१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

महिला हिंसाको चित्र

कलाकार रञ्जु यादवको चित्र। तस्बिर: नागरिक

रामदयाल राकेश
मैथिल सभ्यता र संस्कृति धेरै प्राचीन मानिन्छ। यस संस्कृतिको मूलमन्त्र हो– ‘यत्र नार्यस्तु पूज्यते रमन्ते तत्र देवता’। प्राचीनकालमा मैथिल महिला धेरै सुशिक्षित तथा विदुषी थिए। मैत्रेयी, गार्गी र भारती जस्ता विदुषीले राजर्षि जनकको राज्यसभामा शास्त्रार्थमा सफलता प्राप्त गरेका थिए। जगत् जननी जानकी स्वयं सभ्यता र संस्कृतिकी सुरसरिता थिइन्। माण्डवी, श्रुतिकीर्ति र उर्मिलाचाहिँ सत्पात्र महिला थिए।

समयक्रममा मिथिला सभ्यता र संस्कृतिमा क्रमशः कमी आउन थाल्यो। यिनीहरूको गौरव गरिमा धमिलो हुन थाल्यो। हुँदाहुँदा यिनीहरू पर्दामा बस्न बाध्य हुनु प-यो। यहाँसम्म कि शिक्षाको प्रकाशबाट वञ्चित हुँदै घुम्टोमा बस्न अभिशप्त हुन पुगे। अन्धविश्वासको भूमरीमा फसेका महिला चार दिवारीमा बसेर घरायसी कामकाजमा संलग्न भए। आफ्नो दैनन्दिनी चलाउन दीनहीन अवस्थामा पुग्दै गए। पुरुषप्रधान समाजमा उनीहरूको स्थिति झन् दयनीय हुन थाल्यो।

घरको सीमित सीमामा संकुचित भएपछि कलाकौशललाई धनी बनाउनमा सतत संलग्न हुन थाले उनीहरू। मिथिला कला सिक्न स्कुल, कलेज अथवा तालिम केन्द्रको अभाव थियो। घरमा पूजापाठको परम्परा प्राचीनकालदेखि चल्दै आएको थियो। धार्मिक भावनाले उत्प्रेरित समाजमा सधैँ बस्नु परेकाले उनीहरूको मनमस्तिष्कमा यी देवी देवताकोप्रतिमा स्थापित हुनु स्वभाविक थियो। तसर्थ, यिनीहरू देवीदेवतालाई आफ्नो कलामा उतार्न थाले।

कुनै पनि संस्कृतिको संरक्षिका महिला नै हुन्छन्। कला पनि संस्कृतिको अभिन्न अंग भएकाले कलामा यिनीहरूको अभिरुचि आरम्भकालदेखि नै भयो। उनीहरूले आमा, भाउजू र अन्य ज्येष्ठ महिलाबाट कला सिके। घरायसी कामकाज सकेपछि बाँकी समय कलाकारितामा लागे। महिलाहरू सौन्दर्यप्रेमी हुनु स्वाभाविक हो। कलाकौशल सुन्दर हुनुको साथसाथै घरायसी कामकाज लागि उपयोगी हुने भएकाले उनीहरू कलामा समर्पित भए।

कुनै पनि विवाहयोग्य केटीका लागि विद्यालयीय शिक्षा आवश्यक नभए पनि कलाको ज्ञान र सीप आवश्यक ठान्न थालियो। विवाह हुनुको पहिलो सर्त नै कलामा दक्षता प्राप्त गर्नु थियो। यिनीहरूले निर्माण गरेका कलाकौशल नै ससुरालीमा पठाएर वैवाहिक सम्पर्कसूत्रको सर्त मानिन्थ्यो। त्यसपछि पाकशास्त्रमा कति पूर्णता प्राप्त गरेकी छन्, त्यसको परीक्षा लिने प्रचलन थियो। यसरी दुई परिवारबीच पारस्परिक सम्बन्धको लगनगाँठो जोड्नमा कलाले पुलको काम गथ्र्यो।

दानदहेजको कुरो पछि आउँथ्यो। दाइजो नै महिला हिंसाको एउटा दरिलो कारण बन्न पुग्थ्यो, जुन बुहारीले प्रशस्त दाइजो नलिई घरभित्र प्रवेश गर्थिन्, त्यसपछि दुव्र्यवहारको सिलसिला सुरु हुन्थ्यो। दाइजोको द्रव्यपिशाच परिवारमा नवविवाहिता बुहारीको दुर्दशाको अध्याय आरम्भ हुन्थ्यो। यो सिलसिलाको अन्त्य हुनु कहाँ हो कहाँ विभिन्न रूपमा महिला हिंसाको सुरुवात यहीँबाट हुन्थ्यो। बुहारीको वेदना सुन्ने कसैलाई फुर्सद हुँदैनथ्यो। यहाँसम्म कि उसको दुलाहा पनि उसित राम्रो व्यवहार गर्दैनथ्यो। यसरी दाम्पत्य जीवनमा पनि दाइजो प्रथा बाधक बन्न पुग्थ्यो।

पटकपटक दाइजो माग भएपछि दुलहीका बुबाआमा हैरान हुन्थे। अन्त्यमा हरेस खाएर आफ्नी छोरीको सुख, शान्ति र सफल दाम्पत्यका लागि विवश हुन्थे। दाइजोको माग पूरा भएन भने दुलहीलाई कुटपिट हुन्थ्यो। यतिले मात्र होइन, उसलाई तर्साउन विभिन्न किसिमको धम्की समेत दिइन्थ्यो। कहिलेकाहीँ केटीले आत्महत्या समेत गर्थे भने कहिलेकाहीँ दाइजोका द्रव्यपिपासुहरू केटी जलाएर मार्ने पनि गर्थे। अझ पनि यसको अन्त्य भएको छैन। यो दर्दनाक स्थितिबाट मिथिलाका कविसाहित्यकारहरू अनभिज्ञ  छैनन्। यो विकराल समस्याले समाजलाई गाँजिराखेको छ। तसर्थ, आजको मैथिली साहित्य र कलामा यसको चित्रण नहुने कुरै भएन। मिथिलाका कलाकारहरू यस समस्यालाई चित्रमार्फत् चित्रित गर्छन्।

मिथिला कलाको क्षेत्र फराकिलो हुँदै गएको छ। यसको फाँटमा सामाजिक कुरीति कोर्ने गरिएको छ। मिथिलाञ्चलको लोकजीवनको ज्वलन्त समस्या महिला हिंसालाई महिला कलाकारहरूद्वारा कहिलेकाहीँ प्राथमिकता दिएर नै चित्रण गरिन्छ किनभने यसको सबैभन्दा बढी सिकार हुन्छन् महिला नै।

आज पनि मैथिल समाजमा छोरा पाउनु नै प्रत्येक दम्पतीको उद्देश्य हुन्छ। छोरालाई परिवारमा वरदान र छोरीलाई अभिशाप नै ठानिन्छ। छोरीलाई जुनसुकै क्षेत्रमा अपमानित एवं अपहेलित गरिन्छ। छोरालाई प्राथमिकता दिएर राम्राराम्रा विद्यालयमा पढाउने गरिन्छ र छोरीलाई चाहिँ चुल्हाचौकाको चार भित्तामा बस्न बाध्य गरिन्छ। शिक्षाको प्रकाशबाट वञ्चित गराइन्छ। यस्तो विरोधाभास एवं विभेदको नीति आज पनि मैथिल समाजमा व्याप्त छ। यस्तो स्थितिबाट मैथिल लोककलाकार पूर्णरूपमा परिचित भएकाले नै यस समस्यालाई चित्रमा चित्रित गर्छन्। यसबाहेक बोक्सीको आरोपमा कुटिँदै आएकी महिला, घुम्टो भित्रबाटै संसार चियाउँदै गरेकी महिलाको चित्र पनि यसको विषयवस्तु बन्ने गरेको छ।

मैथिल समाजमा महिलालाई हेपेर निरीह बनाउने जुन मानसिकता छ, त्यसमा परिवर्तन आएको छैन। तसर्थ, मिथिलाका महिला कलाकारहरू दाइजोको कारण महिलामाथि हुने हिंसासम्बन्धी चित्र कोर्न अघि आउनु स्वागतयोग्य कुरा हो। यस्ताखाले चित्र भविष्यमा कोर्न नपरोस् भन्ने पनि चाहन्छन्। लोककलाको क्षेत्रमा यसरी नयाँ विषयवस्तुको आउनु राम्रो हो।

प्रकाशित: ३२ जेष्ठ २०७६ ०३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App