्युजिल्यान्डलाई १० विकेटको नतिजा सुम्पिएको श्रीलंकाले दोस्रो खेलमा भने अफगानिस्तानलाई हराउँदै अंक खाता खोलेको थियो। तर त्यसपछिका लगातार २ खेलमा वर्षा बाधक बनेपछि भने श्रीलंका अंक बाँड्न बाध्य भयो। पाकिस्तान र बंगलादेशविरुद्धको खेलमा श्रीलंका बराबरीमा रोकिएको हो।

शनिबारै हुने अर्को खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानको सामना गर्दै छ। दक्षिण अफ्रिका र अफगानिस्तानबीचको खेललाई दुई स्पिनरबीचको भिडन्तका रूपमा समेत हेरिएको छ। दक्षिण अफ्रिकाको स्पिन आक्रमण पाका स्पिनर इमरान ताहिरले सम्हाल्ने छन् भने अफगानिस्तानको मोर्चा सम्हाल्ने जिम्मेवारी युवा स्पिनर रासिद खानको काँधमा छ।

अफगानिस्तान ३ खेलमा जितविहीन छ भने दक्षिण अफ्रिकाको ४ खेलमा १ अंक छ। पहिलो खेलमा आयोजक इङ्ल्यान्डसँग निराश भएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा बंगलादेश र तेस्रो खेलमा भारतलाई नतिजा सुम्पिएको थियो। वेस्ट इन्डिजविरुद्धको खेलमा भने वर्षा बाधक बनेको थियो।

दक्षिण अफ्रिका र अफगानिस्तानबीचको खेललाई दुई स्पिनरबीचको भिडन्तका रूपमा समेत हेरिएको छ। दक्षिण अफ्रिकाको स्पिन आक्रमण पाका स्पिनर इमरान ताहिरले सम्हाल्ने छन् भने अफगानिस्तानको मोर्चा सम्हाल्ने जिम्मेवारी युवा स्पिनर रासिद खानको काँधमा छ।

आजका खेल
अस्ट्रेलियाविरुद्ध श्रीलंका (३ः१५,लन्डन)
दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तान (६ः१५,कार्डिफ)

प्रकाशित: ३२ जेष्ठ २०७६ ०६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App